शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ– खाद्य कम्पनी

शनिबार, ०८ असोज २०७९, १६ : ५७
शनिबार, ०८ असोज २०७९

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दसैं लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ ।
 कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमा परिधिभित्र रही जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराइने बताए ।
  
दसैँ लगायतका चाड पर्वका असरमा दिएको छुटलाई दृष्टिगत गरी तत्कालको आवश्यकताभन्दा बढी खाद्यवस्तुको सङ्कलन गर्ने कार्यले कहीँकतै भीडभाडका घटना भएको हुनसक्ने कम्पनीको भनाइ छ ।

उनले भने, “आवश्यकता अनुसारको खाद्य वस्तु खरिद गरी सहयोग पुर्याउन कम्पनी सबै उपभोक्तासँग हार्दिक आह्वान गर्दछ ।” उक्त संस्थाले मुलुकका ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत दरमा चामल, दाल, तेल, नुन, चीन र गेडागुडी लगायतका गुणस्तरीय खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ ।
 
दसैँ लगायतका महत्वपूर्ण चाडका अवसरमा निजी क्षेत्रको तुलनामा अनुभव हुने गरी छुटको व्यवस्था गरिएको जनाउँदै कम्पनीले दूरदराजका जनतालाई सहज रुपमा खाद्यान्न पाउन भन्ने हेतुले विभिन्न स्थानमा बिक्री केन्द्र स्थापना गरिएको जनाएको छ । 

कतिपय दुर्गम जिल्लामा स्थानीयपालिका, वडा, आमा समूह र सहकारीसँग मिलेर सहुलियत दरमा सरल ढङ्गबाट अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन कम्पनीको प्रयास जारी छ ।  चाडबाड अघि नै अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन टेण्डर भई ढुवानीको काम सुरु भइसकेको जनाउँदै कम्पनीले टेण्डर नपरेका कतिपय स्थानमा भने छोटो प्रक्रियाका आधारमा हेलिकोप्टरद्वारा पुर्याइने जनाएको छ ।
 
कम्पनीबाट सञ्चालन गरिएको सुपथ मूल्य पसलको बिक्रीवितरण र मागको आकर्षण रहेको जनाउँदै काठमाडौं उपत्यकालगायतका सहरमा अनलाइन मागका आधारमा घरदैलोमै सेवा दिइरहेको जनाएको छ ।

कम्पनीबाट उपलब्ध हुने खाद्यान्न बजार मूल्यका तुलनामा निकै सस्तो रहेको जनाउँदै उनले वर्षैभर सहुलियत प्राप्त गर्ने सोच भने त्याग्न जरुरी रहेको बताए । दसैँमा काठमाडौँ उपत्यकामा हुने खसीबोकाको बिक्रीवितरणमा मूल्य सन्तुलन गर्न कम्पनीले मुलुकका विभिन्न क्षेत्रबाट खरिद गरी बिक्री वितरण गर्दै आएको छ । 

यसअघि कम्पनीले २०५८ सालसम्म चीनको तिब्बतबाट भेडा ल्याएर बिक्री वितरण गर्ने गरथ्यो । केही वर्षअघिसम्म मनाङ र मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएकामा मुलुकमा कोरोना सङ्क्रमणको घटनापछि त्यो काम रोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप