शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

अदालतको फैसलाको पूर्णपाठ : नायकले रियल लाइफमा पनि नायकीपन कायम गर्न सक्नुपर्छ

आफूप्रति आकर्षित हुँदैमा स्टारडमको गलत प्रयोग गर्नु हुँदैन
शुक्रबार, ०७ असोज २०७९, ०९ : ४६
शुक्रबार, ०७ असोज २०७९

नवलपुर जिल्ला अदालतले पल शाह प्रकरणमा आफ्नो फैसलामा स्टारडमको गलत प्रयोग पनि अपराध जस्तै भएको बताएको छ । बिहीबार जारी फैसलाको पूर्णपाठमा ‘आफूप्रति कोही नजिक हुन र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रुपले प्रयोग गर्नु हुँदैन’ भन्दै पल शाहले स्टारडमको गलत प्रयोग गरेको बताएको छ ।

गत भदौ २१ गते नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको कसुरमा पल शाह भनिने पूर्ण विक्रम शाहलाई सफाई दिँदै बाल यौन दुरुपयोगमा दोषी ठहर गरेका थिए । शाहले नाबालिकालाई जबरजस्ती करणी गरेको नभई अन्य यौनजन्य अस्वभाविक व्यवहार गरेको भन्दै बाल यौन दुरुपयोगमा दोषी ठहर गरेका थिए । न्यायाधीश आचार्यले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै शाहलाई २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना गर्नुका साथै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका थिए ।

फैसलामा बलात्कार ठहर गर्न प्रमाणको अभाव रहेको, न्यायालयले शंकाको भरमा मात्रै फैसला गर्न नसक्ने र पीडित भनिएकी बालिकाले आफूमाथि जबरजस्ती करणी नभएको, जाहेरवाला र पीडितले पनि आफैले पनि अरुको उक्साहटमा परी जाहेरी दिएको बकपत्र गरेको भन्दै अभियोगपत्रलाई मात्रै प्रमाणका रुपमा लिन नसकेको बताएको छ ।

फैसलाको ठहर खण्डमा स्वास्थ्य परीक्षणको क्रममा कन्याजाली च्यातिएको पाइएको भएपनि त्यो प्रतिवादीबाट जबरजस्ती करणी भएकै कारण च्यातिएको भन्ने पुष्टि हुन नसकेको र यौन सम्पर्कबाट मात्रै नभई साइकल चलाउँदा, भलिवल खेल्दा, रुख चढ्दा, दौडदा, उफ्रिदा पनि त्यस्तो हुनसक्ने डाक्टरको प्रतिवेदन आएको कारण अन्य कारणबाट पनि कन्याजाली च्यातिएको हुनसक्ने फैसलामा लेखिएको छ ।

फैसलामा लेखिएको छ, ‘‘जाहेरी दरखास्त परेपछि गरिएको पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा Hymen : Healed scratch with hymeneal injury at 7 & 5 O'clock position  भन्ने रहेको र निको भइसकेको पुरानो दाग त्यसमा रहेको भन्ने देखिन्छ । यस सम्बन्धमा पीडितको स्वास्थ्य जाँच परीक्षण गर्ने विशेषज्ञ चिकित्सकहरु डा. राम प्रसाद सापकोटा, डा. दिप्ती शर्मा र डा. सरिता जोशीलाई अदालतसमक्ष झिकाई विशेषज्ञहरुको बकपत्र गर्दा योनीको कन्याजालीको ७ र ५ O'clock मा निको भइसकेको पुरानो दाग रहेकोमा त्यसरी दाग देखिनुका धेरै कारणहरु हुन्छन् जस्तो साइकल चलाउँदा, रुख चढ्दा भलिबल फुटबल खेल्दा, दौडदा उफ्रदा, शारीरिक सम्पर्क गर्दा हस्तमैथुन गर्दा भनी लेखाई दिएको देखिन्छ ।’

न्यायाधीश यज्ञप्रसाद आचार्य

अडियो क्लिपलाई पूरै प्रमाणका रुपमा लिन सकिएन

फैसलामा अडियो क्लिपको विषयमा पनि उल्लेख गरिएको छ । ठहर खण्डको प्रकरण ४४ मा प्रतिवादी पल शाहले अडियो क्लिपमा रहेको आवाज आफ्नो रहेको भएपनि अन्य प्रसङ्गमा बोलिएको कुराहरु समेतलाई जोडी, इडिट गरी आफूविरुद्धको प्रमाणका रुपमा प्रयोग गरिएको कारण त्यसलाई प्रमाण मान्न नमिल्ने बताएको कुरासमेत उल्लेख छ ।

फैसलामा भनिएको छ, ‘प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले अनुसन्धानको क्रममा र अदालतसमक्ष आफूले करणी गरेको कुरा होइन भनी अभियोग दावीमा इन्कार रही बयान गरेपनि उक्त मितिमा वारदात स्थल भनिएको होटलमा आफू रहेको र सुटिङको क्रममा थाकेको कारण थोरै रक्सी सेवन गरेको भनी बयान गरेको, साथै मिसिलमा पेश गरिएको प्रतिवादी समेतको वार्तालाप रहेको अडियो क्लिपमा रहेको यौनजन्य कुराहरु समेत समेटिएको विषयमा बोलिएको आवाज आफ्नो हो तर अरु नै प्रसँगमा उक्त कुराहरु गरेको हुँ भनी आफ्नो आवाज रहेको कुरा स्वीकार गरी बयान गरेको देखिन्छ ।’

इजलासले मिसिल बाहिर गएर अनुमानको भरमा निर्णय गर्न मिल्दैन

पल शाहलाई बलात्कारको कसुरबाट सफाई दिने फैसलामा अदालतले करणी भयो कि भन्ने शंका भने गरेको देखिन्छ । यद्यपि आशंकाकै भरमा कोहीविरुद्ध हुने गरी निर्णय गर्न नमिल्ने पनि फैसलामा उल्लेख छ ।

फैसलामा भनिएको छ, ‘हाम्रो न्याय प्रणाली र हाल हामीले गरिरहेको कानूनी अभ्यास अभियोजनात्मक न्याय प्रणालीसँग नजिक रहेको हुँदा इजलासले मिसिल बाहिर गएर अनुमानको आधारमा प्रमाण नभएपनि यसो हुन सक्ला भनी अनुमानको भरमा निर्णय गर्ने होइन । फौजदारी न्यायका मूल्य र कानून एवं न्यायका मान्य सिद्धान्तमा रहेर नै निर्णयमा पुग्नुपर्ने हुन्छ । त्यसकारण अभियोजन पक्षले अभियोग दायर गरेपछि आफूले दायर गरेको अभियोगलाई शंकारहित तवरबाट पुष्टि गरेको हुनुपर्दछ । प्रतिवादीले अनुसन्धानको क्रमबाट नै कसूर गरेको कुरामा पूर्ण इन्कार रही बयान गरेको अवस्था छ । तर पीडितसँग कुराकानी भएको, मेसेज आदानप्रदान भएको र पेश भएको अडियो क्लिपमा भएको छलफल र त्यहाँ रहेको आवाज आफ्नो रहेको कुरा मात्र स्वीकार गरी अनुसन्धानको क्रममा बयान गरेको देखिन्छ भने अदालतसमक्षको बयानमा पूर्ण रुपमा इन्कारी रही बयान गरेको देखिन्छ ।’

मिडिया ट्रायललाई हेरेर निर्णयमा पुग्न मिल्दैन

फैसलामा न्यायाधीश यज्ञप्रसाद आचार्यले मिडिया ट्रायलका कारण अदालत र न्यायाधीशमाथि आइपर्ने दबावको विषय पनि उल्लेख गरेका छन् । सडकको आवाज वा मिडियामा आएका समाचारकै आधारमा अदालतले फैसला गर्न नमिल्ने भन्दै मिसिलमा रहेका तथ्य र प्रमाण नै सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । फैसलामा भनिएको छ, ‘मिसिल संलग्न माथी उल्लेखित आधार र प्रमाणहरुबाट प्रतिवादीले करणीको कसूर गरेको भनी अनुमान गर्न मिल्ने अवस्था देखिँदैन । अदालतले सडकमा उठाईएको आवाज एवम् प्रदर्शन र मिडियामा भएको ट्रायललाई हेरेर निर्णयमा पुग्ने होइन । अदालतमा पेश भएको कुनै पनि विवादको निर्णयमा पुग्नको लागि मिसिलमा पेश भएका तथ्य र प्रमाण नै निर्णयको लागि आवश्यक हुन्छ । अझ फौजदारी विवादको हकमा प्रतिवादी माथी लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गरिएको हुनु पर्दछ ।’

शाहलाई सफाई दिने ठहरखण्डको प्रकरण ५२ मा अनुमानको आधारमा करणी लिनु दिनु भयो कि भनी कसुर ठहर गर्न नमिल्ने बताइएको छ । फैसलामा लेखिएको छ, ‘मिसिल संलग्न प्रतिवादीको मौका र अदालतको बयान, पीडित स्वयंले जाहेरी व्यहोरा खण्डित हुने गरी अदालतमा उपस्थित भई गरेको बकपत्र, जाहेरवालाको आफ्नै जाहेरी व्यहोरा खण्डित हुने गरी अदालतसमक्ष उपस्थित भई गरेको बकपत्र, घटनाविवरण कागज गर्ने व्यक्तिहरु र मौकामा कागज गर्ने अन्य व्यक्तिहरुले मौकामा गरेको कागज र अदालतसमक्ष समेत उपस्थित भई गरेको बकपत्र समेतबाट यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले जवरजस्ती करणी गरेको भनी भन्न नसकेको अवस्थामा मिसिल भन्दा बाहिर गई अनुमानको आधारमा करणी लिनु दिनु भएको भनी तथ्य र मिसिलमा आधारित नभई प्रतिवादी उपर कसूर ठहर गर्न मिल्ने देखिएन ।’

त्यसैगरी ठहर खण्डको प्रकरण ५३ मा भनिएको छ, ‘पीडितको स्वास्थ्य जाँच परीक्षणबाट कन्याजाली च्यातिएको भनी उल्लेख भए पनि शारीरिक सम्पर्क वा करणीको कारणबाट नै कन्याजाली च्यातिएको हो भनी अनुमान गर्न समेत स्वयम् पीडितकै आफूले सानैबाट साईकल चलाउने र अरुलाई सिकाउने गरेको हुँ भनी अदालतसमक्ष आई गरेको बकपत्रबाट खण्डित हुन आएको हुँदा जबरजस्ती करणीको कसूर प्रतिवादीबाट भएको हो भन्ने अभियोगमा गरिएको दावी बाहेक अन्य वस्तुनिष्ठ प्रमाण कागजातबाट देखिन नआएकोले प्रतिवादीबाट अभियोगमा दावी गरेजस्तो पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५(क) उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसूर अपराध गरेको नदेखिँदा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ ।’

फैसलामा प्रतिवादी रहेका पल शाह र पीडित नाबालिकाबीच सामान्य व्यवसायिक सम्बन्ध मात्रै नरहेको भन्दै एसएमएस तथा अडियो क्लिपहरुको अध्ययन गर्दा उनीहरु प्रेमी प्रेमिकाको सम्बन्धमा रहेको जस्तो देखिएको बताइएको छ । तर उक्त सम्बन्ध पनि स्टारडमको आडमा कायम गरिएको आशय फैसलामा लेखिएको छ ।

फैसलामा भनिएको छ, ‘यसरी एउटा युवापुस्तामा राम्रो अभिनयको क्षमता देखाई पर्दाको जीवनमा नायक रही फिल्मी क्षेत्र र गीत संगीतको अभिनयको क्षेत्रमा स्थापित कलाकारले नाबालिकासँग कस्तो व्यवहार गर्नु पर्छ ? नाबालिक उमेरमा एउटा चर्चामा रहेको अभिनेता रहेको व्यक्तिसँग नजिक हुन र उसलाई चाहनु उसको गल्ती होईन । त्यसमा आफू स्टारडम हुँ भन्ने एउटा बयस्क उमेर पुगेको व्यक्ति आफैले पूर्ण रुपमा सोच विचार गरेर पर्दाको दुनियाँमा मात्र नायकीपन होइन आफ्नो वास्तविक दुनियाँमा पनि नायकीपन कायम गर्न सक्नु पर्छ । कानूनले नाबालिक मानेको कुरालाई उसको चञ्चलता र आनीबानीलाई हेरेर बयस्क उमेर हो भनी आफैले अनुमान गरी आफूप्रति कोही नजिक हुन र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफको क्रेज लाई वास्तविक जीवनमा गलत रुपले प्रयोग गर्न हुँदैन । यी प्रतिवादीबाट नाबालिका उपर अडियो संवादमा प्रयोग गरेका शब्द एवम् संवाद तथा अन्य एसएमएस लगायतका कुराकानीका गतिविधिसमेतलाई हेर्दा एउटी नाबालिका उपर यी प्रतिवादीले अभिभावकीय रुपले आफ्नो जिम्मवारी र कर्तव्य पुरा नगरी एउटा प्रेमीको रुपमा आफूलाई प्रस्तुत गरी नाबालिका उपर व्यवहार गरेको देखिन्छ ।’

बाल यौन दुरुपयोग ठहर गर्ने फैसलामा भनिएको छ, ‘... यी प्रतिवादीले पीडित नाबालिका उपर गरेको व्यवहार एवं अडियो क्लीपको संवाद समेतलाई हेर्दा मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(२) मा उल्लेख भएको ‘‘अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार’’ पीडित नाबालिका उपर यी प्रतिवादीले गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पुर्ण विक्रम शाहले मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (१) विपरीतको बाल यौन दुरुपयोगको कसूर अपराध गरेको ठहर्छ । अब प्रतिवादीलाई  बालयौन दुरुपयोगको कसूर अपराधमा के कति सजाय हुनुपर्ने हो भन्ने तर्फ विचार गर्दा कसूरको अवस्था र यी प्रतिवादीले आफूले गीत संगीत र फिल्मी क्षेत्रमा रहेर झन संवेदनशील बनेर बाल कलाकारहरुलाई संरक्षण गर्नुपर्नेमा आफै आफ्नो जिम्मेवारी र कर्तव्य भूलेर प्रेमीको रुपमा प्रस्तुत भई कसुर गरेको हुँदा निजलाई सोही संहिताको दफा २२५ (३) बमोजिम २ (दुई) वर्ष ६ (छ) महिना कैद सजाय र पच्चीस हजार रुपैया जरिवाना हुने ठहर्छ ।’

फैसलामा जाहेरवाला अर्थात् पीडित नाबालिकाका बुवाले आफ्नो अभिभावकीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै आगामी दिनमा अभिभावकीय कर्तव्य वहन गर्न सचेतसमेत गराइएको छ । फैसलामा भनिएको छ, ‘जाहेरवालाले उमेर नपुगेको आफ्नो नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा आफ्नो अभिभावकीय जिम्मेवारी पूरा नगरी एक्लै छोडेको, आफूले पूरा गर्नुपर्ने अभिभावकीय कर्तव्यबाट च्युत रहेको, आफूखुशी गायन र अभिनयमा एक्लै जान दिएको कारणबाट एउटा प्रतिभावान बाल कलाकारमाथि यौन दुव्र्यवहार सम्मको हिंसा पर्न गएको देखिँदा जाहेरवालालाई आगामी दिनहरुमा आफ्नो अभिभावकीय कर्तव्य वहन गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राखी निजको शिक्षादिक्षा लगायतका काममा उचित ध्यान दिनसमेत यसै फैसलाबाट सचेत गराइन्छ ।’

मिडिया ट्रायल नगर्न सञ्चारमाध्यमलाई सचेत

फैसलामा बालबालिका विरुद्धको कसुर अपराधलाई मिडियाले हल्कारुपमा लिई गोपनियता कायम राख्न नसकेको र विषयवस्तुको संवेदनशीलतालाई बेवास्ता गरिएको भन्दै सञ्चारमाध्यमलाई समेत सचेत गराइएको छ । फैसलामा भनिएको छ, ‘बालबालिका उपरको कसूर अपराधलाई हल्का रुपमा लिई गोपनियता कायम गर्नुपर्ने कसूर अपराधमा समेत मिडिया ट्रायल गर्ने, आफ्नो न्युजमा भ्यूज बढाउनको लागि विषयवस्तुको संवेदनशीलतालाई वेवास्ता गरी समाचार सम्प्रेषण गरी आफूखुसी सत्य तथ्य भन्दा बाहिर गई समाचारहरु बनाउँदा र सम्प्रेषण गर्दा यसले समाजमा एउटा नकारात्मक सन्देश प्रवाह हुन गएकोले सम्पूर्ण मिडिया क्षेत्रलाई समेत विषयवस्तुको संवेदनशीलतालाई विचार गरेर मात्रै वास्तविक समाचार सम्प्रेषण गर्न र नागरिकको सूचनाको हकलाई सम्मान गर्न सचेत गराईन्छ ।’

सञ्चारमाध्यमलाई सचेत गराइएको सम्बन्धमा फैसलाको जानकारी प्रेस काउन्सिल नेपाललाई समेत दिन भनिएको छ ।

फैसलाको पूर्णपाठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप