बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण

सोमबार, १० असोज २०७९, १० : ४०
सोमबार, १० असोज २०७९

चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट  डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत  भइरहेको छ । 

नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गु रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए । उनले भने, “नगर क्षेत्रभित्र पनि डेङ्गु रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गर्दछु । ”

अस्पतालका प्रमुख डा.हेमनाथ आचार्यले डेङ्गु रोगको निःशुल्क परीक्षण तथा उपचार भइराखेको जानकारी दिए । उनका अनुसार अस्पतालमा हालसम्म जटिल प्रकारका डेङ्गु रोगका बिरामी भर्ना भएका छैनन् । पन्ध्र श्ययाको अस्पतालले  डेङ्गु रोग परीक्षणका लागि आवश्यक कीटको व्यवस्था नगरपालिकामार्फत मिलाएको छ ।

लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको उनको भनाइ छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ ।  यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको समस्या बढ्न थाल्दछ ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको डा.आचार्यले बताए ।

डेङ्गुबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप