बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा रुसलाई हतियार पठाएको आरोपको खण्डन

शुक्रबार, ०७ असोज २०७९, १६ : ४९
शुक्रबार, ०७ असोज २०७९

उत्तर कोरियाले युक्रेन युद्धका लागि रुसलाई हतियार आपूर्ति गरेको भन्ने अमेरिकी दावीको खण्डन गरेको छ । उसले यस्तो आरोप लगाएर अमेरिकाले आफ्नो छवि बिगार्ने प्रयास गरेको आरोप लगायो । बिहीबार कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले नाम उल्लेख नगरिएका एक रक्षा अधिकारीको वक्तव्य जारी गरेको थियो, जसमा अमेरिका र अन्य शत्रु पक्षले प्योङयाङ र मस्कोबीच ‘हतियारको कारोबार भएको अफवाह’ फैलाएको आरोप लगाएको छ । 

‘हामी उत्तर कोरिया विरोधी बयानबाजी नफैलाउन अमेरिकालाई कडा शब्दमा चेतावनी दिन्छौं । हामीले न पहिले कहिल्यै रुसलाई हातहतियार निर्यात ग¥र्यौं न त्यस्तो गर्ने योजना मै छौं,’ ती अधिकारीले भने । केही समयअघि अमेरिकी विदेश मन्त्रालयका उप–प्रवक्ता वेदान्त पटेलले पत्रकारसँगको कुराकानीमा ‘रुस युक्रेनमा प्रयोग गर्न उत्तर कोरियाबाट लाखौं रकेट र अन्य हतियार खरिद गर्ने प्रक्रियामा रहेको’ बताएका थिए । 

ह्वाइट हाउसले पछि पटेलको खरिदसम्बन्धी भनाईलाई संशोधन गर्दै ‘सम्भावित खरिद’ भनेको थियो । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले ‘खरिद सम्पन्न भएको कुनै सङ्केत नपाइएको’ स्पष्ट गरेका थिए ।  संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध अनुसार कुनै मुलुकले पनि उत्तर कोरियाली हतियार  निर्यात गर्न पाउँदैनन् । 

उत्तर कोरियाबाट हतियार आपूर्ति गर्न लागेको आरोप लागेलगतै रुसले उक्त आरोप अस्वीकार गर्दै अमेरिकालाई प्रमाण उपलब्ध गराउन माग गरेको छ । केसीएनएमा जारी वक्तव्यमा उत्तर कोरियाली अधिकारीले अमेरिकालाई ‘गैरजिम्मेदार टिप्पणी’ बन्द गर्न र ‘चुप लागेर बस्न’ भनेको छ । 

साथै वक्तव्यमा आफूले चाहेमा सैन्य उपकरण निर्यात र आयात गर्न सक्ने पनि बताइएको छ । प्योङयाङले पहिलेदेखि ‘अमेरिका र उसका मातहतका बल’ले ल्याउन लगाएको ‘गैरकानूनी’ संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्धलाई मान्यता नदिने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप