डेनमार्क र जर्मनीबीचको समुन्द्र मुनी बन्दैछ संसारको सबैभन्दा लामो सडक–रेलमार्गयुक्त सुरुङ
बाल्टिक सागरको ४० मिटर मुनी हुँदै संसारको सबैभन्दा लामो डुबेको सुरुङ बनिरहेको छ । सन् २०२९ सम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस सुरुङले डेनमार्क र जर्मनी बीचको यात्रा समय उल्लेख्य घटाउनेछ । फेहमार्नबेल्ट सुरुङ निर्माणको योजना बनेको एक दशकभन्दा बढी समयपछि, सन् २०२० मा यसको निर्माण सुरु भयो । र डेनिस पक्षमा अस्थायी बन्दरगाहको निर्माण पूरा भएको छ ।
अब त्यहाँ बन्ने कारखानाले सुरुङका ८९ वटा खण्डहरू बनाउनेछ, जुन विशाल कंक्रिट संरचना हुनेछ । यी विशाल कंक्रिटका खण्डहरू पानीमा डुबाउँदै र जोड्दै सुरुङमार्ग पुरा गर्ने योजना बनाइएको छ । १८ किमी लामो सुरुङ युरोपको सबैभन्दा ठूलो पूर्वाधार परियोजनामध्ये एक हुनेछ, जसको निर्माण बजेट ७.१ डलरभन्दा बढी छ ।
तुलनाको लागि इङ्ल्याण्ड र फ्रान्सलाई जोड्ने च्यानल टनेल ५० किलोमिटर लामो छ । सन् १९९३ मा निर्माण सम्पन्न भएको यो परियोजना आजको मूल्यमा १३.६ अर्ब डलरमा बनेको हो । च्यानल टनेलको लम्बाई फेहमार्नबेल्ट सुरुङभन्दा लामो भएता पनि त्यो पूर्व–निर्मित सुरुङका खण्डहरू पानीभित्र डुबाएर नभई बोरिङ मेसिनको प्रयोग गरेर बनाइएको थियो । साथै च्यानल टनेल भएर बेलायत र फ्रान्सबीच रेल मात्र चल्छ ।
फेहमार्नबेल्टमा बनाइने यो सुरुङ मार्गले जर्मन टापु फेहमार्न र डेनिस टापु लोल्यान्डलाई जोड्नेछ । यो सुरुङ रोडबी र पुटगार्डेनबाट हाल सञ्चालनमा रहेको फेरी सेवाको विकल्प हुनेछ । जसमार्फत वर्षेनी दशौं लाखौं यात्रुहरू आउजाउ गर्छन् । अहिले फेरीबाट ४५ मिनेट लाग्ने यात्रा सुरुङ बनेपछि रेलबाट ७ मिनेट र कारबाट १० मिनेटमा पुरा हुनेछ ।
आधिकारिक नाम ‘फेहमार्नबेल्ट फिक्स्ड लिंक’ रहने यो सुरुङमार्ग तयार भएपछि यो संसारको सबैभन्दा लामो सडक र रेलमार्ग भएको सुरुङ हुनेछ । यसभित्र दुई डबल–लेन मोटर बाटो र र दुईवटा विद्युतीय रेलमार्ग हुनेछन् । यो परियोजना बनाउन जर्मनी र डेनमार्कबीच सन् २००८ मा सम्झौता भएको थियो । त्यसपछि दुवै देशले आवश्यक कानून पारित गर्न र भू–प्राविधिक र वातावरणीय प्रभाव अध्ययन गर्न एक दशकभन्दा बढी समय लाग्यो।
डेनिस पक्षमा यसका लागि त्यति समय लागेन । तर जर्मनीमा भने फेरी कम्पनी, वातावरणीय समूहहरू र स्थानीय नगरपालिकाले यस परियोजनाविरुद्ध अदालतमा गए । लामो अदालती कारबाहीपछि नोभेम्बर २०२० मा जर्मनीको संघीय अदालतले उजुरीहरू खारेज गर्दै निर्माण अनुमति दिएको थियो । यस निर्माण परियोजनामा २५ सय जनाले प्रत्यक्ष रूपमा काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान