शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पुटिन किन दिइरहेछन् आणविक आक्रमणको धम्की ? रुससँग कति छन् आणविक हतियार ?

शुक्रबार, ०७ असोज २०७९, २१ : १९
शुक्रबार, ०७ असोज २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक परिचालनको आदेश दिने क्रममा आफ्नो देश र जनताको रक्षाका लागि ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने धम्की दिए । युक्रेन युद्ध सुरु भएयता रुसी उच्च नेताले पटक–पटक आणविक हतियारको प्रयोग हुनसक्ने चेतावनी दिइसकेका छन् । यही अन्तर्गत पुटिनको संकेत पनि आणविक आक्रमणमै थियो । 

बुधबारको टेलिभिजन सम्बोधनमा पुटिनले ‘पश्चिमी देशहरूले युक्रेनको सेनालाई हतियार दिएको र कीभलाई रुसमा आक्रमण गर्न प्रोत्साहित गरेको भन्दै’ आफूहरु हतियार प्रयोगका लागि बाध्य हुने बताए ।  ‘खेलाँची गरेको होइन । हामीलाई आणविक हतियार देखाएर ब्ल्याकमेल गर्ने प्रयास गर्नेहरुले हावाको दिशा उनीहरुतिरै फर्कन सक्छ भनेर पनि ख्याल गर्नुपर्छ,’ पुटिनले भने ।

 नौ मुलुकसँग छ आणविक अस्त्र

सन् २०२२ मा विश्वका नौ मुलुकसँग आणविक हतियार छन् । नौ मुलुकसँग गरेर अहिले विश्वमा १२,७०० भन्दा केही बढी आणविक अस्त्र छन् ।  नौ मध्ये रुस र अमेरिका विश्वको सबैभन्दा धेरै आणविक अस्त्र भएका मुलुक हुन् । ती मुलुकसँग मात्र हाल विश्वमा भएका कुल आणविक हतियारको ९० प्रतिशत हतियार छन् । 

त्यसबाहेक चीन, फ्रान्स, बेलायत, भारत, इजरायल र उत्तर कोरिया विश्वमा आणविक अस्त्र हुने मुलुक हुन् । 

रुससँग कति छ अस्त्र ? 
रुसी आणविक अस्त्रको कुरा गर्दा उसँग अनुमानित ५,९७७ आणविक वारहेड(मिसाइल, टर्पिडो वा अन्य हतियारमा जडान गरिएको अवस्था) छन् । तीमध्ये १५८८ तैनाथी अवस्थामा छन् । अर्थात यी अन्तरमहादेशीय मिसाइलसँग जोडेर विभिन्न आधार क्षेत्रमा राखिएको छ ।  यी हतियारहरू आवश्यक पर्दा परिचालन गर्न सकिन्छ । 

रुससँग रहेका लगभग आधा अर्थात २,८८९ वारहेडहरू भण्डारणमा छन् । अर्थात ती मिसाइल वा अन्य कुनै हतियारमा जोडिएका छैनन् । त्यसबाहेक बाँकी १५०० वारहेड भने समय सकिएर थन्काइएको छ ।

 रुसी आणविक अस्त्र
तत्कालीन सोभियत संघले अगस्ट २९, १९४९ मा आफ्नो पहिलो आणविक परीक्षण गरेको थियो । आरडीएस–१ कोड नाम राखेर भएको उक्त परीक्षण सोभियत संघको हिस्सा रहेको कजाकिस्तानस्थित सेमिपालाटिन्स्कमा भएको थियो ।

सन् १९४९ देखि १९९० बीचमा सोभियत संघले कुल ७१५ आणविक परीक्षणहरु गर्यो । सन् १९६१ मा सोभियत संघले विश्वमै हालसम्मकै ठूलो आणविक विस्फोटन गराएको थियो ।  जार बम नाम राखिएको उक्त बम नोभाया जेम्ल्यामा विस्फोट गराइएको थियो र त्यसबाट ५० मेगाटन उर्जा निस्किएको थियो, जुन हिरोसीमामा खसालेको आणविक बमभन्दा ३३०० गुणा बढी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप