शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुल दूध दिवस मनाउन सुरु

शनिबार, ०८ असोज २०७९, २० : ००
शनिबार, ०८ असोज २०७९

नेपाल डेरी एसोसिएसनले आज असोज ८ गतेबाट ७ औं विश्व स्कुल दूध दिवस मनाउन सुरु गरेको छ । पहिलो कार्यक्रम अन्तरगत काठमाडौँको शंखमुल स्थित दृश्य सहकारीको सहकार्यमा सहकारीको परिसरमा एक कार्यक्रम गर्दै ५ दिनसम्म मनाउन लागिएको ७ औँ स्कुल दूध दिवसको बालबालिकालाई दूध सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालले औपचारिक उद्घाटन गरेका हुन् ।

विश्व स्कुल दूध दिवस सन् २००० मा विश्व खाद्य संगठनले औपचारिक रूपमा सुरु गरेको हो । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर एकै दिन मनाइन्छ । विश्वका ३० वटा देशले एकै दिन कार्यक्रम गरी सुरु भएको यो कार्यक्रम यस वर्ष विश्वमा २२औँ र नेपालमा सातौँ विश्व दिवसको रूपमा भव्यताका साथ मनाउन लागिएको हो । यो दिन संसारभर कतै पनि बिदा पर्दैन र सबै ठाउँमा स्कुल सञ्चालनमा रहेको हुन्छ । 

दूधमा शरीरलाई आवश्यक सबै पौष्टिक तत्त्व पाइने भएकोले बालबालिकालाई अनिवार्य सेवन गराउनु पर्ने र यसको विशेष पहल विद्यालयबाट मात्र हुन सक्ने भएकोले पनि स्कुल दूध दिवस मनाउन थालिएको हो । यसरी विद्यालयमा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थको जानकारी गराउँदा पक्कै पनि बालबालिकालाई फाइदा हुने कुरा अध्यक्ष दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप