शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकमाथि चौतर्फी प्रश्न : संकटको बेलामा व्याजदर किन बढाएको ?

ब्याजदर वृद्धिप्रति राष्ट्र बैंक पनि असन्तुष्ट
शुक्रबार, ०७ असोज २०७९, २२ : ३८
शुक्रबार, ०७ असोज २०७९

वाणिज्य बैंकहरुले असोज महिनाका लागि आफूखुशी ब्याजदर बढाएपछि यतिखेर चौतर्फी विरोध भएको छ । आर्थिक संकटका कारण अन्य व्यापार व्यवसाय तथा उत्पादनका क्षेत्र प्रभावित भइरहेका बेला थप समस्या ल्याउने गरी बैंकहरुले ब्याजदर वृद्धि गरेको भन्दै विरोध भएको हो । 

संकटको मौकामा बैंकहरुले आफ्नो नाफालाई मात्रै ध्यान दिएर अन्य क्षेत्रप्रति गैरजिम्मेवार बनेको आरोप उद्योगी व्यवसायीले लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले पनि बैंकको ब्याजदर वृद्धिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

‘हामी यस्तो देशमा छौं कि, जहाँ बसिबसी बैंकमा पैसा राखेर १२–१३ प्रतिशत नाफा खान पाउँछौं, यस्तो भए, किन उत्पादनमा जाने ? किन रिस्क लिने ? ब्याजदर वृद्धिले कुनैपनि देशको अर्थतन्त्र माथि जाँदैन, यसले प्रगति हुँदैन,’ बिहीबार काठमाडौंमा आयोजित नाडा अटोमोबाइल्स एसोसिएसनको नाडा ईभी अटोशोलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने ।

अर्थमन्त्री शर्माले बृद्धिका विषयमा सरोकारवालासँग छलफल गरेर एउटा निष्कर्षमा पुग्न लागिएको पनि जानकारी दिए । बैंक ब्याजदरको विषयमा सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु समेतको उपस्थितिमा छलफल गर्नेगरी आफुले अर्थसचिवलाई निर्देशन दिइसकेको उनले बताए ।

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकटकै बीच बैंकहरुले नाफा खोजेको आरोप लगाए । 

‘हामीले २०७२ सालको महाभूकम्प पनि भोग्यौं, त्यसपछिको नाकाबन्दी पनि भोग्यौं तर, अहिलेको जस्तो आर्थिकमन्दी त्यो बेलापनि भोगेका थिएनौं, म आफै व्यापार व्यवसायमा लागेको झण्डै २८–३० वर्ष भयो तर, यस्तो कठिन समय यसअघि कहिल्यैं भोग्नुपरेको थिएन,’ अध्यक्ष गोल्छाले भने ।

यस्तो प्रतिकुल समयमा पनि बैंकहरुले नाफालाई केन्द्रमा राखेर अन्य उद्यम व्यवसायलाई संकटमा पार्न खोजेको उनको आरोप छ । ‘व्यापार छैन, पैसा छैन, लगानीको वातावरण छैन, आखिर के भइरहेको छ ? झन् यस्तो अवस्थामा थप आर्थिक संकट निम्त्याउने गरी बैंकहरुले किन ब्याजदर बढाउँदैछन् ?’ अध्यक्ष गोल्छाले प्रश्न गरे । 

अहिलेको विकराल समस्या कुनै एक पक्षको गल्तीको कारण नआएको भन्दै अध्यक्ष गोल्छाले यसको बोझ पनि सबै मिलेर पार लगाउनुपर्ने बताए । तर, संकटकै बीच मै मात्र कमाउछु भनेजसरी बैंकहरु लाग्न नहुने उनको भनाइ छ । 

बुधबार मात्र उद्योग वाणिज्य महासंघले आफ्नो आधिकारिक धारणा व्यक्त गर्दै बैंकहरुले बढाएको व्याजदर तत्काल फिर्ता लिनुपर्ने माग राखेको थियो । ब्याजदर वृद्धिले साना तथा लघु घरले उद्योगहरुलाई मात्र नभएर यसले समग्र अर्थतन्त्रलाई नै तहस नहस बनाउने भएकोले बेलैमा सचेत हुनुपर्ने महासंघको धारणा थियो ।

बैंकहरुले असोज महिनाको लागि भन्दै पुरानो व्याजदरमा १० प्रतिशतले बढाएका छन् । निक्षेपमा बढाइएको १० प्रतिशतको असरका कारण कर्जाको व्याजदर सोभन्दा पनि बढी हुने उद्योगीहरुको भनाई छ ।

बैंकहरुले यसअघिको भद्र सहमति तोड्दै असोज महिनाका लागि आफुखुशी १० प्रतिशतले ब्याजदर वृद्धि गरेका छन् । योसँगै बैंकको ब्याजदर निक्षेपमा १३.१३ प्रतिशत पुगेको छ भने कर्जातर्फको ब्याजर बढेर १८ प्रतिशतसम्म पुगिसकेको छ । यसले लगानीको वातावरण विगारेको भन्दै उद्योगी व्यवसायीले विरोध गरिरहेका छन् । 

राष्ट्र बैंक पनि असन्तुष्ट

अहिलेको आर्थिक संकटको समयमा बैंकहरुले ब्याजदर वृद्धि गर्नु उचित नभएको नियामक निकाय नेपाल राष्ट्र बैंकको धारण छ । तरलता अभावलाई देखाएर बैंकहरुले असोज महिनाका लागि १० प्रशितले ब्याजदर वृद्धि गरेपनि यसले समस्या समाधान गर्नुको साटो समस्या बढ्ने डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।

‘ब्याजदर वृद्धि गर्नु ठीक थियो कि थिएन भन्ने विषय एउटा होला, जे भयो सो राम्रो भएन भन्ने लागेको छ,’ डेपुटी गभर्नर मिश्रले रातोपाटीसँग भने । 

बजारको अवस्था हेरेर ब्याजदर निर्धारण हुनुपर्नेमा केन्द्रिकृत सोचका साथ मात्र यसलाई हेरिएको उनको भनाइ छ । यद्यपि, अर्थमन्त्री शर्माले नै ब्याजदरको विषयमा छलफल गर्ने बताइसकेको अवस्थामा अब छलफलबाटै निकास खोजिने उनले बताए । अर्थमन्त्री शर्माले अबको एक दुईदिन भित्रै सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई बोलाएर ब्याजदरको विषयमा छलफलका आधारमा निचोडमा पुग्ने बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप