शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उल्कापिण्डको ठक्करअघि नै डाइनोसरहरुको संख्या उल्लेख्य घटिसकेको अध्ययनको संकेत

शनिबार, ०८ असोज २०७९, १५ : ४६
शनिबार, ०८ असोज २०७९

६.६ करोड वर्षअघि पृथ्वीमा ठक्कर खाएका विशाल उल्कापिण्डकै कारण यस ग्रहका सबै डाइनोसरहरु लोप भएका हुन् । वा उक्त महाविपदअघि नै डाइनोसरको जनसंख्या बाच्न संघर्ष गर्न थालिसकेको थियो ? वैज्ञानिकहरूबीच लामो समयदेखि यो विषयमा बहस जारी छ । 

क्रेटासिअस युगको संसारमा अधिपत्य जमाएका डाइनोसर बारेमा हालसम्म उपलब्ध जानकारी अहिलेको अमेरिका रहेको क्षेत्रमा पाइएका अवशेषको अध्ययनबाट संकलन भएको हो । तिनले डाइनोसरहरुको समृद्धि विविधताको चित्र प्रस्तुत गर्छन् । 

पछिल्लो समय सो युगका अवशेषहरू अन्य क्षेत्रमा पनि पाइन थालेका छन् । उत्तर अमेरिकी भूगोलमा पाइएको भन्दा न्युन भेटिए पनि यिनले डाइनोसरको नियतिबारे फरक चित्र प्रस्तुत गर्छन् ।  वैज्ञानिकहरुले मध्ये चीनको शान्याङ बेसिनमा भेटिएको झण्डै १००० को संख्याका डाइनोसरको अण्डाको अध्ययन गरेका छन् । अनुसन्धानदाताले तिनको अध्ययनलाई सेप्टेम्बर १९ मा ‘प्रोसिडिङ् अफ नेसनल एकेडेमी अफ साइन्स’को वैज्ञानिक जर्नलमा प्रकाशित गरेका छन् । अध्ययनमा डाइनोसरको विविधता क्रेटासियस युगको अन्तिमसम्ममा उलेख्य कमी आएको उल्लेख छ । 

चीनमा भेटिएको अण्डा र अण्डाको खोल डाइनोसर युगको अन्तिम २० लाख वर्षको रहेको बताइएको छ ।  अध्ययनमा धेरै अण्डा भेटिए पनि ती सबै तीन प्रजातिको डाइनोसरको मात्र रहेको पाइएको छ । त्यसले क्रेटासियस युगको पछिल्लो समयमा डाइनोसरको विविधता खस्किसकेको संकेत गर्छ । 

भेटिएका अण्डाहरू दाँत नहुने डाइनोसरका दुई प्रजातीहरु म्याक्रोओलिथस याओटेनेसिस, इलङ्गाटोओलिथर ईलङगेटस र तेस्रो भने वनस्पतिको आहार गर्ने स्ट्रोमाटोओलिथस पिङलिङ्गेसिस रहेको अनुसन्धानदाताले बताएका छन् । 

‘हाम्रो अध्ययनको निष्कर्षले ६.६ करोड वर्षको उल्कापिण्डको ठक्करअघि विश्वभर डाईनोसोरको विविधतामा उलेख्य कमी आउन सुरु भएको संकेत गर्छ । यसले पनि क्रेटासिअसको अन्त्यमा उडन् नसक्ने डाइनोसरको आम विनासको पृष्ठभूमि तयार गरिदिएको देखिन्छ,’ अध्ययनमा भनिएको छ । 

उड्न नसक्ने सबै डाइनोसर उल्का पिण्डको ठक्कर पछि विनाश भए भने उड्ने डाइनोसर भने त्यस प्रलयकारी ठक्करमा बचेका थिए । ती पछि उद्विकासको चरणबाट गुज्रिएर अहिलेका चराहरु बने । 

स्पेनको युनिभर्सिटी अफ भिगोका पोष्ट डक्टरल रिसर्च फेलो अलफियो एलेसान्ड्रो चिआरेन्जा भने अध्ययनको निष्कर्षसित त्यति सहमत छैनन् । उनी अण्डाको अवशेष डाइनोसरको विविधताको अध्ययनको लागि विश्वसनीय माध्यम नभएको बताउँछन् । 

उनले हालैका ती अध्ययनलाई औल्याउँदै भने, ‘धेरै डाइनोसरको अण्डा पातलो खोल हुन सक्ने देखाएको छ । त्यस्ता अण्डाहरू अवशेष बन्दैनन् ।’ त्यस्तै हड्डीहरु धेरै भेटिएका टी रेक्सजस्ता प्रजातिको पनि अण्डा नभेटिएको उनले उल्लेख गरे ।  चिआरेन्जा र उनीजस्तै अन्य वैज्ञानिकको असहमतिले चीनको अध्ययनको निष्कर्षले पनि विवाद अझै टुंगोमा नपुर्याएको संकेत गरेको छ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप