भजनीका चार हजार बाढी पीडित घर फर्किए, तीन हजार बढी अझैं विस्थापित
कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् ।
भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन । बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन् । घर फर्कदा अधिकांश पीडितको रूवाबासी चल्ने गरेको छ ।
भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ । शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ । उनको अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन् । विश्वकर्माको परिवार राहत पाए खाउँला भन्ने आशामा छ ।
वडा नं ८ का वडासदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले बिचल्ली बनाएको छ । उनी पनि एक साता हुलाकी सडकमा बसेर घर फर्किएका हुन् । सरकारले बर्सेनि पीडा सहने यहाँका नागरिकका समस्या समाधान गर्नुपर्ने र तत्काल पीडितलाई अन्न र त्रिपालको व्यवस्था गरिदिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । “घर सफाइ गर्नसमेत समस्या छ । अधिकांशका घरमा काम गर्नसक्ने मानिस छैनन्”, वडासदस्य डगौरा थारुले भने, “भत्केका घर मर्मत गर्नुछ, लितपोत गर्नुछ । जसका लागि लाग्ने खर्चको समेत अभाव छ । सरकारले यहाँका नागरिकलाई उच्च स्थानमा घरवास दिनुपर्छ ।”
नेपालीहरु चाडपर्व मनाउने तयारीमा छन् । चाडपर्वको तयारी गरिरहेका बेला आएको बाढीले भजनीका नागरिकलाई ठूलो पीडा दिएको छ । भजनीकै सन्दीप रावलले चाडपर्वका समयमा यहाँका नागरिकलाई राहत उपलब्ध गराउनुपर्ने, शिर लुकाउन त्रिपाल दिनुपर्नेमा जोड दिए । “राहत क्षणिक समयका लागि हो, हामीलाई उच्च स्थानमा बास, नभए उच्च भवन बनाइदिएको भए हुन्थ्यो”, उनले भने, “बर्सेनि नदी बस्तीमा पस्ने समस्या छ । नदीमा ड्याम तथा तटबन्ध बनाइदिएको भए हुन्थ्यो ।”
भजनी नगरपालिकाले बाढीपछिको क्षतिको विवरण लिन थालेको छ । नगरपालिकाले पीडितहरुको स्थानमै गएर लागत सङ्कलन गर्न थालेको हो । “मानिसको घरमा हेर्दा केही बचेको छैन । वडा नं ८ मा अनुगमन गर्दा यहाँ नागरिकको बिचल्ली छ । नागरिकको केही सम्पत्ति बचेको छैन”, नगर प्रमुख केवल चौधरीले भने, “मानिसका घर बगे, घरमा भएका सबै सामान बगेर नष्ट भए । धान खेती पनि नष्ट भएको छ । हेर्दा बेहाल छ, नागरिकको अवस्था हेर्दा साह्रै मन दुख्छ ।”
“अझै तीन हजार बढी परिवार घर फर्कने वातावरण बनेको छैन। हामीले राहत वितरणका कार्य गरिरहेका छौँ, हजारौँ पीडित परिवारलाई पालिका मात्रले सहयोग गर्नसक्ने अवस्था छैन”, उनले भने, “आपत्मा छौँ, सहयोगीलाई अपिल गरेका छौँ, सङ्घसंस्थाले सघाउन थालेका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ