बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले जितेका सिटमा एमाले र लोसपाबीच तानातान

लोसपाले बुझायो एमालेलाई लिखित दाबी
आइतबार, ०९ असोज २०७९, २२ : ५२
आइतबार, ०९ असोज २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेलको तयारीमा रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच जसपाले जितेका क्षेत्रमा तानातान भइरहेको छ । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) ले जितेका क्षेत्रमा अहिले एमाले–लोसपा गठबन्धनबाट कसले उम्मेदवारी दिने भन्नेबारे विवाद देखिएको हो ।

एमालेसँग चुनावी गठबन्धन गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वार्ता समिति गठन गरेको छ । वार्ता समिति गठन गर्नुअघि नै दुई दलबीच अनौपचारिक छलफलमा मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको जसपा) ले जितेका सिटमा एमाले र लोसपा दुवैले दाबी गरेका छन् ।

स्रोतका अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेलले मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपाले अघिल्लो निर्वाचनमा जितेका सिट एमालेलाई दिन र लोसपा (तत्कालीन राजपा) ले जितेका सिट लोसपाले नै राख्ने गरी प्रस्ताव गरेका छन् । तर पौडेलको सो प्रस्ताव लोसपाले स्वीकार गरेको छैन ।

स्रोतले भन्यो, ‘लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले सो प्रस्ताव अस्वीकार गर्नुभएको छ । उहाँले अघिल्लो निर्वाचनमा तत्कालीन राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भएका कारण मधेस प्रदेशमा लोसपा र जसपाले प्रतिनिधित्व गर्दै आएको सिटमा लोसपाकै दाबी रहने भन्नुभयो ।’

त्यसपछि एमाले उपाध्यक्ष पौडेलले मधेस प्रदेशमा लोसपाको दाबी कहाँ कहाँ छ, त्यो लिखित रुपमा दिन आग्रह गरेपछि प्रतिनिधिसभामा कम्तीमा १९ र प्रदेशसभा ३४ सिटमा आफ्नो दाबीसहित लोसपाले लिखित प्रस्ताव एमालेलाई बुझाएको स्रोतको भनाइ छ । उक्त प्रस्तावका आधारमा छलफल गर्न लोसपाले वरिष्ठ नेता राजेन्द्र  महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति बनाए पनि हालसम्म दुई दलबीच सिट बाँडफाँटबारे थप छलफल भएको छैन ।

वार्ता समितिका सदस्य एवं लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले वार्ता समितिका संयोजक उपत्यका बाहिर रहेकाले छलफल अघि बढ्न नसकेको बताए । ‘राजेन्द्रजी आज (आइतबार) काठमाडौं आउँदै हुनुहुन्छ, त्यसपछि वार्ताको प्रकृया अगाडि बढ्छ,’ कर्णले रातोपाटीसँग भने, ‘महतोजी आएपछि पहिला वार्ता समितिमा रहेका हामी ६ जना बस्छौं, एमालेसँग के के विषयमा कुरा गर्ने, कति सिटमा कुरा गर्ने लगायतका विषयमा टुङ्गो लगाएर एमालेसँग कुरा गर्छौं ।’

एमालेसँग अहिलेसम्म भएको छलफलबारे भने आफूलाई थाहा नभएको उनले बताए । पार्टी अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरे पनि विस्तृत जानकारी आफूलाई नभएको उनको भनाइ छ ।

लोसपाको मुख्य दाबी मधेस प्रदेशमै हुने बताउँदै उनले कति सिट लिने भन्नेबारे छलफलपछि तय हुने प्रस्ट पारे । यसअघि एमालेसँग चुनावी गठबन्धनका लागि कुराकानी गर्ने जिम्मेवारी पार्टीले कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लालाई दिएको थियो । उनले विभिन्न चरणमा एमालेका उपाध्यक्ष पौडेलदेखि अन्य नेताहरुसँग छलफल गरेका छन् ।

शुक्लाले रातोपाटीसँग भने, ‘एमालेसँग अहिले कुनै कुरामा सहमति भएको छैन, गठबन्धन गर्ने कुरा भएको छ, त्यसका लागि वार्ता समिति बनेको छ । भोलिपर्सीदेखि छलफल हुन्छ ।’ आफूले यसअघि एमालेका विभिन्न नेताहरुसँग गरेको छलफलमा उनीहरु लोसपासँग गठबन्धन गर्न सकारात्मक रहेको पाएको उनको भनाइ छ । मधेस प्रदेशमा दुवै दलको आआफ्नो दाबी रहेको र त्यसमा छलफल गरेर टुङ्ग्याइने उनले बताए ।

लोसपाले मुख्य रुपमा मधेस प्रदेशका सिटमा दाबी गरे पनि प्रदेश १ र लुम्बिनी प्रदेशमा पनि आफ्नो संगठन रहेको भन्दै केही सिटमा आकांक्षा राखेको छ । तर मधेसबाहेक का दुई प्रदेशमा लोसपा र एमालेबीच खासै समस्या नरहेको लोसपाका नेता शुक्लाले बताए ।

उनले भने, ‘प्रदेश १ र लुम्बिनी प्रदेशमा लगभग कुरा मिलिसकेको छ, मधेस प्रदेशमा कुरा मिलेपछि गठबन्धनले एउटा आकार लिन्छ ।’ मधेस प्रदेशमै लोसपाका सबै शीर्ष नेताको निर्वाचन क्षेत्र पर्दछ । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, चन्दा चौधरी, अकवाल मियाँ, शेखरकुमार सिंह, विमल श्रीवास्तव, सुरिता साहलगायतका नेताहरु सबै मधेस प्रदेशकै हुन् ।

सर्वेन्द्रनाथ सुक्ला, अकवाल अहमद लुम्बिनी प्रदेशका हुन् । लोसपाका सबैजसो प्रमुख नेता प्रत्यक्षबाट चुनाव लड्ने तयारीमा छन् । एमालेसँग गठबन्धन गर्दा यी सबैलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कसको शक्ति कति ?

२०७४ को प्रतिनिधिसभाको चुनावलाई आधार मान्ने हो भने मधेस प्रदेशमा लोसपा एमालेभन्दा निकै बलियो देखिन्छ । त्यतिबेला एमालेले मधेस प्रदेशको ३२ वटा सिटमध्ये २ सिटमात्र प्रत्यक्षमा जितेको थियो भने लोसपा (तत्कालीन राजपा) ले ९ वटा सिट जितेको थियो । तर २०७९ को स्थानीय चुनावमा लोसपाभन्दा एमाले निकै बलियो देखिएको छ । मधेस प्रदेशमा एमालेले ३० वटा पालिका र २७४ वडा जितेको छ भने लोसपाले १४ पालिका र ८७ वटा वडामात्र जितेको छ ।

त्यस्तै, स्थानीय चुनावमा प्रदेश–१ मा लोसपाले एउटा वडामात्र जितेको छ । लुम्बिनी प्रदेशमा लोसपाले रुपन्देही र कपिलवस्तुमा एक–एक गरी दुईवटा पालिका जितेको छ । रुपन्देहीमा ११ वटा, कपिलवस्तुमा तीनवटा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एउटा वडा गरी लुम्बिनी प्रदेशमा लोसपाले १५ वटा वडा जितेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको निर्वाचनमा लोसपा शून्य छ । यी प्रदेशमा लोसपाको संगठन देखिए पनि भोटको प्रभाव छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप