शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लेक लाग्न थालेपछि खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा

शनिबार, ०८ असोज २०७९, १२ : ३१
शनिबार, ०८ असोज २०७९

बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गत शुक्रबार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लो दिन खप्तड पुगिन् । खप्तड जाँदा उनलाई लेक लाग्न सुरू भयो । कागती र केही खाजा बोकेकी उनलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठीक भएन । गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको व्यारेकबाट उनलाई औषधि ल्याइयो र बिरामी निको भयो ।

बाजुरा काँडाका श्यामलाल रोकायाले पनि खप्तड जाँदा त्यही समस्या भोगे । दहपाटनबाट हिँड्नै नसक्ने भएका रोकाया खप्तड व्यारेक पुगेपछि भने सेना उपलब्ध गराएको औषधिले निकै राहत गरेको सुनाए । आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर पूजाआजापछि घर फर्किए। 

खप्तडमा यस्ता समस्या हुने दर्जनौँ नागरिकको ओखती बनेको छ, खप्तड व्यारेक । पर्यटक, गोठाला, तीर्थालु भक्तजनलाई पछिल्लो दशकयता भने खप्तडमा बिरामी हुँदा चिन्ता हुँदैन । नेपाली सेनाको व्यारेकबाट उपलब्ध हुने औषधि खाँदा सामान्य बिरामी सजिलै ठीक हुने गोठालो गर्न आएका विनोद रावलले बताए ।

खप्तडमा यस्ता समस्या दिनहुँ हुने भएपछि नेपाली सेनाले पनि विभिन्न मेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । मेलामा धेरै टाढाबाट र कहिल्यै नआउने तीर्थालुलाई लेक लाग्ने समस्या हुन थालेपछि मेला भइरहेको क्षेत्रभित्रै शिविर आयोजना गर्दै आएको श्री सिंह शार्दुल गुल्म खप्तडका गुल्मपति विनोदकुमार सिलवालले बताए ।

ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ मेला, दशहरामा पनि हजारौँ तीर्थालु भक्तजनले सेनाको शिविरबाट सेवा लिने गर्छन् । ओरालु सैन्डाँडामा मात्रै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट अढाइ सयभन्दा बढीले सेवा लिएको सिलवालले बताए । 

उनका अनुसार गत महिना जगन्नाथ मेलामा पनि एक सय ४१ जनाले सेवा लिएका थिए । बर्सेनि लाग्ने गङ्गा दशहरा मेलामा त हजारौँको सङ्ख्यामा बिरामीको जाँच तथा उपचार हुन्छ । नेपाली सेनामा कार्यरत स्वास्थ्यकर्मीले दशहरा मेलामा दुई दिनसम्म निःशुल्क उपचार गर्ने गरेको उनले बताए । 

खप्तडमा लाग्ने मेलामा हरेक वर्ष सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गुल्मपति सिलवालका अनुसार अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याका बिरामी व्यारेकमा बढ्दै गएपछि मेलामा शिविर नै आयोजना गरिएको हो । व्यारेकमा पनि दैनिकजसो १५÷२० जनाले स्वास्थ्य सेवा लिइरहेको उनले बताए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप