मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

व्यवसायीलाई बोलाएर प्रधानमन्त्रीले भने– दसैंमा मूल्य नबढाउनुहोस्

आइतबार, ०९ असोज २०७९, २३ : ०४
आइतबार, ०९ असोज २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । यस्तै, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली पुगेको थियो भने साना उद्योग महासंघ र परिसंघका तर्फबाट पनि अध्यक्षसहितको टोली पुगेको थियो । यस्तै, सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समेत छलफलमा थिए थिए ।

भेटमा प्रधानमन्त्री देउवाले दसैं र तिहारको समयमा चुस्त रूपमा बजार अनुगमन हुने बताएको सहभागी एक उद्योगीले बताए । उनले कडाईका साथ बजार अनुगमन गरिने र त्यसक्रममा ठगि र कालोबजारी तथा अव्यवहारिक मूल्यवृद्धि गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको ती उद्योगीको भनाइ छ ।

प्रधानमन्त्रीसँगको छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अन्तर्राष्ट्रिय बजारको प्रभावका कारणले नेपालमा मूल्यवृद्धि भएको जानकारी गराए । यस्तै, छलफलमा गोल्छाले बजार अनुगमनका क्रममा व्यवसायीको मान र प्रतिष्ठामा आँच आउने गरी काम गर्न नहुने समेत बताएका थिए ।

यसैगरी, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भेटमा रुस र युक्रेन युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भइरहेको जानकारी गराए । उनले भने, ‘अन्तर्राष्ट्रिय कारणले गर्दा नेपालमा मूल्य वृद्धि हुँदा नेपालका व्यापारीले अनावश्यक दुःख नपाउने गरी बजार अनुगमन गर्नुपर्छ ।’

खासगरी, पछिल्लो समय खानेतेलमा बाहेक अन्य सबै प्रकारका खाद्यान्नको मूल्यवृद्धि भएको छ । जसले गर्दा प्रधानमन्त्री देउवाले नै बजारमा प्रत्यक्ष चासो राखेका छ । यसअघि, प्रधानमन्त्री देउवाले आज आइतबारदेखि बजार अनुगमन गर्न निर्देशन समेत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप