बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘आर्थिक तरलताका कारण उद्योग धरासायी हुने अवस्थामा’

शनिबार, ०८ असोज २०७९, २० : २९
शनिबार, ०८ असोज २०७९

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक तरलताका कारण नेपालका उद्योग धरासायी बन्दै गएको बताएका छन् । चितवन उद्योग सङ्घको ३१औँ साधारणसभामा उनले आर्थिक तरलता र उच्च ब्याजदरका कारण उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, “विगत तीन वर्षदेखिको तरलता र अहिले भएको ब्याजदर वृद्धिले उद्योगी पलायन हुने स्थिति आएको छ, त्यसले गर्दा नेपालका उद्योग धरासायी बन्दै गएका छन् ।” सात प्रतिशतमा रहेको ब्याजदर अहिले बढेर १४ प्रतिशतमा पुगेको जनाउँदै उनले यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

तरलताका कारण व्यावसायी असामान्य स्थितिमा पुगेको उनको भनाइ थियो । यस विषयमा आफूहरूले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग समेत कुरा गरेको बताए । नेपालका उद्योगहरूले आयात प्रतिस्थापन गर्न सक्ने गरी काम अघि बढाउनुपर्ने उनको भनाइ थियो । उनले भने, “निर्यातलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु आजको अवश्यकता हो ।”

आयातलाई प्रतिस्थापन गर्नका लागि उद्योगहरू खुलेर उत्पादन बढाउन आवश्यक रहेको उनले बताए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले देशमा यही अवस्था रहे आर्थिक सङ्कट आउन सक्ने बताए । ब्याज बढ्ने र लगानी गर्ने पैसा पाउन कठिन हुने हुँदा आर्थिक सङ्कटको स्थिति आउने उनको भनाइ थियो । उद्योगी व्यवसायीको पक्षमा निजी क्षेत्र एकापसमा समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप