शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेंगलुरुमा ६ जना वायुसेना अधिकारीमाथि साथी क्याडेटको ‘हत्या’ गरेको आरोप

आइतबार, ०९ असोज २०७९, १५ : ३४
आइतबार, ०९ असोज २०७९

कर्नाटकको बेंगलुरुमा भारतीय वायुसेनाका ६ जना अधिकारीलाई आफ्ना साथी क्याडेटको हत्या गरेको आरोप लागेको छ । यी अधिकारीविरुद्ध ‘कोर्ट अफ इन्क्वायरी’को प्रक्रिया सुरु गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए । समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार २७ वर्षका अंकित झालाई एयर फोर्स टेक्निकल कलेज अर्थात् एएफटीसीको एउटा कोठामा झुण्डिरहेको अवस्थामा फेला पारिएको थियो ।

यो मृत्यु चार–पाँच दिनअघि भएको हुनसक्ने प्रहरीको अनुमान छ । अंकित झा वायुसेनाका प्रशिक्षण क्याडेट थिए । अंकित झाका भाइ अमन झाको उजुरीको आधारमा प्रहरीले शनिबार बेंगलुरुको गंगामना गुडी थानामा ६ जना अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

उजुरीमा प्रमाणमाथि छेडछाड गरेको पनि आरोप छ । तर, अहिलेसम्म हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छैन । तर, भारतीय वायुसेनाले अनुसन्धानमा सहयोग गर्ने आश्वासन दिएको छ ।

मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए । उनका अनुसार अहिले थप अनुसन्धानका लागि पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप