वन मन्त्री यादवको निर्वाचन क्षेत्रमा एकैदिन ५ वटा योजना शिलान्यास
निर्वाचन मिति नजिकिँदै जाँदा मन्त्री तथा सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न योजना उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी हुन भ्याई–नभ्याई छ । यसै क्रममा बिहीबार बिहान ८ बजे सिमरा विमानस्थल आइपुगेका वन तथा वातावरण मन्त्री प्रदीप यादवले दिउँसो २ बजे काठमाडौं फर्कनु अघि ५ वटा योजना शिलान्यास गर्न भ्याएका छन् ।
वनमन्त्री यादवले आफ्नो निर्वाचन क्षेत्र (पर्सा क्षेत्र नं १) मा करिव १ अर्बको लगानीमा बन्ने पर्सा प्राणी उद्यान (चिडियाखाना) शिलान्यास गरेका छन् । मधेस प्रदेशकै मात्रै नभएर देशकै नमुना खुला चिडियाखाना बन्ने मन्त्री यादवले बताए । चिडियाखानासँगै मन्त्री यादवले वीरगञ्ज महानगरको वडा नम्बर ३१ र ३० हुँदै वडा नम्बर २२ जाने मिलनचोक–लाल पर्सा–ड्राईपोर्ट जोड्ने सडक, महानगरपालिकाको वडा नम्बर ३१ कै ईस्लामपुर सडकखण्ड, वडा नम्बर २२ को ड्राईपोर्ट रोडदेखि वडाध्यक्ष दुर्गा महतोको घरसम्म पुग्ने सडक ढलान र नाला निर्माणको पनि शिलान्यास गरेका छन् ।
वनमन्त्री यादवले बिहीबार नै वीरगञ्ज महानगर वडा नं ३१ को कोनिया गाउँमा निर्माण सम्पन्न भएको सडक ढलान र नालाको उद्घाटन पनि गरे । उनले प्रसौनी गाउँपालिकामा एउटा सडक स्तरोन्नतीको पनि शिलान्यास गर्न भ्याए । शिलान्यास भएका योजनाहरु शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार र वन तथा वातावरण मन्त्रालयको कार्यक्रम अन्तर्गत रहेको मन्त्री यादवले जनाए । मन्त्री यादवले शिलान्यास र उद्घाटन कार्यक्रम चुनाव केन्द्रित नभएको दावीसमेत गरेका छन् । ‘यो बजेट त आजको होइन, जेठ १५ गते बजेट भाषणमा आएको कार्यक्रम हो, कार्यान्वयन अहिले भएको मात्रै हो,’ सिमरा विमानस्थलमा रातोपाटीसँगको कुराकानीमा मन्त्री यादवले भने, ‘संयोग मात्रै चुनावको बेला परेको हो, बिचमा कोरोनाको कारणले विकास निर्माणको काम रोकिएको थियो । हामीले तिनलाई अहिले सुरु गरेका छौं ।’
निर्वाचनको मुखमा तामझामका साथ चिडियाखाना शिलान्यास
वन तथा वातावरण मन्त्री यादवले करिव १ अर्ब लगानीमा वीरगञ्ज महानगरको वडा नं ३२ स्थित सवैया साझेदारी वनको ५० हेक्टर जग्गामा बन्ने खुला चिडियाखानाको शिलान्यास गरे । पर्सा क्षेत्र नं १ का प्रदेशसभा सदस्य, वन तथा भूसंरक्षण विभागका महानिर्देशक, प्रकृति संरक्षण कोषका प्रमुख, वीरगञ्ज महानगर, जीतपुर सिमरा उपमहानगर, पर्सागढी नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधि, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, बारा रु पर्साका डिभिजन वन अधिकृतसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा तामझामका साथ मन्त्री यादवले चिडियाखाना शिलान्यास गरेका हुन् ।
चिडियाखाना निर्माणका लागि बहुवर्षीय योजना अन्तर्गत तत्काल टेन्डर प्रक्रियामा जाने मन्त्री यादवले जनाए । चालु आर्थिक वर्षका लागि करिव १० करोड बजेट छुट्याइएको पनि उनले जानकारी दिए । उनले देशभरका सातै वटै प्रदेशमा चिडियाखाना निर्माण गर्ने पनि बताए । वन तथा भूसंरक्षण विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले चिडियाखाना निर्माणका लागि राजनीतिक तहबाट निर्णय भइसकेकाले अब चिडियाखानाको संरचना, जीवजन्तुको जोहो तथा त्यसको व्यवस्थापन र पर्यटक प्रवर्द्धन गर्ने काम वन्यजन्तु विभाग र प्रकृति संरक्षण कोषको काँधमा आएको बताए ।
‘हामीहरुले यसलाई खुला चिडियाखानाको रुपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा अहिलेसम्म सदर चिडियाखाना ५ हेक्टरमा मात्रै सीमित थियो, अब १० गुणा ठुलो अर्थात् ५० हेक्टरमा खुला चिडियाखाना निर्माणको तयारीमा हामी जुटेका छौं ।’ खुला चिडियाखानामा जनावरहरू खुला हुने र मानिसले कैदी शैलीमा जनावरहरू हेर्न सक्ने जनाइएको छ । चिडियाखानामा सबैखाले वन्यजन्तुहरुको संरक्षण र व्यवस्थापन गर्ने विभागका महानिर्देशक त्रिपाठीले जनाए । चिडियाखाना स्थापना गर्दा वन्यजन्तुको उद्धार केन्द्र, वन्यजन्तु प्रजनन् केन्द्र, वन्यजन्तु अस्पतालका लागि पूर्वाधार तथा जनावरबाट सर्ने रोगको उचित रोकथाम, पर्यटक व्यवस्थापन तथा विपद् नक्साङ्कन समेतलाई ध्यानमा राखिने विभागले जनाएको छ ।