शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागद्वारा अर्थशास्त्र सम्मेलन आयोजना

शुक्रबार, ०७ असोज २०७९, ०७ : ११
शुक्रबार, ०७ असोज २०७९

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले अन्तर्राष्ट्रिय स्तरको अर्थशास्त्र सम्मेलन आयोजना गरेको छ । राजधानीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन (CEDECON's Annual International Conference Economics) अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट आयोजना गरेको हो । 

सम्मेलनमा नेपालसहित बंगलादेश, पाकिस्तान, भारतका गरी ६० भन्दा बढी अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारहरूको सहभागिता रहेको थियो । सम्मेलनमा प्यानल छलफल तथा ६ वटा समानान्तर प्रस्तुततिकरण राखिएको थियो । प्यानल छलफल र समानान्तर सत्रमार्फत् नेपाली, क्षेत्रीय तथा विश्व अर्थतन्त्रका विविध आयामका विषयमा छलफल भएको थियो । 

विभागले अबदेखि हरेक वर्षको असोज ४ देखि ६ गतेसम्म यस स्तरको सम्मेलन आयोजना गर्ने विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारीले जानकारी दिए । ६३ वर्षे इतिहास बोकेको अर्थशास्त्र केन्द्रीय विभाग विश्वविद्यालयको पुरानोमध्ये एक हो । ४ असोज २०१६ मा पहिलो पटक स्नाकोत्तर तहमा अर्थशास्त्र विषयको पढाई सुरु भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष अर्थशास्त्र दिवस मनाउन थालिएको प्रमुख अधिकारीले बताए ।

सम्मेलनबाट केन्द्रीय अर्थशास्त्र विभागको ऐतिहासिक उपलब्धि तथा लिगेसीलाई संस्थागत गरी तिनलाई निरन्तरता दिइनेछ । विभाग प्रमुख अधिकारीले देशको अर्थतन्त्र पहिचान तथा विश्लेषणमार्फत् भविष्यमा विभागलाई नेतृत्वदायी संस्था बनाउन सम्मेलनले दिशानिर्देश गर्ने बताए । 

‘विगत सम्झँदै, वर्तमानलाई उत्सवका रुपमा लिँदै तथा भविष्य तय गर्दै विभागलाई अर्थशास्त्र र देशको अर्थतन्त्रमा नयाँ धारणा अघि सार्ने निकायका रूपमा स्थापित गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ अधिकारीले भने । 

सम्मेलनले नयाँ खोजकर्ता तथा अर्थतन्त्रका अध्येतालाई पनि उत्तिकै स्थान र पहिचान दिएको अधिकारीले बताए । यस वर्षको सम्मेलनमा विभाग स्थापनाकालदेखि प्राध्यापक पेशामा रहेका तारा चौधरीको योगदानको चर्चा गरिएको थियो । चौधरीले विभागमा ४३ वर्ष स्वयंसेवी भुमिका निर्वाह गरेर काम गरेका थिए । 

सन् १९६० मा कोलम्बो प्लानको एकेडेमिक एक्स्चेन्ज प्रोग्राम अन्तर्गत नेपाल आएका चौधरीले गणित, तथ्यांकशास्त्र र अर्थशास्त्रमा स्नाकोत्तर पुरा गरेका थिए ।  सम्मेलनमा अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाललाई कसरी स्तरोन्नतिका गर्ने भन्ने विषय समेत समावेश थियो ।

त्यस्तै २१ औं शताब्दीमा दक्षिण एशियाको क्षेत्रीय इन्टिग्रेसनमा प्यानल छलफल आयोजना गरिएको थियो । यस्तै, म्याक्रोइकोनोमिक्स, डेभलपमेन्ट इकोनोमिक्स, श्रम अर्थतन्त्र र बजार, कृषि र वातावरण अर्थशास्त्र, कोरोना र अर्थतन्त्र तथा बैंकिङ र वित्त विषयमा प्राविधिक कार्यपत्र प्रस्तुत भइ त्यसमाथि छलफल भएको थियो ।

सम्मेलनको उद्घाटन समारोहमा त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालय तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्रको चर्चा गरेका थिए । त्रिविकी डीन प्रा. डा. कुशुम शाक्यले अर्थशास्त्र विभागको विद्यमान गतिविधिबारे चर्चा गरेका थिए । यस्तै समापन समारोहमा विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषालले समापन मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप