‘गठबन्धनबाट टिकट पाइयो भने शत प्रतिशत जितिन्छ’

लोसपामा संगठनको काम नै भएको छैन : अकवाल अहमद शाह

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

२०४२ देखि कम्युनिस्ट पृष्ठभूमिबाट राजनीति सुरु गरेका अकवाल अहमद शाह मधेस आन्दोलनपछि मधेसी राजनीतिमा प्रवेश गरेका थिए । मधेसी राजनीतिमा आएपछि उनी संविधानसभा सदस्य बने भने मधेसी जनअधिकार फोरम गणतान्त्रिकमा हुँदा २५ दिनका लागि कृषि मन्त्री पनि भएका थिए । गणतन्त्र आउनुअघि उनी तीन पटक चुनावमा पराजित भएका थिए ।


यसपटक उनी कपिलवस्तुबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । प्रस्तुत छ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेका उनै अकवाल अहमद शाहसँग चुनाव लड्ने चाहना, पार्टीको एजेण्डा, संगठन निर्माणलगायतका विषयमा रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः 



तपाईं प्रत्यक्ष निर्वाचन नलडे पनि दुई पटक संविधानसभा सदस्य बन्नुभयो, यस पटक प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा हुनुहुन्छ, यसपटक समानुपातिकतर्फ ठाउँ पाउनु भएन ?



सधैँ समानुपातिकमा जानु हुँदैन, अरुलाई पनि मौका दिनुपर्छ भनेरै मैले यसपटक प्रत्यक्षबाट चुनाव लड्ने सोच बनाएको छु । कपिलवस्तु क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिसभामा प्रत्यक्षमा मेरो नाम सिफारिस भएर केन्द्रमा आएको छ । यी दुई क्षेत्रमध्ये एउटाबाट चुनाव लड्छु । मलाई कपिलवस्तुको तीन वटै क्षेत्रबाट जनताले चाहेका छन्, तर यी दुई क्षेत्रमध्ये एउटाबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारीमा छु ।

सिफारिस भएर आए पनि पार्टीले तपाईंलाई नै टिकट दिन्छ भन्ने के ग्यारेण्टी छ ?

पार्टीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकेको छ । अब प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाउने गृहकार्य सुरु हुन्छ । मधेस प्रदेशबाहेक अरु प्रदेशमा लोसपामा खासै विवाद छैन । मधेस प्रदेशमा एउटै क्षेत्रबाट एकभन्दा बढीको नाम सिफारिस भएका छन् । एकसे एक नेताहरु सिफारिसमा परेका छन् । त्यहाँ मिलाउन अलि समस्या हुनसक्छ तर त्यसबाहेकका प्रदेशमा कुनै समस्या छैन । मलाई विश्वास छ, पार्टीले मलाई त्यहाँबाट टिकट दिन्छ । मेरो क्षेत्रमा कुनै विवाद छैन । आकांक्षी पनि धेरै छैनन् ।

तपाईं यसअघि आफ्नो क्षेत्रमा तीन पटक चुनाव हार्नुभएको छ । दुई पटक कांग्रेसबाट, एक पटक तमलोपाबाट चुनाव हारेपछि पनि तपाईं मन्त्रिपरिषदको सिफारिस र समानुपातिबाट गरी दुई पटक संविधानसभामा सदस्य रहनुभयो । अब फेरि प्रत्यक्षमा चुनाव लड्दै हुनुहुन्छ, चुनाव जित्छु जस्तो लाग्छ तपाईंलाई ?

म २०४२ सालदेखि नै राजनीतिमा सक्रिय छु । पहिला कम्युनिस्ट थिएँ, त्यसपछि राप्रपा भएँ अनि मधेस आन्दोलनको क्रममा मधेसवादी दलमा आएँ । मैले आफ्नो क्षेत्रमा लामो समयदेखि काम गरेको, जनताको बीचमा रहेका कारण त्यहाँको बारेमा मलाई जानकारी छ । २०७४ को चुनाव र त्यसअघि भएका विभिन्न चुनावमा फरक छ । २०४७ को संविधान अनुसार कपिलवस्तुमा चार वटा निर्वाचन क्षेत्र बनाइएको थियो । अन्तरिम संविधान २०६३ अनुसार कपिलवस्तुमा पाँच वटा निर्वाचन क्षेत्र बनाइएको थियो । नेपालको संविधान २०७२ अनुसार हाल तीन वटा चुनावी क्षेत्र बनाइएको छ । निर्वाचन क्षेत्र धेरै हुँदा क्षेत्रफल थोरै थियो, अहिले क्षेत्रको क्षेत्रफल बढेको छ । एउटा क्षेत्रमा करिब एक लाखभन्दा बढी मतदाता छन् । त्यसमध्ये कम्तीमा ६०–७० हजारले मतदान गर्छन् । त्यहाँ चुनाव जित्नका लागि कम्तीमा ३० हजार भोट चाहिन्छ । यसअघिको चुनावमा पनि गठबन्धन दलले नै चुनाव जितेका हुन् । अहिले पनि एक्लाएक्लै कुनै दल चुनाव लड्दैनन् जस्तो लाग्छ । हामी पनि कुनै न कुनै दलसँग तालमेल गर्छौं, त्यसले चुनाव जित्न अझै सहज हुन्छ ।

तपाईं पनि गठबन्धनबाटै चुनाव लड्ने मुडमा हुनुहुन्छ ?

सबै दल तथा नेता गठबन्धनकै पछि भागिरहेका छन् । हाम्रो दलले पनि एमालेसँग गठबन्धन गर्ने भनेर वार्ता समिति गठन गरेको छ । एमालेलगायत अन्य दलसँग पनि गठबन्धनका लागि छलफल भइरहेको छ । यदि गठबन्धनबाट टिकट पाइयो भने हन्ड्रेड प्रतिशत जितिन्छ । जिल्लामा पनि मेरो आफ्नै लोकप्रियता छ । जनताको बीचमा इमानदार नेताको छवि बनाएको छु । जनताको दुःख सुखमा साथ दिँदै आएको छु । सांसद हुँदा काम गरेकै थिएँ, अहिले सांसद नहुँदा पनि विभिन्न क्षेत्रमा विभिन्न योजना लगेको छु । जनताले मलाई मन पराएका छन्, त्यही भएर प्रत्यक्षमा चुनाव लड्न दबाब बढेको छ ।

यदि एमालेलगायत कुनै दलसँग लोसपाको गठबन्धन भएन भने तपाईं चुनाव लड्नुहुन्न ?

गठबन्धन होस् या नहोस्, चुनाव लड्ने नै हो । मैले भन्न खोजेको के हो भने क्षेत्रमा मेरो अवस्था राम्रो छ, त्यसमा गठबन्धन भइदियो भने जित्न झन् सजिलो हुन्छ । तर गठबन्धन नै नभए पनि चुनाव नलड्ने कुरा हुँदैन । चुनाव त जसरी पनि लड्छु । राजनीति गरेपछि चुनावसँग डराउनु हुँदैन । चुनाव नलडेसम्म जनताले पहिचान गर्न सक्दैनन्, जनतालाई पनि पहिचान गर्न सकिँदैन । एउटा राजनीतिक दल र ती दलका नेताका लागि चुनाव धेरै ठूलो कुरा हो । चुनावबाट भाग्नु हुँदैन, त्यसबाट डराउनु हुँदैन । म तीन पटक चुनाव लडिसकेको छु । मलाई चुनावको अनुभव छ । राजनीति गरेपछि चुनाव लड्न जति आनन्द आउँछ, त्यो आनन्द अरुमा हुँदैन ।

लोसपाको संगठन भनेको मधेस प्रदेशमा मात्र हो, त्यसबाहेकका प्रदेशमा खासै संगठन छैन । अनि के आधारमा तपाईं चुनाव जित्छु भन्नुहुन्छ ?

म जनताको बलमा चुनाव जित्छु भनिरहेको छु । नेताका लागि संगठन निकै महत्त्वपूर्ण कुरा हो तर त्योभन्दा महत्वपूर्ण कुरा नेताको व्यक्तित्व र विचार हो । त्यो नेताले जनतालाई के डेलिभर गरिरहेको छ, जनतामा ऊ कति भिजेको छ भन्ने कुरा एउटा नेताका लागि महत्त्वपूर्ण हुन्छ । म त्यहाँको जनताको बीचमा अलोकप्रिय होइन, कपिलवस्तु जनताको शिर निहुरिने गरी मैले कुनै गलत काम गरेको छैन । दुईदुई पटक संविधानसभा सदस्य भएँ, जनताको शिर ठाडो हुने गरी काम गरेँ । त्यहाँका जनता ममाथि गर्व गर्छन् । हो, मधेस प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा लोसपाको संगठन कमजोर छ तर खत्तमै छैन । संगठन छ, मत आउँछ । यसअघि पनि जितेका छन् । स्थानीय चुनावमा पनि राम्रै मत ल्याएको छ । त्यसैले संगठनको साथसाथै मेरो व्यक्तिगत पहिचानका बलमा पनि चुनाव जित्छु जस्तो मलाई लाग्छ ।

तपाईंको चुनावी एजेण्डा के हो ?

कपिलवस्तु जिल्ला धार्मिक दृष्टिकोणले जति प्रख्यात छ, त्यसको तुलनामा त्यहाँको शिक्षा, स्वास्थ्य, सडक, यातायात साह्रै कमजोर छ । पर्यटकीय जिल्लाको रुपमा कपिलवस्तुलाई चिनिन्छ । बुद्धको जन्मस्थलको रुपमा चिनिन्छ तर त्यहाँ बेरोजगारी, गरिबी, अशिक्षा निकै बढेको छ । म निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य र सडकमा प्रत्यक्ष देखिने गरी सुधार हुन्छ । यी तीन कुरालाई सुधार्न सकियो भने अरु केही विकास चाहिँदैन ।

कपिलवस्तु बुद्धको जन्मभूमि हो । तर यहाँ जति पर्यटक आकर्षित हुनुपर्ने हो, त्यति भएको छैन । त्यतातिर यसअघि जितेका नेताहरुले ध्यान नै दिनुभएन । मेरो एजेण्डा भनेको शिक्षा, स्वास्थ्य र यातायातमा सुधार गर्दै कपिलवस्तुमा विश्वको ध्यानाकर्षण गराउन पर्यटन क्षेत्रको विकास गर्नु हो ।

तपाईं पनि दुई–दुई पटक सांसद भइसक्नु भयो, एकपटक मन्त्री पनि बन्नुभयो, तर त्यतिबेला केके काम गर्नुभयो भनेर तपाईंमाथि पनि प्रश्न उठ्छ नि ?

हो, म दुवै संविधानसभाको सदस्य भएको थिएँ । संविधानसभामा संविधान निर्माण गर्ने काम हुन्थ्यो । विकासको एजेण्डा थिएन । तैपनि क्षेत्रमा विकास गर्न सरकारले १०–१० लाख रुपैयाँ दिएको थियो । त्यसबाट मैले सकेजति काम गरेको छु । अन्य मन्त्रालयबाट पनि कार्यक्रमहरु लगेको छु । क्षेत्रमा मैले ८–१० वटा स्कूल बनाएको छु । स्वस्थ्य क्षेत्रमा पनि काम गरेको छु । विभिन्न सडक निर्माणको काम पनि भएको छ । तर बजेटको अभावमा त्यसलाई पिचिङ गर्न सकिएन । अर्थात् थोरै बजेटमा पनि मैले काम गर्ने कोसिस गरेको थिएँ । अहिलेको जस्तै बजेट त्यतिबेला भएको भए मैले धेरै काम गर्न सक्थेँ जस्तो लाग्छ । मन्त्री त म २५ दिनका लागि भएको थिएँ । मन्त्रालय पनि ठिकसँग सम्हाल्न नपाउँदै मन्त्रीबाट हट्नु परेको थियो । त्यसैले मन्त्री भएपछि आफ्नो क्षेत्रमा केही गर्न सकिएन । त्यो कुरा त्यहाँको जनतालाई पनि थाहा छ ।

लोसपाले मधेस प्रदेशमा जति ध्यान दिएको छ, त्यति लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशमा दिएको छैन जस्तो लाग्दैन तपाईंलाई ?

लोसपा र जसपाले मधेस प्रदेशका पनि सबै जिल्लामा ध्यान दिएका छैनन् । मिथिला बाहुल्य क्षेत्रमा ती दलको बढी चासो छ । सबै नेताहरु त्यही क्षेत्रमा सक्रिय छन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीसम्म जसपा–लोसपा निकै सक्रिय देखिन्छन् । यी जिल्लामा ती दलको संगठन धेरै राम्रो छ । गतिविधि पनि अन्य जिल्लाभन्दा बढी छन् । त्यसैले तपाईंले भनेजस्तो मधेस प्रदेशबाहेक अन्य जिल्लामा त्यति ध्यान दिएको छैन भन्ने सही हो तर मेरो विचारमा मधेस प्रदेशमा पनि पाँच वटा जिल्लामा ती दल सीमित छन् ।

लोसपा गठन भएपछि संगठनको कामै भएको छैन । लोसपा एउटा कार्यकारिणी समितिको भरमा चलिरहेको छ । केन्द्रीय समिति अझै बनेको छैन । अन्य राजनीतिक समिति, सल्लाहकार समितिलगायत भ्रातृ संगठनहरु पनि बनाइएको छैन । पार्टी संगठनको एउटा जुन ढाँचा हुन्छ, जुन संरचना हुन्छ, त्यो अझै बनेको छैन । शरीर तयार भयो तर त्यसका विभिन्न अङ्ग अझै बनेको छैन ।

पार्टीले अझै पूर्ण आकार नै लिएको छैन भने चुनावमा त्यसले क्षति गर्दैन ?

यसले केही न केही नकारात्मक प्रभाव पार्छ । यसअघि स्थानीय चुनावमा पनि प्रभाव पारेको थियो । चुनावपछि बसेको पार्टीको समीक्षा बैठकले पनि यही निष्कर्ष निकालेको थियो कि पार्टी पूर्णतः निर्माण नभएका कारण धेरै ठाउँमा क्षति व्यहोर्नुप¥यो । तर लोसपामा यस्ता व्यक्तित्वहरु र नेताहरु छन्, जसका माध्यमबाट चुनाव जित्दै आएको छ । संगठन कमजोर भए पनि पार्टीका नेताहरु कमजोर हुनुहुन्न । व्यक्तिगत पहिचानका आधारमा पनि चुनाव जित्दै र जिताउँदै आउनु भएको छ । हाम्रा पार्टीमा पाँचसात जना यस्ता व्यक्तित्व भएका नेताहरु हुनुहुन्छ जो जस्तोसुकै परिस्थितिमा पनि चुनाव जित्नुहुन्छ । त्यसैले हाम्रो पार्टीको संगठन नभए पनि नेताहरु हुनुहुन्छ ।

पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ, तर त्यही बन्दसूचीका कारण पार्टीभित्र किन विवाद सुरु भएको ?

समानुपातिक उम्मेदवारको बन्दसूची पार्टीका चार जना शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झाले बनाउनु भएको थियो । उहाँहरुले नै तयार गरेर निर्वाचन आयोगमा बुझाउनु भयो । ती चार जना नेताबाहेक त्यो सूचीको बारेमा अरु कसैलाई थाहा छैन । हामीले सोध्दा पनि कसैले जानकारी दिँदैन । त्यही भएर के भएको छ, कसले किन असन्तुष्टि जनाइरहेका छन् भन्ने मलाई थाहा छैन । यदि अन्तुष्टि छ भने ती चार जना नेताको बीचमा मात्रै होला । उहाँहरुले नै सूची बनाउनु भयो, फेरि के कुरामा समस्या भयो भन्ने त उहाँहरुलाई नै थाहा होला ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।