शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मैले गरेको यो साइलेन्ट रिभोलुसन हो : हेमराज भण्डारी

सोमबार, १० असोज २०७९, ०९ : १८
सोमबार, १० असोज २०७९

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित धनकुटा जिल्लाका अधिकाश नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । पहिलो संविधान सभा २०६४ सालमा धनकुटाबाट प्रत्यक्ष निर्वाचित भण्डारी २०७४ सालको चुनावमा प्रत्यक्ष निर्वाचन उठ्न खोजेका थिए । उनी प्रतिनिधि सभा र प्रदेश सभा कतै उठ्न पाएनन् ।

धनकुटामा माओवादीबाट प्रत्यक्ष प्रतिनिधिसभा र प्रदेश सभामा कतै उम्मेदवारै भएनन् । आगामी चुनावमा भण्डारी आकांक्षी भएपनि पार्टीभित्रको सैद्धान्तिक असहमति राखेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनका नाममा सबै पार्टीहरूको सैद्धान्तिक र वैचारिक फरक सकिएकाले समकालीन पार्टीहरूको अन्तर दाबी छ । माओवादी पार्टी छोड्नु कारणहरु वारेमा भण्डारीसँग रातोपाटीकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले पार्टी छोडेर किन स्वतन्त्र उम्मेदवारी दिनुभयो ?

एजेण्डा, मुद्दा सहितको राजनीतिलाई स्थापित गर्न स्वतन्त्र उम्मेदवारी दिएको छु । राजनीति भनेको जहिल्यै मुद्दा, एजेण्डा र विचारसहितको हुन्छ । अब देशमा नयाँ संविधान निर्माण गरियो । राजनीतिक रुपमा सबै व्यवस्थित हुँदै गए । अब विकास र समृद्धिको नयाँ मोडेल के हुने हो ? ती पुरा गर्न कार्यक्रमहरु के हुने हुन भन्ने भयो ? त्यसका लागि आफ्नो निर्वाचन क्षेत्र, समग्र देशको सबै एजेण्डा स्पष्ट पारेर जाने मेरो स्वतन्त्र उम्मेदवारी हो ।

दोस्रो गठबन्धनका नाममा यो वा त्यो वाम वा लोकतान्त्रिक गठबन्धनका नाममा सबै पार्टीहरुले आफ्नो पहिचान, आफ्नो अस्तित्व सबै गुमाएका छन् । गठबन्धनको नाममा सत्ताको सौदावाजी गर्ने र बाँडीचुँडी गरेर चिरा लगाउने र जनताको मनोविज्ञानमाथि अनावश्यक धावा बोल्ने प्रवृत्ति भयो । यसले पार्टीहरूको बिचमा सैद्धान्तिक, वैचारिक सबै फरक मेटियो । नेपालका समकालीन पार्टीहरूमा कुनै पनि अन्तर छैन, भएन । त्यो अन्तर सकिएपछि हामीले नागरिक अभियान चलाएर जनताको जनजीविकाको मुद्दासहित महँगी, भ्रष्टाचार संसदमा दृढतापूर्वक उभिएर अगाडि बढाउनु पर्ने भयो ।

आफ्नो निर्वाचन क्षेत्रका जनताको साँचिक्कै अभिभावकीय भूमिका निर्वाह गर्ने गरी, विकास समृद्धिसहित गुरुयोजनाको कार्यक्रम लिएर अघि बढ्नुपर्ने भयो । संविधानमा लेखिएका कुराहरुलाई कार्यन्वयन गर्ने पक्षमा दृढतापूर्वक उभिनुपर्ने भयो । अहिले संविधानले निर्दिष्ट गरेका शिक्षा, स्वास्थ्य, आवास, रोजगार लगायत आधारभूत कुराहरुलाई लिएर पुरा गर्न लाग्नुपर्ने छ । जनताले धेरै ठुलो अपेक्षा गरेका छैनन् । आम जनताले आफ्नो व्यवस्थापन खोजेका छन् । आफ्नो जीवनमै परिवर्तन खोजेका छन् । देशमा सुशासन र सामाजिक न्याय खोजेका छन् । यो देशमा भएका राजनीतिक दलका नेताहरुले त्यो पनि दिन नसकेपछि आमनागरिकमा असन्तुष्टी र विद्रोहको स्वरहरु आउँन थाल्यो ।

अहिलेको विद्रोह वा अहिलेको असन्तुष्टि २१ औ शताब्दीको साइलेन्ट रिभोलुसन हो । यो प्रविधिले ल्याएर आएको साइलेन्स रिभोलुसनको नेतृत्व गर्ने त्यो अभियानको अगुवा गर्ने हिम्मत र संकल्प सहितको अभियान हो । यो अभियानको अगुवाइ गर्नेको निम्ती आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु ।

अब तपाईंहरुको माओवादीसँगको साइनो सकिएको हो वा बाहिर स्वतन्त्र भनेर भित्र पार्टीको समर्थन हुने गरी हो ?

मैले राजीनामा दिएपछि सकियो । मैले माओवादीबाट १५ दिन अघि प्रचण्डलाई भेटेर बसेर यी सबै राजनीतिक विषयमा कुरा गरेर आएको हुँ । हामी जनताको बीचमा जान्छौँ । गठबन्धनप्रति मेरो सैद्धान्तिक असहमति छ । गठबन्धनका नाममा राजनीतिक पार्टीहरुले आफ्नो पहिचान सिध्याउने, डिफ्रेन्सेस सिद्याउने र  खाली सत्ता र कुर्सीको लागि सौदावाजी गर्ने प्रवृत्तिले आमजनतामा निराशा भयो । यसमा मेरो सैद्धान्तिक असहमति छ भनेर १५ दिन अघि राजीनामा दिएर हिँडेको हुँ । आज होइन । त्यो राजीनामा दिइसकेपछि मैले जिल्लाका साथीहरुसँग छलफल गरे । 

छलफल गर्दा नयाँ अभियानमा जाँदै छु । मैले पार्टीबाट राजीनामा दिई सेकेको छु । म अब स्वतन्त्र अभियन्ताको रुपमा अभियान लिएर जनताको बिचमा जान्छु । अहिलेको नयाँ पुस्ताको जुन खालको जागरण आएको छ । त्यो जागरणलाई साँच्चिकै राजनीति बुझेको, देशको शासन बुझेको, अहिलेको प्रणाली बुझेको र शक्ति केन्द्रको सबै षड्यन्त्र बुझेको मान्छेले लिड गर्‍यो भने देश एउटा ट्रयाकमा जान्छ । एउटा दिशामा जान्छ । यसले देशको भाग्य र भविष्य फैसला गर्नेमा सकारात्मक नतिजा दिने कन्भिन्ससहित विवेकपूर्ण निर्णय गरेको हुँ । मैले साथीहरुसँग छलफल गर्दा तपाईंंको अभियानमा हाम्रो समर्थन छ । हामी पनि सामूहिक राजीनामा दिन्छौँ भन्नुभयो । सामूहिक राजीनामा दिएपछि हामीले आज सार्वजनिक गरेका हौँ ।

तपाईंँसहित राजीनामा दिनेमा को को हुनुहुन्छ ?

पार्टीबाट म आफैँ पोलिटब्युरो सदस्य थिए । धनमाया विक पूर्व राज्य मन्त्री र केन्द्रीय समितिमा हुनुहुन्थ्यो । त्यसपछि प्रदेश समितिका १५ जना, जिल्लाका पूर्व संयोजक, जिल्ला कमिटीका साथीहरु र स्थानीय तहका नेता साथीहरु हुनुहुन्छ । ती सबैले सामूहिक राजीनामा दिएको घोषणा गर्नु भएको छ ।

धनकुटामा प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा माओवादीले नपाउने सुइँको पाएपछि तपाईंँहरूको राजीनामा आएको भन्ने छ । के तपाईं टिकट नपाउने भएपछि धम्कीको रुपमा पार्टी छोड्नु भएको हो र ?

हामीले कसैलाई धम्की दिनु छैन । कसैलाई घुर्क्याउनु छैन । अलिकति विषय हुन सक्छ धनकुटाको सन्दर्भमा । खुला राजनीतिमा पार्टी भनेको जनताको बिचमा जाने माध्यम हो । जब जनतामा जान बञ्चित गरिन्छ , अनि विद्रोह हुन्छ । अघिल्लो पटक पनि गठबन्धनको नाममा जनताको बिचमा जान दिइएन । अहिले पनि जनताको बिचमा जाने ढोकाहरू बन्द भएपछि जनतामा जाने नयाँ निकासहरू हुन्छन् । त्यो पनि एउटा पक्ष हो । त्यो भन्दा पनि केही विषयहरुमा पार्टीमा सैद्धान्तिक रुपमा आफ्ना विषयहरु राखेर छलफल चलाइरहेको थिएँ । धनकुटाको सन्दर्भमा भन्नुहुन्छ भने यो पटक अरुलाई बोकेर हिँड्नु जरुरी छैन । हामी आफ्नो पहिचान लिएर आफ्नो एजेण्डा लिएर जाउँ भन्ने मनोविज्ञान थियो । त्यो छलफलसहित हामीले नेताहरुसँग छलफल गर्यौँ । हामीलाई अलग चुनाव चिन्ह लिएर अभियानमा जान नदिने गठबन्धनको भारी बोकेर हिँड्नुपर्ने भयो । आफ्नो मुद्दा र एजेण्डा केही नहुने भएपछि हामीलाई गठबन्धन चाहिएन । गठबन्धनको आफ्नो​ निर्णय के गर्नुहुन्छ गर्नुस् । हामी फरक बाटो जान्छौँ भनेर अध्यक्षसँग १५ दिन अघि निर्णय गरेर आएको हुँ । त्यो बेला गठबन्धनको सीट बाँडफाँडको विषय छलफल केही भएको थिएन ।

यदि तपाईंंलाई माओवादीले धनकुटाबाट प्रतिनिधि सभा टिकट दिएमा आफ्नो निर्णयमा पुनर्विचार गर्नुहुन्छ कि गर्नुहुन्न ?

त्यो च्याप्टर क्लोज भइसक्यो । त्यो सम्भावना छैन । हामीले आफ्नो प्रगतिवद्धता जनताको बिचमा गरिसक्यौँ । हामीले जनताको बिचमा आफ्ना कुरा राखिसक्यौँ । हामी एउटा नैतिकता, मूल्य, मान्यताको राजनीति गर्छौँ । पुनर्विचार गर्ने सम्भावना छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप