मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा देउवा– गुरुङ संवाद : कोइराला पक्षको असन्तुष्टिबारे के के भयो छलफल ?

आइतबार, ०९ असोज २०७९, १७ : ५०
आइतबार, ०९ असोज २०७९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइराला पक्षको असन्तुष्टि सम्बोधन गर्ने आश्वासन दिएका छन् । शनिबार उपसभापति धनराज गुरुङलाई बालुवाटार गएर पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन सभापति देउवाको ध्यानाकषर्ण गराएका थिए । 

पार्टीभित्र देखिएको असन्तुष्टिबारे सभापतिसँग शनिबार साँझ आफूले कुराकानी गरेको गुरुङले रातोपाटीलाई बताए । उनले भने, ‘सभापतिज्यूले असोज १२ गतेसम्म फेरि बसेर कहाँ के गर्न सकिन्छ ? त्यो कुरा गरौंला भन्नुभएको छ । हामीले समस्याको समाधान खोज्ने हो । समस्या देखाएर समस्याबाट भाग्ने होइन ।’

कोइराला समूहले समानुपातिक उम्मेदवारको बन्द सूचीमा एकलौटी गरिएको भन्दै सच्याउन माग गरिरहेको छ । कोइराला पक्षका केही केन्द्रीय सदस्य, वर्तमान र पूर्व जिल्ला सभापति, भ्रातृ संस्थाका पूर्व पदाधिकारी लगायतले पार्टीभित्र न्यायोचित व्यवहार नभएको भन्दै विद्रोहको चेतावनी दिएका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र कांग्रेसले पाउने सिटमा आफूहरुले ४० प्रतिशत हिस्सा पाउनुपर्ने कोइराला पक्षको अडान छ ।

सभापति देउवाले समानुपातिक बन्द सूची नसच्याए र प्रत्यक्षमा न्यायोचित ढंगले टिकट वितरण नगरेर चुनाव बहिस्कार गर्ने कोइराला पक्षका नेताहरुको भनाइ छ । शनिबार मात्र उनीहरुले काठमाडौंमा खबरदारी भेला समेत गरेका थिए । तर देउवा पक्षको व्यवहार विरुद्ध कोइराला पक्षका शीर्ष नेताहरु मौन थिए ।

समानुपातिक बन्द सूची लगायतका विषयमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार लगायतका नेताहरुले मुख नखोलेको अवस्था छ । तर उपसभापति गुरुङले भने इतर पक्षको नेतृत्वकै समन्वयमा खबरदारी भेला भएको रातोपाटीलाई बताए । उनले भने, ‘निर्णय गर्ने ठाउँमा भएका नेताहरु सडकमा आएर बोल्नु हुन्छ त ? हामीले निर्णय गर्ने ठाउँमा समस्याको समाधान खोज्ने हो । तर सडकमा नेताहरुले गरेको खबरदारीलाई अन्यथा लिनुहुँदैन ।’ 

समानुपातिक बन्द सूचीमा पार्टीभित्र उठेको विरोधको स्वरबारे सभापति देउवा गम्भीर देखिएको गुरुङको भनाइ छ ।  ‘पार्टीभित्र न्यायोचित व्यवहारका लागि हामी जिम्मेवार हुनुपर्छ । त्यो जिम्मेवारी बोध गरेर मैले पार्टीभित्र प्रकट भएको विरोधको स्वरलाई बालुवाटारमा पुर्याएको छु,’ उनले भने ।

यता सभापति देउवाले चुनावको मुखमा पार्टीभित्र विवाद सिर्जना गर्न नहुनेमा जोड दिएका थिए । ‘पार्टीका सबै साथीहरुको उचित ढंगले मूल्यांकन हुन्छ । गठबन्धनको बाध्यता तपाईहरुले बुझ्नु नै भएको छ । कही साथीहरुले त्याग पनि गर्नुपर्ने अवस्था छ ।’ देउवाले गठबन्धनभित्र कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बहुमत सिट दिने गरी सिट बाँडफाँट टुंगिएको पनि बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप