शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इटालीमा दोस्रो विश्वयुद्धपछि उग्र-दक्षिणपन्थीहरु जित नजिक, देशले पहिलो महिला प्रधानमन्त्री पाउने

आइतबार, ०९ असोज २०७९, १६ : ३४
आइतबार, ०९ असोज २०७९

करोडौं इटालियनहरू आइतबार आम निर्वाचनमा सहभागी भइरहेका छन् । झण्डै पाँच करोड इटालियन नागरिकको नाम मतदान सूचीमा छ, जसमध्ये ४७ लाख नागरिकहरु विदेशबाटै मतदान गर्नेछन् । 

२०० सदस्यीय सिनेट र ४०० सदस्यीय च्याम्बर अफ डेप्युटिजको लागि हुने यस निर्वाचनमा दोस्रो विश्वयुद्धपछि पहिलो पटक उग्र–दक्षिणपन्थी गठबन्धनले जित्ने मतसर्वेक्षणले देखाउँछ । आइतबार विहान सात बजेदेखि सुरु भएको मतदान राती ११ बजेसम्म हुनेछ र मतपरिणाम साेमबार घोषणा हुनेछ । आन्तरिक कलहले जुलाईमा तत्कालिन प्रधानमन्त्री मारियो ड्राघीको सरकार अपदस्थ भएपछि यो चुनाव हुन लागेको हो । 

मतसर्वेक्षणहरुमा उग्र दक्षिणपन्थी पार्टी फ्राटेल्ली डी’इटालियाकी नेतृ जियोरजिया मेलोनीको नेतृत्वमा रहेको गठबन्धन २५ प्रतिशत मतसहित शिर्ष स्थानमा छ । यही मतसर्वेक्षण अनुरुप नै उनको मत आयो भने उनी इटालीकी पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् । उनको सम्भावित सरकारी गठबन्धनमा आप्रवासन विरोधी नेता म्याटियो स्याल्भिनी र पूर्व प्रधानमन्त्री सिल्भियो बरलुस्कोनी छन् । एनरिको लेट्टाको नेतृत्वमा रहेको प्रतिद्वन्द्वी प्रजातान्त्रिक पार्टी मतसर्वेक्षणमा २२ प्रतिशत सहित मेलोनीलाई पछ्याइरहेका छन् । उनी हालसम्म अन्य मध्यपन्थी तथा वामपन्थी झुकाव भएको पार्टीसँग मिलेर वृहत्तर गठबन्धन बनाउन असफल देखिएका छन् । जसले गर्दा उनको चुनावी जीतको सम्भावना न्युन छ ।

फाइभ स्टार मुभमेन्टका नेता गिसेप्पे कोन्टे १३ प्रतिशित मतका साथ तेस्रो स्थानमा उभिएको छ । विशेषत मुलुकको दक्षिणी भेगमा बलियो प्रचारपछि उनको पार्टीको स्थिति बलियो बनेको छ । देशमा उर्जा संकट, राजनीतिज्ञप्रतिको विश्वास घटेको समयमा हुन लागेको निर्वाचनमा स्थापित पार्टीप्रति मतदातामा आकर्षण देखिँदैन । मेलोनी नेतृत्वको गठबन्धन ‘अनधिकृत आप्रवासी’को देश प्रवेश रोक्नुपर्ने, कर न्युनिकरणजस्ता नीतिमा एक देखिए पनि वित्तिय तथा वैदेशिक नीतिमा भने विभाजित देखिन्छ । वित्तिय क्षेत्रमा मेलोनी निवर्तमान प्रधानमन्त्री ड्राघीकै नीतिको समर्थक देखिएकी छन् । उनी इटालीको ऐतिहासिक स्तरको उच्च ऋण बढाउने पक्षमा छैनन् । साथै ग्यासको मुल्यमा सिमा तोक्नुपर्ने र ग्यासलाई अन्य उर्जा खर्चबाट अलग गर्नु हेर्नुपर्ने मेलोनीको नीति छ । 

तर गठबन्धनका अर्का नेता साल्भिनीको भने यसमा फरक विचार राख्छन् । उनी संघर्षरत व्यवसाय तथा परिवारको सहयोगको लागि ३० अर्ब युरोभन्दा बढी ऋणको जोहो गर्नुपर्ने पक्षमा छन् । सो गठबन्धन रुससँग गरिने व्यवहारको विषयमा पनि विभाजित छ । मेलोनीले मस्कोमाथि लगाइएको पश्चिमी प्रतिबन्धको बलियो समर्थन गर्दै आएकी छन् । साल्भिनी त्यसमा पुनरविचार गर्नुपर्ने पक्षमा छन् । पुटिनका पुराना मित्र बर्लोस्कोनीले विहिबार पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर ‘असलमा मानिसहरु रहने’ सरकार गठन गर्न मात्र खोजेको बताएपछि विवादमा तानिएका छन् । 

विगतमा युरोपेली संघकी कटु आलोचक रहेकी ४५ वर्षिया मेलोनीले प्रधानमन्त्री बन्ने सम्भावनामाझ उनका भाषालाई नरम बनाउन थालेकी छन् । रुसविरुद्ध लागु प्रतिबन्धप्रति मेलोनीको समर्थन पनि यसैले प्रेरित भएको प्रक्षेपण गरिँदैछ । मतपरिणाम सोमबारबाट आएपनि इटालीमा नयाँ सरकार गठन हुन भने केही साता लाग्नेछ । अल–जजिराबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप