बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेयरकप भलिबल हेर्न सार्वजनिक बिदा

आइतबार, ०९ असोज २०७९, १३ : ००
आइतबार, ०९ असोज २०७९

ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप खेल हेर्न सर्वसाधारणलाई आज सार्वजनिक बिदा दिएको छ ।  असोज ८ देखि ११ गतेसम्म अन्तर पालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताए ।

नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ । संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकुद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मेयर कप रनिङ दोस्रो संस्करण भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रवक्ता न्यौपानेले बताए ।

प्रतियोगितामा ताप्लेजुङका सबै स्थानीय तहले उत्साहजनक भाग लिएका आयोजकले जनाएको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवं खेल संयोजक क्षितिज सुनुवारले बताए ।

प्रतियोगितामा प्रथम हुनेले रु दुई लाख ७५ हजार एक सयका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले रु एक लाख ४० हजार एक सय पाउनेछ । सेमिफाइनलमा पुग्ने दुई समूहलाई तृतीय पुरस्कारस्वरुप रु ४५ हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप