शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दो ब्याजदरले व्यावसायीक वातावरण धुमिल बन्यो – चेम्बर अफ कमर्स

आइतबार, ०९ असोज २०७९, १६ : २०
आइतबार, ०९ असोज २०७९

नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरको ठहर छ ।

चेम्बरले नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैंकलाई विभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो । चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहित हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ, ।’

कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बरले माग गरेको छ । यस्तै उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्नका लागि एकल दरको ब्याज कायम गर्न समेत चेम्बरले आग्रह गरेको छ । बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरी विगतका वर्षहरूमा जस्तो अधिकतम २ प्रतिशत प्रिमियममा थप हुने व्यवस्था गर्न पनि चेम्बरले राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ । यस्तै, चेम्बरले परियोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रमा प्रवाह गरिएको कर्जामा निश्चित अवधिसम्म स्थिर ब्याजदर कायम गर्न पनि माग गरेको छ ।

निक्षेप लिएर कर्जा प्रवाह गर्दा सोही महिनामा ब्याजदर वृद्धि नगरी ३ महिनापछि मात्रै कायम गर्ने व्यवस्थालाई यथावत राख्ने व्यवस्था मिलाउन पनि चेम्बरले राष्ट्र बैंकसँग माग गरेको छ । उच्च दरको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर कायम हुनुपर्ने भन्दै चेम्बरले तरलताको समुचित व्यवस्थापनका लागि पुँजीगत खर्च समयमै गर्न समेत आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप