शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामजी र म मिलेर समाजवादका लागि नयाँ ‘जनयुद्ध’ गर्छौं : प्रचण्ड

शनिबार, ०८ असोज २०७९, २२ : ५७
शनिबार, ०८ असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेको जानकारी दिएका छन् । दुई पार्टी चुनावका लागि मात्र नभएर समाजवादको नयाँ मोडल दिनका लागि एकै ठाउँ उभिएको उनले बताएका हुन् । यो मोडल २१ शताब्दीको समाजवादको मोडल हुने प्रचण्डको जिकिर छ ।

नेपाल समाजवादी पार्टीद्वारा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘केही महिनादेखि बाबुरामजी र म निरन्तर छलफलमा थियौँ । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर हामीले छलफल गर्यौं । त्यतिबेला जनयुद्धको तयारीका दिन स्मरण गर्‍यौँ र समाजवादका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेपछि एक ठाउँमा केन्द्रित हुने निर्णय गर्‍यौँ ।’

‘बाबुराम–प्रचण्ड मिल्दा १ प्लस १ दुई मात्र हुने होइन, यसको महत्त्व ठुलो हुन्छ,’ उनले थपे, ‘हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।’ संविधानको घोषणापछि आफू र बाबुराम भट्टराईले एमालेसँग एकता र नयाँ शक्तिको स्थापना गर्ने दुश्साहासिक प्रयोग गरेको बताउँदै तीन दुवै प्रयोग असफल भएको स्वीकार गरे ।

‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जति सुकै राम्रो र ठुलो भए पनि सफल हुन सकेन । घटनाक्रमले के साबित गर्‍यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यताहरू, त्यसले ल्याएका परिवर्तनहरू धरापमा पर्ने खतरा देखाप-यो । प्रतिक्रियावादी, बर्जुवाहरुले माओवादी आन्दोलनका नेता–कार्यकर्ताहरूलाई अपमानित गर्ने र यसका उपलब्धिहरू उल्ट्याउन अनेक खालाका कसरतहरू गर्ने बीचमा देखा परे ।’

उनले यी घटनाहरूको समीक्षा गर्न आवश्यक देखिएको बताउँदै यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धिहरू नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको बताए । ‘यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व गर्‍यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस गर्‍यौँ,’ उनले भने, ‘प्रचण्ड–बाबुराम दुईवटा नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठुलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तितो मार्मिक यथार्थ भोगिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप