बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर भन्सार कार्यालय : चार वर्षदेखि लक्ष्यअनुसार राजस्व उठेन

राजस्व वृद्धि भने ११ वर्षमा तीन गुणाले बढ्यो
सोमबार, १० असोज २०७९, २२ : ३१
सोमबार, १० असोज २०७९

मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।

हेर्नुहोस् यो वर्षको मासिक राजस्वको लक्ष्य

विगत ११ वर्षमा विराटनगर भन्सार कार्यालयले ६ आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष ०६८÷०६९ देखि आर्थिक वर्ष ०७०÷०७१ सम्म निरन्तर लक्ष्य अनुसारको प्रगति गरेको भन्सार कार्यालयले आर्थिक वर्ष २०७१÷७२ मा भने लक्ष्यको ९६ दशमलव ३३ प्रतिशत मात्रै राजस्व उठाउन सकेको थियो ।

त्यसपछिको तीन आर्थिक वर्षमा पुनः लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल देखिएको विराटनगर भन्सार कार्यालय आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म भने लक्ष्य भेट्टाउन सकेको छैन । कोभिड महामारीका कारण आर्थिक वर्ष ०७६÷०७७ मा लक्ष्यको ५८ दशमलव ४२ प्रतिशतमात्रै राजस्व संकलन गर्न सफल विराटनगर भन्सार कार्यालयले गत वर्ष पनि लक्ष्यको ८१ दशमलव ४१ प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको थियो ।

विगत ११ वर्षमा ३.६५ गुणाले बढ्यो राजस्व

भन्सार कार्यालयले लक्ष्य अनुसार प्रगति गर्न नसकेको भए पनि राजस्व संकलनमा भने विगत ११ वर्षमा उल्लेख्य सुधार गरेको छ । ११ वर्ष अगाडि ११ अर्ब ७ करोड ५० लाख ९१ हजार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा ३ दशमलव ६५ गुणाले राजस्वमा वृद्धि भई ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ ।

१७ अर्ब ९५ करोड राजस्व संकलन भएको आर्थिक वर्ष ०७१÷०७२ को तुलनामा आर्थिक वर्ष ०७२÷०७३ मा उल्लेख्य वृद्धि भई २४ अर्ब ७९ करोड ६९ लाख ६५ हजार पुगेको थियो । कोभिड महामारीका कारण आर्थिक वर्ष ०७६÷०७७ मा लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत मात्रै राजस्व संकलन भएको बाहेक अन्य वर्षमा राजस्व संकलन भने अघिल्ला वर्षका तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

हेर्नुहोस् ११ वर्षको राजस्व संकलनको लक्ष्य र प्रगति

आयातको तुलनामा निर्यात ४ गुणा बढी

यसैबीच चालु आर्थिक वर्षको साउन र भदौ महिनामा विराटनगर भन्सार कार्यालयबाट निर्यातको तुलनामा आयात ४ गुणा बढी देखिएको छ ।

साउन महिनामा विराटनगर भन्सार कार्यालयबाट १६ अर्ब ३५ करोड ४४ लाख १३ हजारको वस्तु आयात हुँदा निर्यात भने ४ अर्ब ८० करोड १२ लाख ३८ हजारको मात्रै भएको छ ।

यस्तै भदौ महिनामा १७ अर्ब ५७ करोड ६० लाख ६९ हजारको वस्तु आयात हुँदा निर्यात भने ४ अर्ब ७ करोड ५१ लाख ९५ हजार रुपैयाँको मात्रै भएको तथ्यांक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप