२ सय वर्ष भयो नेपाली नाटकको इतिहास : रङ्गमञ्चका लागि भने सधैँ अभाव
नेपाली रङ्गमञ्चको परम्परा खोज्दै जाँदा लोकनाटकमा गएर जोडिन्छ । तर लेख्य परम्पराको इतिहास हेर्दा अनुवादबाट आएको देखिन्छ । नेपाली भाषामा अनुवाद भएको पहिलो नाटक ‘हास्यकदम्ब’लाई मानिएको छ । अनुसन्धानकर्ता डा. अशोक थापाका अनुसार विसं १८५५ सालमा प्रकाशित यस नाटकका अनुवादक शक्तिबल्लभ अर्यालले गरेका हुन् । यसपछि पहलमान सिंह स्वारले नेपाली भाषाको मौलिक नाटक ‘अटलबहादुर’ (१९६३) लेखे ।
यीे कृतिका हिसाबले हेर्ने हो भने नेपाली नाटकको इतिहास करिब दुई सय पच्चीस वर्ष लामो छ । तर त्यो समयदेखि सुरु भएको नाटक लेखन क्षेत्रमा मञ्चनका लागि अझै अभाव रहेको नाट्यशाला सञ्चालकहरू बताउँछन् ।
नाटक लेखन मात्र होइन नेपाली रङ्गमञ्चको विकासमा भुल्नै नहुने व्यक्तित्व हुन् बालकृष्ण सम । उनले दरबारभित्र सीमित नाटकलाई सर्वसाधारण समक्ष ल्याए । नेपाली नाटक विधामा आधुनिकताको सुरुवात गरे ।
समले रङ्गमञ्चको निर्माण गरे, नेपाली भाषामा रङ्गमञ्चसम्बन्धि अध्ययन परम्पराको थालनी गराए । देशविदेशमा तालिमका लागि समेत पठाए । यही क्रममा उनले मात्र १७ वटा नाटक संग्रह र ७ वटा एकाङ्कीसमेत लेखे । नाट्य जगतमा त्यो आयामका र त्यति धेरै नाटक लेख्ने नाटककार अझसम्म भेटिएका छैनन् ।
समकै सयममा भीमनिधि तिवारी, लेखनाथ, पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्र सिंह प्रधान लगायतले यसको विकास र विस्तार गर्ने काम गरे । प्रजातन्त्रको उदय र पञ्चायतकालमा पनि केही नाटकहरू लेखिए । प्रशस्तै सडक नाटकहरू पनि प्रदर्शन भए ।
पछिल्लो समय राजधानीमा मात्र ७, ८ वटा नाट्यशाला स्थापना भई सञ्चालित छन् । तर तिनमा नेपाली नाटकको अभाव कायमै छ । त्यही अभावका कारण कतिपय विदेशी नाटक अनुवाद गरेर त कतिपय कथा, उपन्यासलाई पनि नाटक बनाएर मञ्चन गरिँदै आएको छ । यो कुरा प्रायः सबै नाटक घरहरूले स्वीकार्दै आएका छन् ।
नाटक लेख्ने मान्छे कम
गुरुकुल नाट्यशालाका निर्देशक सुनिल पोखरेल नाटक लेख्ने मान्छे कम भएको र नेपाली नाटक नपाएर कतिपय रङ्गकर्मीहरूले आफैँ लेख्न थालेको बताउँछन् ।
“रङ्गमञ्चमा नेपाली नाटक अभाव भएको छ, त्यसलाई पूर्ति गर्न कथाहरूलाई इम्प्रोभाइज गर्ने चलन पनि चलेको छ,” पोखरेल भन्छन्, “उपन्यासहरू पनि मञ्चन भएका छन्, त्यो नाटककै अभावले हो ।” अहिले मात्र होइन पहिले पनि त्यति धेरै नाटक लेख्ने मानिस नभएको र अझै पनि औँलामा गन्न सकिने मात्र नाटककारहरू रहेको उनी बताउँछन् ।
यस्तै पुरानो घर नाट्यशालाका निर्देशक सुलक्षण भारती नाटक लेख्ने सर्जक कम भएको कुरामा सहमत छन् । “नेपाली भाषामा कम नाटक लेखिन्छन्, त्यही भएर म आफैँ नाटक लेख्छु । पुरानो घरमा जति मञ्चन भएका छन्, सबै आफैँ लेखेर गरेको छु,” भारतीले भने, “मैले आफैँले लेखेका नाटक करिब नौवटा भए होलान् ।” उनी मात्र होइन, अन्य धेरै नाटकघरहरूले आफैँ नाटक लेखेर मञ्चन गरेको बताउँछन् ।
यस्तै साहित्यकारहरूले पनि छापामाध्यममा नाटक प्रकाशित गरेको धेरै पाइँदैन । नेपालमा नाटकको सवा २ सय वर्ष लामो इतिहास भए पनि प्रकाशन संस्कृति विकसित हुन नसकेको बताउँछन् वरिष्ठ साहित्यकार तथा मधुपर्क साहित्यिक मासिकका पूर्वसम्पादक श्रीओम श्रेष्ठ रोदन ।
अहिले नाट्यशाला पनि प्रशस्त खुले, उपत्यकामा मात्रै ८/१० वटा सञ्चालनमा छन् । प्रदेश प्रदेशमा, जिल्ला जिल्लामा खुलेका छन्, तिनमा मजाले नियमित नाटकहरू चलिरहेका छन् । तर नाटक लेखनको चाहिँ ठूलो अभाव रहेको रोदन बताउँछन् ।
“अहिले नेपाली रङ्गमञ्चमा नाटकको अभाव भएको पक्कै हो,” रोदन भन्छन्, “मञ्चनीय विधा हो भन्ने आम धारणाले गर्दा पनि सर्जकले कम लेखेको देखियो ।” पत्रपत्रिकाहरूले त सुरुदेखि नै नाटक प्रकाशनलाई त्यति महत्त्व दिएनन् । त्यसैले नाटक लेख्ने सर्जकहरूको पनि कम भएको देखिन्छ ।
नाटक जटिल विधा
पाठकीय दृष्टिले मात्र लेखिएका नाटकहरू हाम्रा पाठकले स्वीकारेको त्यति देखिँदैन भन्छन् रोदन । किनभने कथा, उपन्यास, निबन्ध, कविता लेखेजसरी नाटक लेख्न सकिँदैन । यसलाई अलिकति मञ्चीय प्रविधि, मञ्चीय सिद्धान्त, मञ्चीय परम्परासँग पनि जोडिनुपर्ने भएकाले यसतर्फ लेखक आकर्षित नभएका उनको अनुभव छ ।
“यो एक किसिमको प्राविधिक पक्ष पनि हो । रङ्गमञ्चलाई पनि ध्यान दिनुपर्यो, सडक नाटक हो भने सडकलाई पनि ध्यान दिनु पर्यो,” रोदन भन्छन्, “पहिलाका बालकृष्ण सम, प्रचण्ड मल्ल, हरिप्रसाद रिमालले लेख्दा नाटकका कलाकारले कस्तो प्रस्तुति गर्ने भनेर कोष्ठकमा लेख्ने प्रचलन थियो ।”
तसर्थ अलिकति रङ्गमञ्चीय ज्ञान नभएको मानिसलाई नाटक लेख्न गाह्रो हुन्छ । रङ्गमञ्च थाहा नपाएको मानिसले नाटक लेख्नै सक्दैन, लेखे पनि रङ्गमञ्चका लागि उपयुक्त हुँदैन भन्छन् उनी ।
यसमा प्रारम्भ कसरी गर्ने, दर्शकलाई कसरी आकर्षित गर्दै लगेर अन्त्यमा क्लाइमेक्समा पुर्याएर कसरी टुङ्ग्याउने भन्ने प्रविधिगत ज्ञान पनि हुनुपर्छ भन्छन् रोदन । अभिनय सँगसँगै नृत्य, गीत, सङ्गीत, रस लगायत धेरै कुराको ज्ञान हुनुपर्छ ।
नाटक लेखन जटिल हो भन्ने कुरामा सहमत छन् शिल्पी थिएटर चलाइरहेका नाट्यकर्मी घिमिरे युवराज पनि । “संसारभरि नै नाटक लेखन गहन कार्य हो, यसको बजारसँग अरू कृतिको भन्दा फरक सम्बन्ध छ,” घिमिरे भन्छन्, “कथा उपन्यास मार्केटमा बिक्री भए जसरी नाटक बिक्री हुने सम्भावना कम हुन्छ, प्रदर्शनमै जानुपर्छ ।”
तर नाटक जटिल भएर नलेखिएको भने होइन भन्छन् सुलक्षण भारती । “नाटक नलेखिनुको कारण भनेको अर्थ (रुपियाँ) हो । नाटक लेख्नेले पैसा खासै पाउँदैन ।” उनी थप्छन्, “एउटा नाटक लेख्ने समयमा २/३ वटा कथा सर्जकले लेखिसक्छन् । कथा बिक्री हुन्छ तर नाटक बिक्री हुँदैन ।”
नाटक लेखन कथाहरूभन्दा केही जटिल हुने कुरा स्वीकार्दै भारती भन्छन्, “किनभने त्यसमा पात्र फरक फरक आउँछन्, संवाद आउँछ, परिवेशको चित्रण लगायत धेरै कुरा मिलाउनुपर्ने हुन्छ । तर नसक्ने भन्ने चाहिँ हुँदै होइन ।”
अधिकांश साहित्यकारहरूले सहजै लेख्न सक्छन् भन्दै उनी थप्छन्, “कुमार नगरकोटीले अस्ति ‘वास्तव’ लेखिदिनुभयो । शिल्पीमा मञ्चन भएको कति राम्रो थियो ।” यस्तै युग पाठकले ‘युमा’ नाटक लेखेको दृष्टान्त पनि उनले दिए । यसै गरी सत्यमोहन जोशीले ‘सुनकेसरी’ नाटक लेखेका छन् ।
थिएटर आफैँ तयार पार्छन् नाटक
यो अभाव पूर्ति गर्न नाटकघरहरुले आफैँ पनि लेख्ने गरेको बताउँछन् सुलक्षण भारती । स्थापित साहित्यकारहरूले पनि नाटकघरको अनुरोधमा लेख्छन् । उनी भन्छन्, “धनराज सापकोटाले आफैँ नाटक लेखेर मञ्चन गराए, आशम शर्माले पनि आफैँ लेखेर मञ्चन गराए ।”
भारतीले बिल ग्रेट्स पण्डित, बोक्सीको घर, नियुक्ति, सलेदो, म, सिटामोल, खत, लाटीको छोरो पुनर्लेखन गरेर मञ्चनसमेत गराएका छन् । यसै गरी उनले विवश राई, रमेश विकल र पोषण पाण्डेका तीनवटा कथालाई एउटै बनाएर तीनकुने नाटक लेखेर मञ्चन पनि गराए ।
यस्तै शिल्पी थिएटरका निर्देशक घिमिरे युवराज पनि पछिल्लो समय जति नाटक लेखिए थिएटरले नै प्रोत्साहन गरेर लेखिएको बताउँछन् । “अभि सुवेदी सरलाई नाटक लेखाइयो, सत्यमोहन जोशीलाई लेखाइयो, कुमार नगरकोटीलाई मैले नै लेख्न अनुरोध गरेको हुँ,” उनी भन्छन्, “फुलमान बल र रमेश चन्दनलाई नाटक लेखाइयो । अहिले भर्खर गार्गी भन्ने नाटक लेखिसक्नुभएको छ, मैले नै कराउँदा कराउँदा हो ।”
अहिलेसम्म लेखिएका नाटक सबै थिएटर ग्रुपले एक्सरसाइज गर्दा गर्दै भएको घिमिरेको अनुभव छ ।
भारती भन्छन्, “निरन्तर लेखिरहने नाटककारको अभाव छ । यसले गर्दा थिएटर सञ्चालक तथा निर्देशकहरूले नै नाटक लेख्नुपर्ने बाध्यता आइलागेको हो ।” धेरै नाटकगृहहरूले लेखकहरूसँग नाटक लेखिदिन अनुरोध गर्दै आएका छन् । तर नाटक जटिल भएकाले ३/४ महिना लाग्छ तर पैसा एकदमै कम आउँछ, त्यही भएर उहाँहरू अल्छी गर्ने गरेको बताउँछन् भारती ।
विदेशी नाटक बढी मञ्चन भन्नु भ्रम
नेपाली रङ्गमञ्चमा विदेशी नाटक बढी मञ्चन भएका हुन् भन्ने प्रश्नमा शिल्पी थिएटरका निर्देशक घिमिरेले कडा आपत्ति जनाए । उनले कुन नाटक घरले कति नेपाली र कति विदेशी नाटक मञ्चन गराए तथ्यगत रूपमा सञ्चारमाध्यमामा आउनुपर्ने बताए ।
“नेपाली रङ्गमञ्चमा विदेशी नाटक धेरै मञ्चन हुन्छन् भन्ने भ्रम पत्रकारहरूले छरेका मात्र हुन् । नेपाली नै बढी मञ्चन भएका छन्,” घिमिरे भन्छन्, “शिल्पी थिएटरकै वरपर टाँसिएका ३३ वटा पोस्टर हेर्ने हो भने पनि त्यो प्रष्ट थाहा हुन्छ ।” १६ वर्षमा शिल्पीले ३३ वटा नाटक मञ्चन गर्दा ३ वटा मात्र विदेशी नाटक मञ्चन गरेको उनले बताए ।
मण्डलाले कतिवटा विदेशी गर्यो, कतिवटा नेपाली गर्यो ? सर्वनामले कति गर्यो, पुरानो घरले कति गर्यो, शिल्पीले कतिवटा गर्यो ? भनेर अनुसन्धान नै नगरी समाचार आइरहेका छन्, त्यो अनुसन्धान गरेर मात्र यस्ता समाचार आउनुपर्ने घिमिरे बताउँछन् । उनी भन्छन्, “नेपाली नाटकको अभाव त पक्कै छ । तर नेपाली नाटकको अभाव छ भन्नुको अर्थ विदेशी नाटक मञ्चन बढी हुन्छ भन्ने होइन ।”
नेपाली नाटक धेरै नलेखिएका कारणले नेपाली उपन्यास र कथामाथि पनि नाटक रूपान्तरण भइरहेको उनी स्वीकार्छन् । त्यस क्रममा थिएटरमा इम्प्रोभाइजेसन (स्क्रिप्ट नभए पनि नाटक मञ्चन) गरिन्छ भन्छन् उनी । त्यस्तो धेरै पनि भइरहेको छैन तर यो सबै कुरा नेपाली नाटक नभएर विकल्प खोजिएको हो ।
“पुरानो घरले त जतिवटा नाटक गरेको छ, सबै आफैँ लेखेर नेपाली मात्र मञ्चन गरेको छ,” घिमिरे भन्छन्, “मैले दुईवटा नाटक लेखिसकेँ । नेपाली नाटक लेखन कम भए पनि अरू विकल्प खोजेर भए पनि नेपाली नाटक नै बढी मञ्चन गरिएको छ ।”
शिरीषको फूल, उभार, पल्पसा क्याफे, भ्यागुताको काठमाडौँ यात्रा आदि साहित्यिक कृतिलाई लिएर राम्रा नाटक पनि मञ्चन भइरहेको उनी बताउँछन् ।
नराम्रो होइन, अनुवाद गरी मञ्चन गर्नु
नेपाली नाटकको कमी भएर नै विदेशी नाटक मञ्चन हुने गरेको कुरालाई भने स्वीकार्छन् सुलक्षण भारती । “हामीसँग नाटकको अभाव भएर नै विदेशी नाटक मञ्चन गराएका हौँ, विदेशी नाटक गर्नै नहुने होइन,” उनी भन्छन्, “यस्ता नाटक मञ्चन गर्दा राम्रो छ भन्ने मानिसकता दर्शकमा हुन्छ र थिएटरसम्म आउँछन् ।” सुलक्षण भारती लगायतले लेखेका नाटकभन्दा विदेशी नाटक पक्कै पनि राम्रो हुन्छ भन्ने मानसिकता दर्शकमा भएकाले विदेशी नाटकमा अलिक बढी चार्म रहेको उनी बताउँछन् ।
विदेशी नाटक मञ्चन गर्दा फरक फरक अभिनय स्टायल सिक्न पाइने र विदेशतिरको ट्रेन्डबारे जानकारी पाइने अनुभव छ गुरुकुलका सुनिल पोखरेलको । कलाकार र निर्देशकको प्रशिक्षण र तालिमका लागि पनि विदेशी नाटक मञ्चन गराइन्छ भन्छन् उनी ।
“नेपाली पात्र र परिवेशहरू मिल्ने खालका नाटकहरू नेपालीमा अनुवाद गरी खेलाइन्छ,” पोखरेल भन्छन्, “त्यो नाटकको विषयवस्तु नेपाली मानसिकतामा कतै न कतैबाट जोडिएर नै छानिन्छ ।”
यस्ता नाटक मञ्चन गर्दा कसैले विदेशकै परिवेश र पात्रगत भेषभूषा पनि उतैको राखेर गर्छन् भने कसैले नेपाली मौलिक शैली प्रयोग गर्ने उनी बताउँछन् । गुरुकुलले चाहिँ प्रायः नेपाली परिवेशमा रूपान्तरण गरेर मञ्चन गराउने गरेको छ ।
नाट्य प्रज्ञा प्रतिष्ठान कुहिरोको काग
नेपाली सङ्गीत तथा नाटकको संरक्षण, संवद्र्धन र विकासका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान स्थापना पनि भयो तर त्यसले यो अभाव पूर्ति गर्न नसकेको बताउँछन् श्रीओम श्रेष्ठ रोदन । “नेपाली नाटककै अभाव भयो भनेर प्रज्ञा प्रतिष्ठनलाई छुट्याइयो । तर त्यसको उद्देश्य अलिकति पनि पूरा भएको देखिँदैन,’ उनी भन्छन्, ‘नाट्य क्षेत्रको उन्नयनका लागि सिङ्गो सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठन नै छ नि । यो अभाव हुन नदिने जिम्मेवारी त्यो संस्थाको हो नि अब त ।” यसले काम गर्नै नसकेकाले यसको उपस्थितिमाथि नै प्रश्न उठेको उनी बताउँछन् ।
यस्तै सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नै गठन भए पनि अभाव पूर्तिका लागि प्रयास नै नगरेको बताउँछन् सुलक्षण भारती । “त्यहाँ पार्टीका झण्डा बोक्नेहरू मात्र नियुक्त हुन्छन्, पार्टीहरूको झुण्डले त्यसलाई सञ्चालन गर्छन्,” भारती भन्छन्, “त्यहाँ एक जना पनि नाटक बुझेको मान्छे भइदिने हो भने मञ्चनका लागि नाटकको यति अभाव हुने थिएन ।”
तर अहिलेको समय नाटकको स्वर्णिम युग नै ठान्छन् भारती । तर त्यसका लागि नाटक लेख्ने मान्छे नै छैन । “डा. अभि सुवेदी सर पहिला पहिला नाटक लेख्नुहुन्थ्यो, गुरुकुल छउन्जेल उहाँले नाटक लेख्नुभयो,” भारती भन्छन्, “१२/१३ वर्ष भयो उहाँले नाटक लेख्न छोडेको । उहाँजस्तो मान्छेले नाटक क्षेत्रको समीक्षा र मूल्याङ्कन गर्नुपर्ने हो ।”
तर नाटक अभावको समस्या समाधान नाटक घरहरूको वशको विषय नभएको बताउँछन् गुरुकुलका सुनिल पोखरेल । नाट्य प्रज्ञा प्रतिष्ठानहरू जस्ता संस्थाले नै पहल गर्नुपर्ने उनको भनाइ छ ।
यो बीचमा नयाँ नाटक लेखकहरूलाई प्रोमोट गर्न नेपाल प्रज्ञा प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले पनि केही नयाँ योजना बनाएका थिए । नाटक लेखनलाई प्रोत्साहन गर्न विभिन्न प्रतिस्पर्धाहरू गराइएको थियो । यस्ता कार्यले निरन्तरता पाउनुपर्ने पोखरेल बताउँछन् । पछिल्लो समय फाट्ट फुट्ट नाटकका कार्यशालाहरू पनि हुन थालेकाले विस्तारै नयाँ नाटककारहरू तयार हुँदै जाने आशारत छन् पोखरेल ।