बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सहजपुर–बोगटान–दिपायल सडक कालोपत्रे हुँदै

बिहीबार, ०६ असोज २०७९, २२ : ०२
बिहीबार, ०६ असोज २०७९

सहजपुर–बीपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु भएको ३५ वर्षपछि कालोपत्रे थालिएको छ । उक्त सडक कैलालीको चुरे गाउँपालिकाको सहजपुरबाट डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, केआई सिंह गाउँपालिका हुँदै दिपायल सिलगढी नागरपालिकाको राजपुरसम्म जोड्ने छ ।

 एक्जिम बैंक अफ इण्डियाको ऋण सहयोगमा पिआरएल–कुमार जेभीसँग  दुई अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएको उक्त सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम भइरहेको सहजपुर बोगटान  दिपायल महेन्द्र राजमार्ग गुलरीया सडक आयोजनाले जनाएको छ ।

सहजपुर–बोगटान–दिपायल सडक हालसम्म १९ किलोमिटर कालोपत्रे भएको र ३४ किलोमिटर ग्रावेल (सव वेश) भइसकेको योजना सुपरभिजन कन्सलटेण्टका प्रमुख पुष्पराज भट्टले जानकारी दिए। सहजपुरबाट डोटीको बडीकेदार गाउँपालिका–४ काउले बजारसम्म ४५ किलोमिटर पर्खाल र नाली निर्माण भएसँगै बाँकी १.५ किलोमिटर चट्टानका कारण दोहोरो कटिङ बाँकी रहेकोमा यो सडक आठ मिटर पिच र नालसहित ११ मिटर फराकिलो बन्ने भट्टले बताए । सडक कालोपत्रे गर्दा धेरै समस्या देखिएको पिआरएल कुमार जेभी निर्माण कम्पनीका कन्ट्रयाक्ट मेनेजर तेजराज भट्टले बताए । 

“करिब साढे दुई वर्षसम्म सडक क्षेत्रका रुख कटान आदेशमा ढिलाइ, कोभिड महामरी, घरटहरा हटाउनमा ढिलाइ र पहिरो रोकथाम गर्न र थप भएको भौतिक संरचनामा रुख कटानको आदेश नै दिइएको थिएन”, भट्टले भने, “ अहिले रुख काट्ने काम पूरा भइसकेको र घरटहरा हटाउने काम भइ सकेको छ, काम अब तीव्र गतिमा अगाडि बढिरहेको छ ।” बमौसमी वर्षाका कारण पनि काममा ढिलाइ भइरहेको उनले बताए । कम्पनीले तोकिएकै मितिमा काम सम्पन्न गर्ने पनि बताए । 

विसं २०७५ फागुन ७ गते डोटीको बीपीनगरमा सो सडकखण्ड  तीन वर्षभित्र कालोपत्रे गर्ने भनी शिलान्यास भएको थियो । दोस्रोपटक म्याद थप्दा विभिन्न कारण काम हुन नसके पनि अब तेस्रो पटक म्याद थपका लागि सिफारिस भई २०८० जेठ मसान्तसम्म सक्ने गरी म्याद थप भएको निमार्ण कम्पनीले जनाएको छ ।

सो सडक स्तरोन्नतिसहित कालोपत्रे छिटो सम्पन्न भएमा जिल्लाको विकासका लागि महत्वपूर्ण रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताए । उनले डोटीका दक्षिण भेगका नागरिकले वर्षैदेखि भोग्दै आएको समस्या समाधान हुने बताए । वर्षौदेखि अलपत्र परेको सडक कालोपत्रे सुरु भएपछि आतजावतमा सहजै हुने बडीकेदार गाउँपालिका स्थानीय सुरेश बोहराले बताए । उनले मुख्य सडक पिच भएसँगै यस भेगका  नागरिकले वर्षौदेखि भोग्दै आएको समस्या समाधन हुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप