शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोजर फेडेरर अन्तिम खेलमा रोए, टेनिसलाई अलविदा भने

शनिबार, ०८ असोज २०७९, ११ : ४१
शनिबार, ०८ असोज २०७९

दिग्गज टेनिस खेलाडी रोजर फेडेररले शुक्रबारको आफ्नो करियरको अन्तिम प्रतियोगितामा हारसँगै टेनिसबाट सदाका लागि बिदा भएका छन् । लेभर कपमा फेडेरर राफेल नाडालसँग जोडी बनेर खेलेका थिए  । यस खेलमा फेडेरर र नाडाल अमेरिकाका फ्रान्सिस टियाफो र ज्याक सोकसँग ४–६, ७–६, ११–९ ले पराजित भएका थिए । यो हारसँगै फेडेररको टेनिस करियर समाप्त भएको छ ।

खेलको अन्त्यमा फेडेरर भावुक भए । करियरको अन्तिम खेलमा पराजयको पश्चाताप उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । उनले टेनिस कोर्टबाट त्यहाँ उपस्थित दर्शकहरूलाई अभिवादन गरे । पछिल्लो दुई दशकयता टेनिसमा सबैभन्दा बढी चर्चामा रहेका फेडेररले २४ वर्षपछि खेललाई अलविदा भनेका छन् ।

आफ्नो करियरमा २० ग्रान्डस्लाम जितेका फेडेररले २०२१ विम्बल्डनपछि एउटा खेल खेलेका छैनन् । उनको घुँडामा चोट लागेको थियो ।​ रोजर फेडेररले आफ्नो टेनिस करियरको अन्तिम दिन भनेका छन्, ‘कतै न कतै हामी यस्ता पलबाट गुज्रिन्छौँ । यो शानदार दिन थियो । म खुसी छु, दुःखी छैन । यहाँ हुनु गर्वको कुरा हो । म अन्तिम पटक आफ्नो जुत्ताको फित्ताा बाँधेर असाध्यै खुसी छु, यहाँ सबै मेरा लागि अन्तिम पटक थियो ।’

उनले भने, ‘मैले तनाव लिएको छैन । यद्यपि, केही त हुँदै छ भन्ने मलाई महसुस भएको थियो । तर खेल उत्कृष्ट भयो । राफेलसँग खेल्नु र सबै शानदार व्यक्तित्व र दिग्गजको यहाँ उपस्थिति । तपाईंहरु सबैलाई धन्यवाद ।’

उनले यतिबेला आफ्नी श्रीमतीलाई पनि सम्झिए । उनले भने, ‘टेनिसको दुनियाँमा मेरो यो यात्रामा मेरी श्रीमतीको समर्थन असाध्यै महत्वपूर्ण थियो । ’

फेडरर भन्छन्, ‘उनले मलाई निकै अघि रोक्न सक्थिन् । धेरै नै समय अघि तर उनले यसो गरिनन् । उनले मलाई अघि बढ्न दिइन् र लगातार खेल्न दिइन् । यो शानदार अनुभव हो । धन्यवाद ।’

फेडेररको टेनिस करियर

रोजर फेडेररले २० ग्रान्डस्लाम उपाधि जितेका छन् । उनले सन् २००३ मा विम्बल्डनमा आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जितेका थिए । आफ्नो करियरमा फेडेररले ६ अष्ट्रेलियन ओपन, १ फ्रेन्च ओपन, ८ विम्बल्डन र ५ युएस ओपन प्रतियोगिता जितेका छन् । फेडेरर अहिले पुरुष वर्गमा कुल ग्राण्डस्लाम उपाधिका आधारमा आफ्ना मुख्य प्रतिद्वन्द्वी राफेल नाडाल र नोभाक जोकोभिचलाई पछि पार्दै तेस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप