शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वप्रहरीमा नेता बन्ने रहर, सर्वेन्द्र खनालसहित जो अवकाशपछि राजनीतिमा लागे

शुक्रबार, ०७ असोज २०७९, १७ : २७
शुक्रबार, ०७ असोज २०७९

इन्स्पेक्टर हुँदादेखि नै प्रहरीमा ‘काबिल अफिसर’को छवि बनाएका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक (आईजीपी)बाट अवकाशपछि केही वर्ष मौन बसे । तर देशमा चुनावी माहोल तातिँदै गर्दा उनको मौनतापनि तोडिएको छ ।  अर्थात नेता बन्ने महत्वकांक्षाका साथ उनी बिहीबार नेकपा (एमाले)मा प्रवेश गरेका छन् । च्यासलस्थित एमाले मुख्यालयमा आयोजित समारोहका बीच उनी एमालेमा प्रवेश गरेका हुन् ।  

खनाल जस्तै करिब एक दर्जन पूर्वप्रहरी अधिकृत राजनीतिमा छन् । सर्वेन्द्र खनालका ब्याचमेट पूर्वडीआईजी रमेश खरेलले आफ्नै नेतृत्वमा राजनीतिक दल दर्ता गराएका छन् । नेपालको राजनीति विकृत भएको भन्दै त्यसलाई सुधार गर्न आफूले पार्टी खोलेको खरेलले बताउँदै आएका छन् । तत्कालीन मन्त्रिपरिषद्ले सर्वेन्द्रलाई आईजीपी नियुक्त गरेपछि खरेल राजीनामा दिएर राजनीतिमा सक्रिय भएका हुन् । पूर्व डीआईजी खरेलबारे पूर्वएआईजी राजेन्द्र सिंह भण्डारी भन्छन्,‘रमेश प्रवृत्तिको विरुद्धमा लडिरहेको छ, विकृति र विसंगतिविरुद्ध अभियान चलाएको छ ।’

खरेल नेतृत्वको पार्टीले २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पर्सामा एउटा गाउँपालिका अध्यक्षमा विजय हाँसिल गरेको थियो । मंसिर ४ मा हुने निर्वाचनमा खरेल चुनाव लड्ने तयारीमा छन् । प्रहरी नायव महानिरीक्षक पदबाट राजीनामा दिएर नवराज सिलवाल २०७४ मा एमालेमा प्रवेश गरे । पार्टी प्रवेशसँगै टिकट पाएका सिलवाल ललितपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । चुनावपछि उनी गृहमन्त्री बन्ने चर्चासमेत थियो ।  तर, सिलवालले सो अवसर चाहिँ पाएनन् । राजीनामा दिनुअघि उनले आईजीपी बन्नका लागि निकै संघर्ष गरेका थिए । 

पूर्व आईजीपी ध्रुव बहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष छन् भने पूर्व आईजीपी मोतिलाल बोहरा नेपाली कांग्रेसमा आवद्ध छन् । बोहरा अछामबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् । २०४९ मा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले रत्न शमशेर थापालाई हटाएर बोहरालाई आईजीपी बनाएका थिए । जबरालाई हटाउन त्यसबेला देउवाले प्रहरी नियमावली नै संसोधन गरेर ३० वर्षे सेवा अवधि लागु गरेका थिए । आफ्नो जीवनकालको सो गुनका कारण बोहरा निरन्तर कांग्रेसमा छन् ।

उच्च तहमा पुगेर अवकाश पाएका पूर्व प्रहरीले राजनीतिमा गएर ‘योगदान गर्छु’ भन्दा अन्यथा मान्न नहुने बताउँछन् पूर्व एआईजी भण्डारी । रातोपाटीसँग कुरा गर्दै भण्डारीले भने, ‘सफा हात कोही जान्छ भने त्यसमा अन्यथा लिन हुँदैन्।’

सकभर नेतृत्वको माथिल्लो तहमा गएका अधिकृत राजनीतिमा नलाग्नु उपयुक्त हुने भण्डारीको भनाइ छ । ‘अवकाशपछि राजनीतिमा लाग्दा उसमा हिजोदेखि नै राजनीतिक आबद्धता रहेछ भन्ने सन्देश फौजमा जान्छ’ उनले भने, ‘त्यो सन्देश आफैंमा राम्रो होइन् ।’

रविन्द्र प्रताप शाह युद्धकालमा प्रहरीको नेतृत्व तहमा थिए, आईजीपीसम्म भए । शान्तिप्रक्रिया शुरु भएपछि दोस्रो संविधानसभामा माओवादीका तर्फबाट उनी सांसद बने । १० वर्ष युद्ध गरेको दलबाट समानुपातिक तर्फबाट संविधानसभाको सदस्य बनेपछि प्रहरी जवान र अफिसरहरूले भने, ‘फिल्डमा हामीलाई लडाएर माओवादीसँग हाकिम मिल्दा रहेछन् ।’ सो म्यासेज आफैंमा राम्रो थिएन । यद्यपी शाहले संविधान लेखनमा राम्रो भूमिका खेलेको जानकारहरु बताउँछन् ।  

२०४६ को परिवर्तनपछि नेपाल प्रहरीमा १६ जना संगठन प्रमुख परिवर्तन भएका छन् । उनीहरुमध्ये ५ जनाले अवकाशपछि राजनीति रोजेका छन् । २०५७ मा आईजीपी बनेका प्रदीप शमशेर जबरा शरत सिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीमा आवद्ध थिए । दोस्रो संविधानसभामा रौतहटबाट चुनाव लडेका जबराले चुनाव जितेनन् । अहिले उनि निस्क्रिय छन् ।

जो मन्त्री भए

२०४६ पछि पूर्व प्रहरीहरु राजनीतिमा लाग्ने क्रम बढेपनि पञ्चायतकालमा पनि प्रहरी अधिकारीहरु राजनीतिमा लाग्ने गरेका थिए । २०२९ मा आईजीपी भएका खड्गजित बराल पनि अवकाशप्राप्त पछि राजनीतिमा लागे । बराल तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य बनेका थिए ।

२०३९ मा आईजीपी भएका डिबी लामा (दिलबहादुर) पछि नेपाली काँग्रेसको राजनीतिमा आवद्ध भए । २०५६ सालमा डिबीले रसुवाबाट चुनाव जितेर मन्त्रीसम्म भएका थिए । पूर्व डिआइजी गणेश केसीका अनुसार अनुसार लामा २०५३ को मध्यावधि चुनाव जितेर सामान्य प्रशासन सहायक मन्त्री भएका हुन् ।

पूर्व डीआईजी भक्तिनाथ माझी नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा छन् । विजय कुमार गच्छदारसँग निकट उनी अवकाशपछि पनि गच्छदारकै समूहमा छन् । पूर्व एसएसपी बिक्रम सिंह थापा कांग्रेसमा आवद्ध छन् । मंसिर ४ मा हुने निर्वाचनमा उनलाई स्थानीय पार्टी कमिटीले कपिलवस्तुको प्रदेशसभा क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ ।

अछाम घर भएका पूर्व एसएसपी  मानबहादुर रावल पनि राजनीतिमा छन् । सशस्त्र प्रहरीको एआईजीबाट अवकाश पाएका कृष्ण कुमार तामाङ तत्कालीन संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । तामाङ अहिले स्वतन्त्रबाट काठमाडौंमा चुनाव लड्ने तयारी गरिरहेका छन् । नेपाल प्रहरीबाट अवकाश पाएकी पूर्व डीआईजी पार्वती थापा तत्कालिन संघीय समाजवादी पार्टीमा प्रवेश गरेकी थिइन् । तर, अहिले उनि निस्क्रिय छिन् ।

किन आउँछन् राजनीतिमा ?

पूर्व सुरक्षाकर्मी  राजनीतिमा लाग्नुका पछाडि निश्चित कारण हुन्छन् । अवकाश पाएपछि पनि पहुँचमै रहन र पदमा हुँदा गरेका कमजोरीबाट जोगिन उनीहरुले राजनीतिलाई रोज्ने गरेका छन् । पूर्वआईजीपी मोतिलाल बोहरा यस्तो समयमा कांग्रेसमा छिरे, जतिबेला अख्तियारले उनको सम्पत्ति छानविन गरिरहेको थियो । उनीविरुद्ध अख्तियारमा दर्जनौ उजुरी थिए । २०५३ मा अच्युत कृष्ण खरेललाई हटाएर आइजीपी बनेका ध्रुव बहादुर प्रधान पनि अख्तियारको छानविनमा रहेकै बेलामा राजनीतिमा लागेका हुन् । प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तुमा पटकपटक चुनाव लडे तर, जितेनन् ।

पूर्व डीआईजी नवराज सिलवालविरुद्ध कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोप छ । २०७३ मा आइजीपी बन्न नसकेपछि राजीनामा दिएर उनी राजनीतिमा लागेका हुन् । आईजीपी विवादबारे मुद्दा फैसला हुँदा सर्वोच्च अदालतले उनीविरुद्ध किर्ते मुद्दा दर्ता गरेर कारवाही गर्न निर्देशन दिएको थियो । केपी ओली नेतृत्वको सरकारका महान्यायाधीवक्ता रमेश बडालले उनको मुद्दा ‘नचल्ने’ निर्णय गरेर टुंग्याएका छन् ।

पूर्व आईजीपी सर्वेन्द्र खनालमाथि २०७७ मा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेका आरोप छ । यादवलाई महेश बस्नेत र पूर्वमन्त्री किसान श्रेष्ठ सँगै गएर खनालले महोत्तरीबाट काठमाडौं ल्याए । तर, त्यसबारे कुनै जाहेरी दर्ता भएको छैन ।

२०७६ असारमा सर्लाहीको लालबन्दीमा प्रहरीले विप्लव समूहका नेता कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको पनि आरोप छ । आईजीपी खनालको आदेशमा उनको गैरन्यायिक हत्या गरिएको विप्लव नेतृत्वको नेकपाले दाबी गरेको छ । अदालतको आदेशपछि खनालविरुद्ध जाहेरी दर्ता भएको थियो ।

उच्च तहमा पुगेका प्रहरी अधिकृतले समाजको रोजाई र भोगाई बुझेको हुनाले राजनीतिमा गएर ‘योगदान गर्छु’ भन्दा अन्यथा नहुने दाबी गर्छन् पूर्व एआईजी भण्डारी  । रातोपाटीसँग कुरा गर्दै उनले भने,‘थप अवसरको खोजीमा राजनीतिमा लाग्ने नियत देखियो भने त्यो चाहिँ गलत हुन्छ ।’

हिजोका गल्ती ढाकछोप गर्न छहारी खोज्नु पनि गलत हुने बताउँछन् पूर्वएआईजी भण्डारी ।

जो निस्क्रिय छन्

ललितपुरको महालक्ष्मी नगरपालिका घर भएका पूर्व डीआईजी गणेश केसी अहिले निस्क्रिय छन् । कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चुनाव लडेर पराजित भएका केसी महालक्ष्मीको मेयर बन्न चाहन्थे । तर, गठबन्धन हुँदा माओवादीले मेयर पाउने भएपछि उनले आफूलाई कांग्रेसको राजनीतिबाट अलग गरेका छन् ।

‘दलभित्रको ब्यूरोक्रयाटिक मानसिकताले हामीलाई त्यहाँ टिक्न नदिने रहेछ,’ रातोपाटीसँग कुरा गर्दै पूर्वडीआईजी केसीले भने, ‘बरु, स्वतन्त्र बस्दा छुट्टै आनन्द ।’ उमेर छँदै अवकाश हुनुपर्ने भएकाले उर्जाशील समयमा राजनीतिबाट आफ्नो क्षेत्रमा केही योगदान गर्न सकिन्छ भन्ने सोचले पूर्वप्रहरीहरु राजनीतमा लाग्ने गरेको केसीले बताए । उनले भने,‘तर, कर्मचारीतन्त्र भन्दा पनि दलभित्रको ब्युरोक्रेसी जेलिएको हुने रहेछ ।’

कांग्रेसबाट चुनाव लड्न भनेर एसएसपीबाट राजीनामा दिएका गोविन्द शाहले स्थानीय निर्वाचनमा टिकट नै पाएनन् । कांग्रेसबाट धनुषाको विदेश नगरपालिकमा चुनाव लड्न खोजेका शाह अहिले निस्क्रिय छन् ।​ एआईजीबाट अवकाश पाएका गणेश राई र सशस्त्रको एआईजीबाट अवकाश पाएका ऋषवदेव भट्टराई बाबुराम भट्टराई नेतृत्वको दलमा प्रवेश गरेका थिए । तर, उनीहरु अहिले सक्रिय भूमिकामा छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप