बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मालामा उनिएको तस्बिरले उब्जाएका उसका प्रश्नहरू

शनिबार, ०८ असोज २०७९, ०६ : ४०
शनिबार, ०८ असोज २०७९

हो, उ मलाई एकोहोरो टोलाएर हेरिरहेको हुन्छ । मलाई उकुसमुकुस हुन्छ । उ किन मलाई हेर्दैछ ? त्यो पनि एकोहोरो । म भाग्न खोज्छु तर कहाँ भागौँ ?  

नजिकै रहेको टेबलमा ओशोको किताब छ, ‘मै मृत्यु सिखाता हूँ’ । किताब हातमा लिएर म पाना पल्टाउन थाल्छु । ऊ मलाई नहेरोस् भन्ने चाहन्छु तर पनि ऊ एकोहोरो हेरिरहेको हुन्छ । म उसलाई सोध्न पनि सक्दिन कि किन मलाई यसरी हेरिरहेका छौं भनेर । कोही कोठामा आई दिए पनि हुन्थ्यो जस्तो हुन्छ । यतिकैमा शिलु कोठाभित्र प्रवेश गर्छिन् ।

मलाई देख्नेबित्तिकै उनी प्रश्न गर्छिन्, ‘ओहो, दिज्यू के छ हजुरको हालखबर ?’ भन्दै मेरो नजिक आएर बस्छिन् । अनि त्यो मलाई हेरिरहने महानुभावतिर फर्केर, “हजुर पनि आइ सक्नुभयो भिनाजु ?”भन्दै उनलाई पनि नमस्ते गर्छिन् । उ नमस्ते फर्काउँछ ।

शिलु प्रश्न तेस्र्याउँछिन्, ‘हजुरहरूको चिनाजान छैन कि क्या हो ? किन नबोली बस्नु भएको ?” 

म उसलाई चिन्दा पनि चिन्दिन । उमेरले शिलु मेरो बैनी हो । बैनी भन्दा पनि उ मेरी मन मिल्ने साथी हो । धेरै दिनदेखि उसले मलाई बोलाई रहेकी थिइ । आज फुर्सदको समय उसैकहाँ गएर बिताउने बिचारले शिलुकोमा आएकी थिएँ ।  

  ऊ भिनाजुतिर फर्किदै  परिचय दिन्छे, ‘यो मेरो दिदी  उषा हो । हामीबिच कुनै रगतको नाता छैन  । तर रगतको नाता भन्दा पनि  नजिक हृदयको नाता छ हामीबिच भिनाजु ।” 

अनि उ म तिर हेर्दै भिनाजुको परिचय दिन्छे, ‘दिदी वहाँ मेरो पारस भिनाजु हो । भर्खर  औषधी उपचार गर्न  अमेरिकाबाट आउनु भएको ।” 

अघिपछि उ पारस भिनाजुको कुरा गरी रहन्थी । केही वर्षअघि सुन्दर भविष्यको खोजीमा उ अमेरिका गएको थियो । सुन्दर भविष्य उसले पायो पाएन त्यो त थाहा हुन सकेन । तर उ एउटा रोगी, त्यो पनि मनोरोगी भएर फर्किदै छ भनेर थाहा पाएकी थिएँ शिलुबाट । 

अमेरिकाको व्यस्त जीवनमा उसले आफूलाई गुमाएको थियो । फलस्वरूप, मनोरोगको उपचार गर्न उ फर्किदै छ भनेर मैले शिलुबाटै सुन्दै आएकी थिएँ ।

म पारस भिनाजुलाई नमस्ते गर्छु । उहाँ पनि नमस्ते फर्काउनु हुन्छ । पारस भिनाजु म तिर हेर्दै प्रश्न गर्नुहुन्छ, ‘उषाजी, म पनि तपाईंलाइ “दिदी’ भन्छु है ?’ 

म ‘हुन्छ’ भन्दै टाउको हल्लाउँछु । परिचयपछि बल्ल मलाई उसंग कुरा गर्न सजिलो लाग्छ । 

‘हजुर अघिदेखि मलाई हेर्दै हुनुहुन्थ्यो है ?’ म प्रश्न गर्छु । 

 मेरो पुरै कुरा नटुङ्गिदै उ बोल्छ, “हैन हैन, म त्यो तपाईंले लगाएको मालामा अट्केको छु । को हुन् यिनी ? देउता त होईनन् ?”

म मालाको तस्विरतिर हेर्दै भन्छु, “यिनी ओशो हुन् ।”

“ओशो को हुन् ? किन हजुरले यो माला लगाउनु भयो ?”  (उ मालामा उनिएको ओशोको तस्बिर हेरिरहेको थियो ।  

म लामो स्वास लिएपछि भन्छु, “उनी एक विवादास्पद रहस्यदर्शी, गुरु र आध्यात्मिक शिक्षकको रूपमा चिनिन्छन् ।  उनको मुख्य शिक्षा हो– प्रेम र ध्यान । ओशोको सन्यास लिएपछि सन्यासीलाई यो माला लगाइन्छ ।”

 शायद उ मेरो छोटो उत्तरले उसलाई सन्तोष हुँदैन । यसैले पुनः प्रश्न गर्छ,, ‘तपाईंले भनेको खासै मैले बुझिन दिदी ।”

“ओशो धार्मिक रूढीवादीको  धेरै कठोर आलोचक हुनुहुन्थ्यो, त्यसैले वहाँ चाडै विवादित पनि हुनु भयो । सन् १९६० को दशकमा उहाँ पुरै भारतमा एक सार्वजनिक वक्ताको रूपमा चिनिनु भयो  । समाजवाद, महात्मा गान्धी र हिन्दू धार्मिक रूढीवादको प्रखर आलोचक बन्नु भयो । उहाँले मानव कामुकताको प्रति खुलेरै वकालत गर्नु भयो, त्यसकारण वहाँ भारत तथा पश्चिमी देशमा पनि आलोचनाको पात्र हुनु भयो । जबकि पछि उहाँको यो दृष्टिकोण अधिक स्वीकार्य पनि भयो ।” यसरी म ओशोको छोटो परिचय टुंग्याउँछु ।

“अनि उहाँको ध्यान सम्बन्धि शिक्षाको बारेमा खुलाउनु होस् न दिदी,’ उ अझ जिज्ञासा राख्छ ।

“पारसजी, हजुरको प्रश्नको उत्तर दिनु भन्दा पहिले म हजुरलाई एउटा  सानो प्रश्न सोध्न चाहन्छु । नराम्रो त मान्नु हुन्न नि हैन ?” म उसलाई सोध्छु । 

उ “हैन हैन, सोध्नुहोस् न दिदी” भन्दै  फिस्स हाँस्छ ।

“के हजुरले हजुरलाई चिन्नु भएको छ पारसजी ?” म प्रश्न तेर्स्याउँछु ।

“हजुरले शिलुसङ मेरो नाम थाहा पाइसक्नु भयो, नि हैन र ?” उ जवाफ दिन्छ ।  

अब हाँस्ने पालो मेरो हुन्छ । म हाँसेको देखेर उ अक्मकिन्छ । 

 “मेरो जवाफले चित्त बुझेन हो दिदी ?” उ प्रश्न गर्छ । 

“म हजुरलाई यससम्बन्धि एउटा सानो कथा भन्छु है ।” म उसलाई आश्वस्त पार्छु ।

उ “प्लीज दिदी, मलाई कथा सुन्न मनपर्छ ।” भन्छ । 

म उसको मन राख्दै भन्न सुरु गर्छुः

एक युवक आफ्नो जीवनको समस्या समाधान गर्न एक सन्तकहाँ पुग्यो । उसले ज्ञानी सन्तको सामु जिज्ञासा राख्यो, जीवनको सम्पूर्ण ज्ञान के हो ? 

ज्ञानी गुरु दुई पलको लागि मौन भए र झ्यालनजिक युवकलाई लिएर  आए ।  झ्यालबाट बाहिर हेर्न भने । झ्यालमा पारदर्शी सिसा थियो। बाहिर सडक सिसाबाट प्रष्टै देखिन्थ्यो। युवकले झ्यालबाट हेर्यो । सडकमा मानिसहरु हिँडिरहेका थिए । अनि सन्तले सोधे, “तिमीले झ्यालबाट के देख्यो ?” युवकले भन्यो,“सडकमा मानिसहरुको हिँडिरहेको देखें ।”

   सन्तले युवकलाई झ्यालबाट कोठामा फर्काए । भित्तामा झुण्डिएको ऐनामा नजिक लिएर गए । अनि ऐनामा हेर्न भने । युवकले ऐनामा हेर्यो । आफूलाई नै देख्यो । 

अनि सन्तले फेरी प्रश्न गरे, “के देख्यौ ?” 

युवकले भने, “ऐनामा मैले स्वयमलाई देखें ।” 

सन्तले युवकको जीवनको सम्पूर्ण समस्या समाधान गर्दै भने, “अब  तिमी मलाई सोध्न चाहन्छौ कि जीवनको सम्पूर्ण ज्ञान के हो ? यही हो कि सिसामा हेर्यो भने अरुलाई देख्छौँ तर ऐनामा हेरियो भने आफूलाई देख्छौँ । ज्ञान अरुलाई हेर्नको लागि हुन्छ । ध्यान आफूलाई हेर्नको लागि हुन्छ । ज्ञान मानिसको लागि सिसा जस्तो हो भने ध्यान ऐना जस्तो हो । ज्ञान ध्यानको पूर्व भूमिका हो । ध्यान उपसंहार हो, ध्यानमा जान ज्ञान उपयोगी हुन्छ । ज्ञानको पूर्णता तब मात्र हुन्छ, जब मानिस ध्यानको अनुसरण गर्दछन् । ध्यान आफूभित्रको चेतनामा फर्कनु हो ।” 

उ मलाई एकहोरो सुनिरहेको हुन्छ  म उसलाई ध्यानको विषयमा खुलासा गर्छु ।

‘दिदी, तपाईले कति मीठो बोल्नुभयो भयो । म अझ बुझ्न चाहन्छु कि ध्यान र ज्ञानमा के फरक छ ? कृपया मलाई सबिस्तार बताइदिनुहोस् न । ’। उ आफ्नो कौतूहल पोख्छ । 

मलाई धेरै बोल्न मनपर्दैन । तर, उसले सोधेको प्रश्नमा त्यो पनि एउटा मनोरोगीको प्रश्नमा मैले जवाफ दिनैपर्छ । 

म उसलाई प्रष्ट्याउँदै भन्छु, “बिना ध्यान ज्ञानमा पूर्णता हुँदैन । अनि बिना ज्ञानले ध्यानमा परिपक्वता आउँदैन । यसैले ध्यान र ज्ञान दुवै एकअर्काको परिपूरक हो । वर्तमान संसार ज्ञानप्रति अन्ततः जागरुक छ तर त्यो ज्ञान तबसम्म उपयोगी हुँदैन, जबसम्म हामी ध्यानको मार्गमा हिँड्दैनौ । किनकि ज्ञानबाट हामी अरुलाई चिन्न  सक्छौं, बुझ्न सक्छौं तर आफूलाई चिन्न सक्दैनौ । यदि आफूलाई चिन्न सकेनौं भने ज्ञानको उपदेयता के हुन्छ र ?’

“ज्ञानी व्यक्तित्वहरु भन्छन्, “मैले त संसार चिनेको छु, बुझेको छु, जानेको छु । के यो गलत हो त दिदी ?” मलाई प्रश्न गर्छ ऊ ।

“ज्ञानी व्यक्तित्वहरु भन्ने गर्नुहुन्छ, हामीले सबै चिनेका छौं, बुझेका छौं। हो, उहाँहरु भनिरहनु हुन्छ तर के सबै चिनेको, बुझेको व्यक्तिले आफूलाई पनि बुझ्न सक्छ र ? के उ “नाम” हो ? के उ “पद” हो ? पक्कै पनि होइन । यसैले आफूलाई चिन्नको लागि ध्यान सूत्रको पाटोबाट आफूभित्र पस्दै गयो भने, समस्त धर्मको सार अध्यात्मिक मार्गको सार ध्यान हो भनेर हामीलाई थाहा हुन्छ । जस्तो शरीरमा हाम्रो मुख्य भाग मस्तिष्क हो, रुखको जरा हो, त्यस्तै संसारमा सबै अध्यात्मिक धर्मको सार ध्यान हो ।

“ध्यानबाट आफूलाई चिन्ने व्यक्तिहरू को को हुन् दिदी ? कृपया यस्ता व्यक्तित्वहरूको नाम थाहा पाउँ न ।” उ मलाई पुनः प्रश्न गर्छ ।

मैले थाहा पाएका एक दुइटा नाम म भन्छु, “पारसनाथ, महावीर,  बुद्ध ,ओशो आदि । महावीरले सन्यास लिएपछि १२ वर्षसम्म केवल एउटै काम गरेका थिए, त्यो हो ध्यान । सन्यासी भएपछि उनी पूर्णतः एकान्तमा बसे । जंगलमा वन र उपवनमा गएर मौन भए । मौन भएपछि उनी साढे १२ वर्षसम्म चिन्तन मनन गर्दै ध्यानमा बसे । महावीरलाई जुन परिणाम साढे १२ बर्षमा प्राप्त भयो, बुद्धलाई केवल ६ वर्षमा प्राप्त भयो । महावीरभन्दा पहिला पारसनाथलाई अझ कम समयमा प्राप्त भएको थियो । ओशोलाई २१ वर्षको उमेरमै प्राप्त भएको थियो ।’

“दिदी हजुरको कुरा मलाई सुनिरहु जस्तो लाग्न थाल्यो । के  भएको हो यस्तो ? अनि  आफूलाई चिन्ने अवधि व्यक्तिपिच्छे किन फरक हुँदोरहेछ कसैलाई १२वर्ष, कसैलाई ६ वर्ष, किन दिदी ?” उनी निकै चाखलाग्दो प्रश्न गर्छ ।

“यो त व्यक्ति व्यक्तिमा निर्भर गर्दछ कि उसको पूर्वको कर्म कति सघन छ ?  जति सघन कर्म हुन्छ, सो मानिसलाई यो जुनीमा कर्म मेटाउन उत्ति नै समय लाग्छ । पूर्व कर्म कम छ भने त्यसलाई मेटाउन पनि कम समय लाग्छ । महावीर, बुद्ध, ओशो जति पनि अध्यात्मिक गुरु हुनुहुन्छ, उहाँहरु सबैले सन्यास लिएपछि ध्यानमा जोड दिनु भयो । आज प्रत्येक व्यक्ति बिरामी छ । इमान बिरामी छ । ध्यानले  हामीमा भएको बिरामीलाई हटाउन मद्दत गर्दछ ।’

“ध्यानको यति ठूलो महत्व हुँदा हुँदै पनि आजको संसार किन ध्यानप्रति उस्ताहित छैन त दिदी ?” उ सोधिहाल्छ ।

“हो, आजको वर्तमान युगमा ध्यानप्रति पटक्कै उत्साह छैन । पूजापाठमा समय निकालिन्छ तर ध्यानजस्तो गहन विषयमा समय निकालिदैन । संसारमा व्यक्तिमा ज्ञानको बढी मूल्य छ । कारण बाँच्नको लागि ज्ञान उपयोगी छ । ज्ञानबाट अरूको नजरमा आफू असल ठहरिन्छ, प्रतिष्ठित होइन्छ तर पनि आफूलाई चिनेको हुँदैन । आफूलाई नचिन्दैमा अरुले हामीलाई मूर्ख  भन्दैन । त्यसैले आज संसारमा ज्ञानको महत्व थपिँदै गएको छ । अनि ध्यानको महत्व बिलिन हुँदै जाँदैछ ।’ 

‘खास गरी जो मनुष्य मुक्तिको इच्छा राख्दछन्, मोक्षको धारणा राख्दछन्, परमात्मा तत्व प्राप्त गर्न जिज्ञासु छन्, संसारलाई भव भ्रमणको कारण मान्दछन् र भव भ्रमणबाट छुट्कारा पाउन चाहन्छन्, उनीहरूको लागि ध्यान प्रथम आधार हो । ध्यान धर्मको सार हो । ध्यान धर्मको साँचो हो । ध्यान अध्यात्मको अनुष्ठान हो ।’ म उसको जिज्ञासा मेटाउन कोसिस गर्छु ।

“संसारी मानिस कुनबेला ध्यानमा फर्किन चाहन्छ त दिदी ?” उसका जिज्ञासा थपिदै जान्छन् ।

“जब हामी बाहिरको ज्ञानबाट तृप्त हुन्छौ, बाहिरको दौडबाट थाक्छौ, त्यसबेला हामी आफूभित्र फर्कन चाहान्छौ । तर फर्कनको लागि पनि त बाटो चाहिन्छ । बाटो के हो त ? एउटै बाटो छ, त्यो हो ध्यान ।” म उसलाई छोटो उत्तर दिन्छु । शायद उसलाई मेरो जवाफ चित्त बुझेर होला, उ बिस्तारै टाउको हल्लाउँछ ।

बुद्धले सन्यास दीक्षा दिएपछि किन एकान्तमा पठाउनुहुन्थ्यो त दिदी ?”  उसको प्रश्नमा बुद्धको अध्ययन पाएर खुसी लाग्छ मलाई ।

“बुद्धले जब दीक्षा दिनुहुन्थ्यो, सन्यास दिनुहुन्थ्यो । सन्यास लिने बित्तिकै उहाँ शिष्यहरुलाई एकान्तमा जाउ, स्वयंलाई जान, स्वयंको कर्मको निर्लजा गर । पूर्ववत कर्मको क्षय गर र जब तिमीलाई लाग्नेछ कि तिमी आफ्नो कर्मबाट मुक्त भयौ, आत्मअनुभूतिको गौरवबाट सारपूर्ण भयौ । अनि समाजमा फर्केर आऊ । किनकि समाजमा फर्केर आउनु पर्छ, ज्ञानको धरातलमा पनि फर्कनुपर्छ। समाजको धरातलमा पनि फर्कनु पर्छ” भनेर भन्नुहुन्थ्यो ।

किनकि बुद्ध पनि फर्केर आउनु भयो। पतन्जली पनि जंगलमा गएर योग साधना गर्नुभयो। आत्म ज्ञानको प्राप्तिपछि समाजमा फर्केर आउनु भयो र वहाँले योगसूत्रादी लेख्नुभयो । तर पहिला स्वयम् आत्म अनुभूतिको धरातलमा जानुभयो ।” मेरो भनाईले उसको मुहारमा केही चमक आएको देखे ।

“अन्तमा सोध्न चाहन्छु, वास्तवमा ध्यान के हो त दिदी ?” उ पुनः प्रश्न गर्छ ।

  “ध्यान शब्दको अर्थ हो– डुब्नु, ध्यान शब्दको अर्थ हो– लाग्नु । ध्यान शब्दको अर्थ हो– एक लय हुनु । प्रश्न आउन सक्छ के मा एक लय हुने ? यदि एक विद्यार्थी पाठ्यपुस्तक पढिरहेको छ भने उ आफ्नो पाठ्यपुस्तकमा एक लय हुनुपर्छ । सफलताको आधार यही हो । यदि हामीले बाहिरी दुनियाँको आँखाबाट हेर्यौं भने ध्यानपूर्वक गरेको काम सफलताको कारण हुन्छ। यसैले ध्यान जरुरी छ। 

यदि हामीले ध्यानलाई अध्यात्मसँग जोड्यौ भने आत्मज्ञानको आधार हुन्छ । संसारिकसँग जोड्यौ भने सफलताको आधार बन्छ । यसैले आज ज्ञान जति महत्वपूर्ण छ, ध्यान त्यतिकै आवश्यक छ । मन, विचार र आत्मशुद्धीको लागि ध्यान आज अपरिहार्य भएको छ । आफूमा स्थिर हुनु ध्यान हो। आफ्नो चेतनामा फर्कनु ध्यान हो । ध्यान जीवन हो। यसको समयसँग कुनै सम्बन्ध हुँदैन । ध्यानमा समयको ख्याल हुँदैन । समयबोध नहुनु नै ध्यान हो ।’

म यसो उसलाई हेर्छु । उ आँखा चिम्लिएर मेरो कुरा सुनिरहेको हुन्छ । मैले बोल्न छोडेपछि उ आखा खोल्छ र मलाई भन्छ, ‘दिदी, हजुरले मलाई शान्ति दिनुभयो। ध्यान जस्तो गहन बिषयमा कति मीठोसँग मलाई सम्झाउनु भयो । म पनि अब ध्यान गर्छु ।’

मोवाइल अन गर्दै उ भन्छ, ‘दिदी, मलाई हजुरको नम्बर पाउँ त । हजुरको यो मालाबाट मैले जुन ज्ञान थाहा पाएँ, त्यसको लागि म यो मालालाई पनि हृदयदेखि नै नमन गर्छु ।’ 

उसको आँखा आँसुले भरिएको हुन्छ । ऊ भित्रको चेतना म सजिलैसंग बुझ्छु । आफ्नो नम्बर उसलाई दिन्छु । शिलु पनि हाम्रो कुरा बसेर सुनिरहेकी हुन्छे । ऊ पनि सागरको आँखाको आँसु देखेर खप्न सक्दिन । आँसु पुस्दै भन्छे, “उषा दिदी, हजुरले हामीलाई रुवाउनु भयो । सागर केही नबोली पल्लो कोठामा जान्छ। कोठामा सन्नाटा छाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप