बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुशासन र भ्रष्टाचारमुक्त कर्णाली निर्माण, हाम्रो अभियान’

शुक्रबार, ०७ असोज २०७९, १९ : ४८
शुक्रबार, ०७ असोज २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख भोला दाहालले ‘सुशासन र भ्रष्टाचारमुक्त कर्णाली प्रदेश निर्माण, हाम्रो अभियान’ अगाडि बढाइएको बताएका छन् ।

पछिल्लो समयमा विकास निर्माण कार्यमा बढ्दै गएको अनियमितता एवम् भ्रष्टचार न्यूनीकरण गरी सुशासन एवम् सदाचारयुक्त समाज निर्माण गर्ने मूल ध्येयले भ्रष्टाचारमुक्त कर्णाली प्रदेश निर्माणको अभियान थालिएको प्रमुख दाहालले बताएका हुन् । “कर्णालीको भूगोल आफैँमा अप्ठ्यारो हुँदा अख्तियारवाला निकाय सजिलै पुग्ने अवस्था छैन,” उनले भने, “जसले गर्दा विकास निर्माणको काम नगरी मिलाएर खाने प्रवृति बढेको छ ।”

प्रमुख दाहालले गत आव २०७८/०७९ मा वार्षिक १२ वटा मुद्दा विशेष अदालतमा गएकोमा चालु आव ०७९/०८० को दुई महिनामा ११ मुद्दा विशेष अदालतमा दर्ता भएको बताउनुभयो । उनले भने, “राज्यले लक्षित वर्गका लागि दिएको सामाजिक सुरक्षा भत्तासमेतमा भ्रष्टाचार हुनु दुर्भाग्य हो ।”

सार्वजनिक निकायबाट सेवा लिने क्रममा कुनै कर्मचारी र बिचौलियाले कुनै बहाना वा छलछाम गरी घुस मागेमा तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा सूचना दिन आग्रह गर्दै प्रदेशका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनमार्फत सन्देश प्रवाह गर्न थालिएको उनले बताए । प्रमुख दाहालका अनुसार यहाँका प्रत्येक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई एक/दुई घण्टा समय लिएर भ्रष्टाचार विरोधी सचेतनामूलक कक्षा दिन सुरु गरिएको छ ।

कार्यालयका सूचना अधिकारी भेषराज रिजालले सङ्घीय मन्त्रालयअन्तर्गत आएको बजेटमा स्थानीय तहमा शिक्षा, पूर्वाधार र सामाजिक सुरक्षाका कार्यक्रममा बढी अनियमितता भएको जनाए । “अहिले खासगरी उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार बढेको छ,” सूचना अधिकारी रिजालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप