शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतको अर्को मन्दिर बाहिर हिन्दू–मुस्लिमबीच तनाव सिर्जना

बिहीबार, ०६ असोज २०७९, १९ : १४
बिहीबार, ०६ असोज २०७९

बेलायतको लेस्टर सहरमा हिन्दू र मुस्लिमबीच तनावको घटना बाहिरिएपछि अहिले अर्को सहर बर्मिङ्घम पनि त्यस्तै तनाव देखिएको छ । बर्मिङ्घमको स्मेथविक क्षेत्रमा रहेको दुर्गा मन्दिर र सामुदायिक केन्द्रबाहिर मुस्लिम समुदायका युवाहरुले विरोध प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको हो । 

मंगलबार साँझ भारतकी साध्वी ऋतम्भराको पूर्वनिर्धारित कार्यक्रमको विरोध गर्न दुर्गा मन्दिर बाहिर दुई सयभन्दा बढी मानिस भेला भएका थिए । सन् १९९० को दशकमा अयोध्यास्थित बाबरी मस्जिद भत्काउनमा साध्वी ऋतम्भराको भूमिका रहेको आरोप प्रदर्शनकारीले लगाएका थिए । त्यसैले साध्वी ऋतम्भराको मन्दिर प्रवेश रोक्नुपर्ने तिनको माग थियो । आरएसएस तथा भाजपा नेताका रुपमा सन् १९९० को दशकमा साध्वी ऋतम्भरा चर्चामा आएकी थिइन् । 

कार्यतालिका अनुसार ५७ वर्षीया साध्वीले सेप्टेम्बर २० देखि २४ सम्म बर्मिङ्घम, बोल्टन, कभेन्ट्री, नटिङ्घम र लण्डनका हिन्दू मन्दिरहरूमा दर्शन गर्ने कार्यक्रम थियो । उनको भ्रमणलाई बेलायतमा दर्ता भएको संस्था ‘परम शक्तिपीठ’ले आयोजना गरिरहेको छ । आयोजकले साध्वी ऋताम्बरको कार्यक्रम अब रद्द भएको बताएपछि प्रदर्शनकारीले मन्दिर क्षेत्र छाड्न मानेनन् । साध्वी ऋताम्भराको स्वास्थ्यको कारण उनको प्रवचन दिने कार्यक्रम रद्द भएको बताइएको थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका प्रदर्शनका भिडियोमा हेलमेट लगाएका प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको देखिन्छ । भिडियोमा प्रदर्शनकारीहरू निक्कै आक्रोशित देखिएका छन् । चक्कु बोकेको आशंकामा एक जना १८ वर्षीय युवक पक्राउ परेका छन् । यस क्षेत्रका स्थानीय काउन्सिलर अहमद बोस्तानले पनि आफ्नो ट्विटर पोस्टमा स्मेथविकको घटनाको निन्दा गरे । वेस्ट मिडल्याण्ड्स प्रहरीले पनि मन्दिरमा नियोजित रुपमा विरोध भएकोबारे अवगत रहेको बताउदै घटनास्थल र वरपरका क्षेत्रमा निगरानी राख्ने बताए । 

बीबीसीले ह्वाट्सएपमा भाईरल एक सन्देशबारे जानकारी पाएको छ, जहाँ नटिङ्घम, कभेन्ट्री, इल्फोर्ड र दक्षिण–पूर्वी लन्डनका विभिन्न मन्दिरहरू र हिन्दू केन्द्रहरू बाहिर आगामी केही दिनहरूमा हुने यस्तै विरोध प्रदर्शनहरूको विवरण समावेश छ ।

लेस्टरको घटना
बेलायतको लेस्टर सहरमा शनिबार हिन्दू र मुस्लिम युवाबीच झडप भएपछि तनाव उत्पन्न भएको थियो । तनाव भारत र पाकिस्तानबीच २८ अगस्टमा भएको क्रिकेट खेलपछि सुरु भएको थियो । इङ्गल्याण्डको पूर्वी मिडल्याण्डमा अवस्थित लेस्टर सहरका करिब ३७ प्रतिशत जनसंख्या दक्षिण एसियाली मूलका छन् । तीमध्ये अधिकांश भारतीय मूलका छन् । शनिबार हिन्दू–मुस्लिम युवाबीचको झडप छुट्याउने प्रयास गर्दा १६ प्रहरी घाइते भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप