‘वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउने काम भइरहेको छ’
वन तथा वातावरणमन्त्री प्रदीप यादवले वन्यजन्तु संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको ५० औँ स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस, २०७९ को अवसरमा आज कसरामा आयोजित कार्यक्रममा उनले वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौती रहेको भन्दै यसमा साथ र सहयोग समुदायको हुनुपर्ने बताए ।
उनले वन्यजन्तु वनमा र मानव समुदायमा रहनुपर्ने बताउँदै भने, “तपाईंहरूले वन्यजन्तुको संरक्षण गर्नुहोस् । तपाईंहरुको संरक्षण सरकारले गर्छ ।” समुदायका लागि जीविकोपार्जनका कार्यक्रम मन्त्रालयले गर्ने उनको भनाइ थियो ।
निकुञ्ज ऐन, २०२९ ले समस्या सिर्जना गरेको भन्दै उनले भने “यो ऐन मानिसको आवश्यकताअनुसार परिवर्तन हुन्छ ।” यस ऐनका कारण पनि मानव र जनावरबीच द्वन्द्व बढ्दै गएको उनले बताए ।
वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन सरकारले काम सुरु गरेको उनले बताए । वन्यजन्तु र मानव बीचको द्वन्द्व घटाउन नयाँ उपकरण जडान गरी वन्यजन्तु बस्तीमा पस्न रोक्ने तथा अन्य गतिविधि निकुञ्जले गर्ने उनको भनाइ थियो । भारतमा सफल परीक्षण भइसकेको एनाइडर प्रविधिको यहाँ पनि प्रयोग गर्न लागिएको उनले जानकारी दिए ।
उनले भने “भारतको झारखण्ड र उत्तर प्रदेशमा जनावर र मानवबीचको द्वन्द्व कम गर्न प्रयोग भएको उपकरण यहाँ पनि प्रयोग गर्ने तयारीमा छौँ ।” यसका लागि सरकारले रु दुई करोड बजेट विनियोजन गरेको उनले बताए । उनले थपे, “अहिले बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ ।” यसले जनावरलाई बस्ती पस्न रोक्न मद्दत पुग्ने उनले जानकारी दिए ।
वातावरणको संरक्षण गर्न नसक्दा अहिले जलवायु परिवर्तनको समस्या बढ्दै गएको उनको भनाइ थियो । उनले भने, “वातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर नेपालमा देखापर्न थालेको छ ।” जलवायु परिवर्तनको विषयमा विज्ञहरुसँग परामर्श गर्ने काम भइरहेको उनले बताए । उनले भने, “नेपालमा पनि ‘क्लाइमेट इमर्जेन्सी’ लगाउनुपर्ने समय आइसकेको छ । विज्ञहरुको राय आएपछि निर्णय लिन्छौँ ।”
वक्ताहरूले निकुञ्ज र समुदायबीच द्वन्द्व न्यूनीकरणका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताएका थिए । राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्दा निकुञ्ज र समुदायबीच दूरी कम हुन नसकेको उनीहरुको भनाइ थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जमा अहिले भएका गतिविधि र विगतका कामका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा जैविक विविधता संरक्षणमा सहयोग पुर्याउने, वन्यजन्तु संरक्षणमा काम गर्ने, संरक्षणका विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गरिएको थियो ।
निकुञ्जले ५० औँ स्थापना दिवस पारेर वर्षभरि विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ । निकुञ्जले प्रकाशन गरेको स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण र वृत्तचित्र प्रदर्शन गरिएको थियो । विसं २०३० मा स्थापना भएको यो नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । असोज ४ गते निकुञ्ज ५० औँ वर्षमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह