शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसले यसरी तयार पार्दैछ घोषणापत्र

शुक्रबार, ०७ असोज २०७९, १७ : ३५
शुक्रबार, ०७ असोज २०७९

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र निर्माण प्रक्रिया थालेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र तयारी समितिले घोषणापत्र निर्माण गरिरहेको छ । पार्टीका ६ जना सहमहामन्त्री, सात जना केन्द्रीय सदस्य, विभिन्न क्षेत्र र वर्गका विज्ञ सम्मिलित समितिले घोषणापत्र तयार पार्दैछ ।

सहमहामन्त्री जीवन परियार संयोजकत्वको अध्ययन र विश्लेषण उपसमितिले पार्टीको स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्र अध्ययन गरिरहेको छ । यस्तै अर्थविद् डा. स्वर्णीम वाग्ले संयोजकत्वको उपसमितिले घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारिरहेको छ ।

कांग्रेसले सबै प्रदेशमा बेग्लाबेग्लै घोषणापत्र बनाउने तयारी थालेको छ । सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार र केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई प्रदेशगत समन्वयका लागि जिम्मेवारी दिइएको छ ।

प्रदेश १ मा उपाध्याय, मधेस प्रदेशमा आङ्देम्बे, बागमती प्रदेशमा यादव, गण्डकी प्रदेशमा पाण्डे, लुम्बिनी प्रदेशमा मन्सुर, कर्णाली प्रदेशमा जीवन परियार र सुदूरपश्चिम प्रदेशमा विश्वकर्माको समन्वयमा घोषणा तयारीको काम भइरहेको छ ।

पछिल्लो समय कांग्रेसमा सहमहामन्त्रीहरुको भूमिका बढेको छ । समानुपातिकमा सिफारिस उम्मेदवारको क्लस्टर अनुसारको सूची बनाउने जिम्मेवारी पनि सहमहामन्त्रीलाई नै थियो ।

‘म र मेरालागि तर समग्रमा देशका लागि’

कांग्रेसले छोटो समयमा व्यापक छलफलका साथ घोषणापत्र निर्माण गरिरहेको छ । महामन्त्री शर्माका अनुसार ‘म र मेरा लागि तर समग्रमा देशका लागि’ भन्ने युवा भावनाको लहरलाई घोषणापत्रको अन्तर्वस्तुमा समाहित गरिने छ ।

सस्तो लोकप्रियताको भ्रम नभइ बदलिएको समयको अपेक्षालाई सम्बोधन गर्ने गरी घोषणापत्र सार्वजनिक गरिने महामन्त्री शर्माले बताए । उनले भने, ‘जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता सहितको घोषणापत्र बन्छ ।’

महामन्त्री शर्माका अनुसार शिक्षाबाट वञ्चित, विद्यार्थीको ड्रप आउट, उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता लगायतका समस्या समाधान गर्ने विकल्पसहितको घोषणापत्र बन्ने छ । ‘यो अवधिमा हाम्रा कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा हामी व्यावहारिक घोषणापत्र निर्माण गर्नेछौं,’ शर्माले भने ।

घोषणापत्र लेख्न विभिन्न क्षेत्रका विज्ञ पनि खटिए

कांग्रेसले घोषणापत्र लेख्ने टीममा फरकफरक क्षेत्रका विज्ञ तथा जानकार व्यक्तिलाई समेटेको छ । महामन्त्री शर्मा संयोजकत्वको घोषणा तयारी समितिमा अर्थ, समाजशास्त्र, खेलकुद, साहित्य, मनोरञ्जन, महिला तथा बालबालिका लगायतका विभिन्न क्षेत्रका जानकारलाई सहभागी गराइएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. स्वार्णिम वाग्लेलाई घोषणापत्रको प्रारम्भिक मस्यौदा उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । उनी आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवारका आकांक्षी छन् । चितवनबाट उनको नाम सिफारिससमेत भएको छ ।

०६२÷६३ को जनआन्दोलनको समयमा श्रवण मुकारुङले लेखेको एउटा कविताले सडक आन्दोलन तताउन योगदान गरेको थियो । घोषणापत्रमा सडकको भावना प्रतिनिधित्व गर्न मुकारुङलाई पनि समेटिएको समितिका संयोजक शर्माले बताए । यस्तै ०७४ को निर्वाचनका लागि बनाइएको घोषणापत्रमा खेलकुद शब्दसमेत उल्लेख नगरेको कांग्रेसले यस पटक राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई पनि समिति सदस्य बनाएको छ । ‘नेपालको खेलकुद : पहिचान र उद्योग’ सन्दर्भमा नेपालको खेलकुद जगतका विषयलाई घोषणापत्रमा समावेश गराउन दासको भूमिका महत्वपूर्ण हुने शर्माको विश्वास छ ।

चलचित्र निर्देशक मीन भाम पनि कांग्रेसको घोषणापत्र तयारी समिति सदस्य बनेका छन् । कला र मनोरञ्जनका विषयलाई घोषणापत्रमा समेट्न भामलाई समितिको सदस्य बनाइएको छ । कर्णाली प्रदेशको मुगु निवासी भामको लेखन र निर्देशनमा बनेको ‘कालो पोथी’ फिल्म सन् २०१७ मा विश्व प्रसिद्ध पुरस्कार ओस्कारको मनोनयनमा परेको थियो ।

चितवनको खेती किसानीदेखि युरोपको युनिभर्सिटीसम्म बुझेका डा. सञ्जय महतो थारु पनि घोषणापत्र लेखनमा जुटेका छन् । चितवनको सौराहामा खेती किसानीमा संलग्न उनले राजनीतिक समाजशास्त्रमा विधावारिधी, तथ्याङ्क विश्लेषणका विज्ञता, युरोपको कोपनहेगन युनिभर्सिटीमा ग्लोबल डेभलपमेन्ट विषयमा फिल्ड रिसर्च कोअर्डिनेटरको कार्यसमेत गरेका थिए । उनले समितिमा समग्रमा तथ्याङ्कको तथा विषयगत रूपमा कृषि क्षेत्रको संयोजन गर्ने छन् ।

डायस्पोराको आवाज समेट्न कांग्रेसले दिपेश घिमिरेलाई घोषणापत्र तयारी समितिमा राखेको छ । अमेरिकाको बसाइ छोडेर नेपाल फर्किएका घिमिरे समाजशास्त्री समेत हुन्् । घिमिरे हाल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागमा प्राध्यापन गर्छन् ।

मधेसी महिलाको उत्थानमा कार्यरत डा. प्रीति मण्डलले मधेसी महिलाहरुको शिक्षा र जीवन विषयमा विद्यावारिधी गरेकी छन् । सिरहा घर भएकी मण्डलले मधेसी महिलाको समस्या र तिनको निराकरणको विषयलाई घोषणापत्रमा समावेश गर्नेछिन् । कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद रंगमती शाहीले कर्णालीको मुद्दाका सन्दर्भमा संयोजन गर्ने छिन् ।

पहिलोपटक मतदाता भएकाहरुको भावना घोषणापत्रमा प्रतिनिधित्वका लागि २२ वर्षीय विकल राईलाई कांग्रेसले स्थान दिएको छ । उनी एशोसिएशन अफ युथ अर्गनाइजेसन (आयोन) को केन्द्रीय अध्यक्ष समेत हन् ।

‘सामाजिक रुपान्तरणका लागि नवीन बहस’ को कार्यक्रम ‘ऐना’को रिसर्च हेड प्रकाश लामिछानेलाई घोषणापत्र समितिमा समेटिएको छ । सामाजिक विसंगतिको ‘रुट कज’ अध्ययन तथा अन्त्य गर्ने गरी घोषणापत्र बनाउन लामिछानेको योगदान रहने महामन्त्री शर्माले बताए ।

कांग्रेसले अपाङ्गता क्षेत्रको भौतिक र भावनात्मक प्रतिनिधित्व गराउन भोजराज श्रेष्ठलाई समितिमा राखेको छ । स्वास्थ्य क्षेत्रको प्रतिनिधिका रुपमा डा अञ्जनी झालाई घोषणापत्र समितिमा राखिएको छ । उनी विगतमा डा. गोविन्द केसीका तर्फबाट सरकारसँग वार्ता गर्ने टिममा थिइन् । उनी नेपाल मेडिकल काउन्सिलको पूर्व अध्यक्षसमेत हुन् ।

माइती नेपालकी प्रमुख तथा सीएनएन हिरो अनुराधा कोइराला पनि घोषणापत्र तयारी समितिको सदस्य बनेकी छन् । साथै, इन्जिनियर्स एशोसिएशनका अध्यक्ष डा. हरि दर्लामी मगर पनि समितिमा समेटिएका छन् । दर्लामी मगरले इन्जिनियरिङ क्षेत्रका विषयबस्तु घोषणापत्रमा राख्न सहयोग पु¥याउने महामन्त्री शर्माको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप