निबन्ध

पिताजीका आप्त वाणीमा रुमलिँदा...

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

​मेरा बयानब्बे वर्षका पिताजी कहिलेकाहीँ भन्ने गर्नुहुन्थ्यो, “बाबु ! यो बुढेसकाल सब चीजले छोड्दै छोड्दै लाँदो रहेछ । कालले शरीरको एक एक चिजलाई छिन्दै छिन्दै लाँदैछ ।”


त्यतिखेर पिताजीका कुरा नबुझ्ने म पटमूर्ख रहेछु । मेरो लठुवा बुद्धिले के छिनेको हो ? देख्न सकेको थिएन । उल्टै उहाँसामु जिज्ञासा राख्ने गर्थेँ,“के ले छोड्यो र बा ?”



बा भन्नुहुन्थ्यो, “पछि उमेरले छोड्दै गएपछि थाहा पाउलास् नाथु ! अहिले त तन्नेरी जवानै छस् ।” 



   अनि मुख खोलेर दाँत र गिजा देखाउँदै भन्नुहुन्थ्यो, “हेर यहाँ गिजाले दाँत छोडिसक्यो ।” 

    पाखुराको छाला तान्दै भन्नुहुन्थ्यो, “यता हेर छालाले मासु छोडिसक्यो ।” 

आँखातिर औँलो तेर्स्याउँदै भन्नुहुन्थ्यो, “आँखाको नानीलाई तेज ज्योतिले छोडिसक्यो ।” 

  उहाँ क्रमशः भन्दै जानुहुन्थ्यो, “कानले सुन्न छोड्यो । पेटको मिसिनले खानेकुरा पचाउन छोड्यो । दिमागले आवश्यक कुरा पनि सम्झिन छोड्यो । नशापाशा हड्डी मांशमजाले ठिकसित काम गर्न छोड्यो । जिब्रोले नै भोजनको स्वाद लिन छोड्दैछ । खुट्टा थीर हुन छोड्यो । पिसाब दानीले पिसाब च्याप्न छोड्यो । हातले काम गर्न छोड्यो ।” 

पिताजीका यी कुरा मेरा लागि मथिङ्गल हल्लाउने आप्तवाणी थिए । म चुपचाप उहाँका कुरा सुनिरहेको वखत अचानक  टोपी फुकाल्नु हुन्थ्यो । टाउको पछाडिको निख्खुर सेतो कपाल मुसार्दै भन्नुहुन्थ्यो, “देख्दैनस् मेरो कपाल ! कालो रङले उहिल्यै छोडिसक्यो । अब त सेतो कपालका जराले पनि छोड्न लाग्यो ।” 

   खुइलिएको तालुतिर सङ्केत गर्दै अरू अमृतवाणी बक्न थाल्नुहुन्थ्यो, “हेर्दाहेर्दै समयले लालुपाते जोवान छिर्‍यो । शरीरको पानी छिन्यो, पाइन छिन्यो । शरीरबाट पानीको भाग सकियो क्या र । अब त रुँदा आँसुपनि झर्दैन । आँसुपनि छिनिसक्यो । जोश जाँगर बलबुता सबै सबै छिनिसक्यो । अब अन्तिम  त्यान्द्रो सासको डोरी बाँकी छ । यो छिन्न बाँकी छ । अरू छिनी सक्यो ।” 

अहो ! मानिसको शरीरमा वाद्र्धक्य कसरी खस्तो रहेछ ? र, एउटा सबल तन्दुरुत शरीर कसरी रुग्ण बन्दोरहेछ, त्यसको प्रत्यक्ष साक्षी पिताजी हुनुहुन्थ्यो । विश्वविद्यालयले पिलाउन नसकेको अनमोल ज्ञानका पियुषधारा पिताजीका शब्द शब्दबाट पिइरहेको थिएँ । उहाँ मेरा निम्ति एक जीवन्त ज्ञान दानको पाठशाला हुनुहुन्थ्यो । पिताजीको सन्निधिमा केही न केही ज्ञानको उज्यालो तापिरहेको हुन्थे म । 

...

आज मेरो सामुमा पिताजी हुनुहुन्न । पिताजीको भौतिक उपस्थिति अब एकादेशको विषय बनिसकेको छ । तर पनि कतिपय सवालमा उहाँको उपस्थिति अशरीर रूपमा मेरो चारैतिर विराजमान छ । उहाँले व्यक्त गरेको सत्य, जीवनको लामो कालखण्डमा स्वयम्ले अनुभूत गरेको ज्ञान थियो । आफैँले साक्षात्कार गरेको समयरेखाको वोध थियो । 

अहिले एकान्तमा बसेर तर्कना गर्छु जीवन भनेकै छोडाइ र जोडाइको वर्तुल चक्र रहेछ । समयक्रममा कतिपय चीज जीवनमा जोडिदै जाने रहेछन् ।  अनि कतिपय चिज छोडिदै जाने रहेछन् । जोड र छोडको, अर्थात् थप र घटको संगम रहेछ जीवन । समयले नै छाँस्नुपर्ने चिज छाँस्दै लाँदो रहेछ । गाँस्नुपर्ने चिज गाँस्तै लाँदो रहेछ । यस क्रममा कतिपय चिज अनुदान स्वरूप थपिँदा रहेछन् । कतिपय कुरा छुट्तै घट्तै जाँदा रहेछन् ।

छोड्नुको हिसाब गर्न थालियो भने आमाको गर्भमा आउनु अगाडिको जीवनको रुपरेखा ठम्याउनु पर्ने हुन्छ । धेरै टाढा नजाऊँ, आमाको पाठेघरमा भ्रुणाकारमा जीवन उद्भव हुनुअघि सायद जीवन खण्डित थियो । अर्थात् हामी विभक्त अवस्थामा रहेका थियौँ, माताजीको डिम्वाशयमा डिम्ब बनेर, पिताजीको शुक्रकोषमा शुक्रकिटको रूपमा रहेर ।

मातापिताको एक मधुर समागममा जीवनको फूल फुल्यो । त्यो घडी शुक्रकिटले आफ्नो ठाउँ छोड्यो । आमाको डिम्बाशयबाट डिम्बले पनि ठाउँ छोड्यो । छोडाइको यो प्रथम खुड्किलो थियो सायद ।

    डिम्बमा स्पर्म समाहित भएको क्षण एक जीवन्त भ्रुणको अङ्कुरण हुन्छ । नौ महिनाको गर्भयात्रा छिचोलेर बच्चा धर्तीमा खस्छ । अर्थात् प्राकृतिक तवरबाटै बच्चाले आमाको भुँडी छोड्छ । यसलाई छोडाइको दोस्रो कोशेढुङ्गो मान्दा फरक पर्दैन । किनभने बच्चाले गर्भ छोड्नु एक महानतम घटना हो । कोखे यात्राबाट काखे यात्रामा पदार्पण चानचुने कुरा होइन ।

बच्चा आमाको कोखबाट काखमा ओर्लेको घडी परिवारमा अपूर्व खुशियाली छाउँछ । अनेकन सपनाका आँकुराहरु पलाउन थाल्छन् । शनैःशनैः उसको काखेयात्रा सुरु हुन्छ । आमाको काखमा वामे सर्दासर्दै एकदिन ऊ बाउको काँधमा चढ्ने हुन्छ ।

   आमाको काख त्याग्नु उसको जीवनको तेस्रो महानतम घटना हो । अर्थात् अब ऊ टुकुटुकु हिँड्ने हुन्छ । बाउको बूई चढेको दिन बच्चाले आमाको काख पनि छोड्दछ । 

  बाउको काँधको यात्रापनि त्यति लामो समय जाँदैन । काखबाट ओर्लेर आफ्नै खुट्टाको बलमा कुद्ने हुन्छ ऊ । यसरी बाउको काँध छोड्नु चौथो महानतम् घटना हो । 

कोख छोड्नु, काख छोड्नु, काँध छोड्नु प्राकृतिक तवरका अनमोल घटना हुन् । समय क्रममा हेर्दाहेर्दै त्यो दूधेबच्चो कैशोर्य या तारुण्यताको लालीमा हलक्क फक्रिन्छ । अनि प्रेयसी या पत्नीको अलिङ्गनमा वा तिनको बाहुपाशमा बेरिन पुग्छ । पाटी, पाठशाला, पाठ्यपुस्तकको अरण्य झाडी पनि छिचोल्दै जान्छ । पाठशालादेखि महाविद्यालयका कक्षा छोड्नु जीवनको पाँचौ महानतम घटना हुन् । 

सिकाइको क्रममा सुरुमा कमेरे पाटी छोड्छ । प्रारम्भिक पाठशाला छोड्छ । पढ्दै गयो भने विद्यालय, महाविद्यालय, विश्वविद्यालयका सत्रहरु छोड्दै छिचोल्दै जान्छ । 

   काहीँपनि अड्डा जमाएर स्थायी तवरले रहन उसलाई छुट छैन । त्यसपछि रोजीरोटीको गोलचक्करमा जागिरमा जोडिन्छ । अथवा कुनै न कुनै पेसा व्यवसाय अङ्गीकार गर्छ । त्यहाँपनि आफ्नो आयुको निश्चित अवधि गुजारेर सेवानिवृत्त हुनुपर्छ । अब उसलाई जागिरले पनि छोड्छ । व्यवसाय या नोकरीबाट अवकाश लिनु जीवनको छैटौँ महानतम् घटना हो ।

यसै क्रममा सांसारिक रीतमा साखुल्य भई बाँच्नका लागि उसले घरजम बसाउला । पत्नी, परिवार र बालबच्चाको सृष्टि गर्ला । कमाउला जमाउला घर बनाउला । तर, यी सबै उपक्रम एकदिन छोड्नैका लागि गरिएको हुन्छ । अघि पछिको कुरा न हो, कि त पत्नीलाई पतिले छोडिजानु पर्छ, कि पतिलाई पत्नीले छोड्नुपर्छ ।

   मुटुका टुक्रातुल्य बालबच्चा पनि छोड्नुपर्छ । सबै चिज छाडेर अनन्तमा लीन हुनु जीवनको सातौँ महानतम घटना हो । अर्थात् छोड्ने कुराको यो आखिरी सत्य हो । यस आखिरी सत्यलाई चाहेर या नचाहेर सबैले आत्मसात् गर्नैपर्छ ।

हाम्रा पूर्वजहरुले प्रत्येक सांसारिक रीतलाई सम्यक तवरबाट पुरा गर्नका लागि विभिन्न चरणको व्यवस्था गरेका थिए । मान्छेको उमेरमा आधारित चरण थिए । जीवनका नियमित प्रपञ्च सहज ढंगले छोड्न र आत्मसात् गर्ना यस्तो परिपाटीको रचना गरिएको थियो । जसलाई हामी वर्णाश्रम व्यवस्थाको रूपमा बुझ्न सक्छौँ । यसमा उमेर अनुसारको जीवनको तारतम्य मिलाइएको थियो । 

पढ्ने र ज्ञानसाधना गर्ने उमेरको चरण, विवाह र घरजम बसाउने उमेरको चरण, सबै सांसारिक व्यवहार र कारोबारबाट विमुक्ति या निवृत्तिको चरण, अन्तिममा मृत्युमा सहज प्रवेशका लागि वानप्रास्थी उमेरको चरण, यसरी मान्छेको जीवन आयुलाई चार चरणमा विभक्त गरिएको थियो । यो अति वैज्ञानिक व्यवस्था थियो ।

जीवनमा लिने र छोड्ने कुराको, लिप्त रहने र अलिप्त बस्ने कुराको अति सुन्दर चाँजोपाँजो मिलाइएको थियो । जीवनको ऊष्मा निख्रिएर वार्धक्यको शिखर उक्लिरहेको मनुष्यको लागि शरीरका तन्तु र अन्य अवयवहरूले छोड्दै गएपछि, नशापासाका जोड्नी खुकुलो बन्दै गएपछि रागद्वैष पनि छोडिदिनु पर्छ, विषयवासना पनि त्यागी दिनुपर्छ । लोभ, मोह, ईर्ष्या अहङ्कार पनि छोड्दै जानुपर्छ भन्ने धारणा थियो ।

हरेक किसिमका पकड छोड्ने, लालसा छोड्ने, विमुक्त भावदशामा रहने कुरा ज्यादै महत्वपूर्ण कुरा थियो । जीवनको आखिरी क्षणमा पुग्दा तमाम वृत्ति वासनालाई छोडेर मृत्युमा सहज रूपमा प्रवेश गर्ने कुरा प्राकृतिक र वैज्ञानिक कुरा हो । तर, दुःखको कुरा बुढ्यौलीको कारण रालसिँगान भैसक्ता पनि मान्छे पदको मोह छोड्दैन । धनको लोभ छोड्दैन । प्रतिष्ठाको मोह त्याग्दैन ।

   शरीर शिथिल र क्लान्त भइसक्यो, कामवासना छोड्दैन । काया रोगले जराजीर्ण बनाइसक्यो, लोभ र अहङ्कार छोड्दैन । चितामा चढ्ने बेला भइसक्यो, ईर्ष्या अभिमान त्याग्दैन । आजका मान्छेको दुःख नै यही कुरामा छ । मनका कलुषवृत्ति छोडेर शुद्ध चेतनामा बाँच्नु सायद जीवनको आठौँ महानतम् घटना हुन सक्छ । जीवनको यो आठौँ त्याग; त्यागको पनि त्याग हो । यो महात्यागको दिशामा अभिमुख हुनु नै सच्चा जीवनको लक्षण हो ।

  पिताजीका गहनतम् आप्तवाणीका रुमलिँदा रुमलिँदै त्यागको कथा पो हाल्न पुगेछु । तपाईंलाई झर्को लागिसक्यो होला, लेखनीलाई यहीँ नै विराम दिएँ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।