मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन आयोगलाई सूचना आयोगको आग्रह–उम्मेदवारको मनोनयन पत्र र खर्च विवरण सार्वजनिक गर्नुस्

आइतबार, ०९ असोज २०७९, १७ : ०४
आइतबार, ०९ असोज २०७९

राष्ट्रिय सूचना आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने उम्मेदवारले बुझाएको मनोनयन पत्र सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सूचना आयोगले निर्वाचनका लागि उम्मेदवारले पेश गर्ने मनोनयन पत्र तथा संलग्न कागजातहरू सर्वसाधारण मतदाताले पनि जानकारी पाउने गरी सार्वजनिक गर्न आग्रह गरेको सूचना आयुक्त कमला वलीले जानकारी दिइन् । 

आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मनोनयन पत्रका साथै निर्वाचन सकिएपछि उम्मेदवारले पेश गरेको निर्वाचन खर्चको विवरण पनि सार्वजनिक गर्न अनुरोध गरेको उनले बताइन् । उनले भनिन्–‘उम्मेदवारले बुझाएको विवरण सबै सर्वसाधारणले पनि थाहा पाउनुपर्ने हुन्छ । कुन उम्मेदवारले कति सम्पत्ति विवरण बुझाए, उनीहरुले चुनावमा कति खर्च गरेछन्, सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छौं ।’

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउनका लागि सो सुझाव दिइएको उनले बताइन् । पत्रकार भेटघाट कार्यक्रममा आयुक्त ओलीले गत वैशाख यता १ सय २३ वटा उजुरीमाथि कारबाही गरिएको बताइन । आयोगले योबीचमा सूचना नदिने २ जना पदाधिकारीलाई कारबाही गरेको छ । राजपुर नगरपालिका कार्यालय रौतहटलाई १० हजार र त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । 

यस्तै राष्ट्रिय सूचना आयोगले यही असाेज १३ गते सूचनाको सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका दिन विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग मिलेर काठमाडौंमा कार्यक्रम गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप