बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटको लबिङ : प्रचण्डसहित प्रभावशाली नेताको निवासमा बढ्न थाल्यो भिड

बिहीबार, ०६ असोज २०७९, १६ : ४१
बिहीबार, ०६ असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनको निवास पछिल्लो समय नेताहरुले भरिभराउ हुन थालेको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति नजिकिन थालेसँगै उम्मेदवार बन्न आकांक्षा राख्नेहरु टिकटका लागि नेता निवासमा धाउन थालेका हुन् ।

पार्टीका तल्लो कमिटीबाट प्रदेशसभा र प्रतिनिधिसभामा सिफारिस भएका नेताहरु पार्टी अध्यक्षसहित प्रभावशाली नेताहरुको निवासमा पुग्ने गरेका छन् । सामान्य अवस्थामा पनि नेता कार्यकर्ताले भरिभराउ हुने प्रचण्ड निवास चुनावको मिति नजिकिन थालेपछि थप भिडभाड हुन थालेको छ । प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि टिकट लिने नेता कार्यकर्ताले गर्दा सामान्य अवस्थाको तुलनामा अहिले प्रचण्ड निवासमा तेब्बरभन्दा बढी भिड हुने गरेको प्रचण्ड निकट एक केन्द्रीय सदस्यले बताए ।

‘बिहान ६ नबज्दै नेता कार्यकर्ताले निवास भरिभराउ हुन्छ । सीएम (अध्यक्ष प्रचण्ड)लाई भेट्नेको लाइन बाहिरसम्मै हुन्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘एकपछि अर्को टोली खुमलटार पुग्ने गरेकाले कतिपय अवस्थामा गाडि राख्ने ठाउँ पनि हुँदैन ।’

निर्वाचन आयोगलाई समानुपातिक लिष्ट नबुझाउँदासम्म सामानुपतिकमा नाम राख्नु पर्‍यो भनेर आउनेको संख्या अधिक रहने गरेको ती केन्द्रीय सदस्यले बताए । तर, पछिल्लो समय प्रदेशसभा र प्रतिनिधिसभामा प्रत्यक्षतर्फका लागि टिकट माग्न आउने नेताहरुको संख्या अत्यधिक रहेको उनले जानकारी दिए ।

पार्टी उपमहासचिव एवम् अर्थमन्त्री जनार्दन शर्माको निवास पनि नेता कार्यकर्ताले उस्तै भरिभराउ हुने गरेको छ । शर्माको सचिवालयका एक सदस्यले भने, ‘हामी बिहान उठ्न पाएका हुँदैनौं । बिहान ६ नबज्दै भेट्न आउने नेता–कार्यकर्ताले आँगन भरिएको हुन्छ,’ उनले भने, ‘बिहान नेता–कार्यकर्ता भेट्दाभेट्दै समय बित्छ, मन्त्रालय जाने समय ९ बजे हो तर जहिल्यै हतार हुन्छ ।’

कार्यकर्ताहरुको निवासमै धाउन थालेपछि पछिल्लो समय बिहान राखिएका विभिन्न कार्यक्रममा शर्मा ढिलागरी पुग्ने गरेका छन् । शर्माको सचिवालयले नेता कार्यकर्ता भेट्न अपराह्न ४ बजेपछिको कार्यतालिका बनाएको छ । तर नेताहरु दिउँसै मन्त्री शर्मालाई भेट्न  लाइन लाग्ने गरेका छन् ।

‘अहिले भेट्न आउने नेताहरुमध्ये प्रायः सबैजसो आफ्नो टिकट फिक्स गर्न आउनुहुन्छ । आफ्नो नाम तल्ला कमिटीबाट सिफारिस भएको भन्दै टिकट दिलाउन माग गर्नुहुन्छ,’ उनले भने, ‘आजभोलि भेटघाटमै राति ९ बज्ने गर्छ ।’

चुनावको मिति घोषणा भएपछि शर्मालाई भेट्न आउने नेता कार्यकर्ताको संख्या सामान्य अवस्थाको तुलनामा दोब्बर हुने गरेको भेट्न जाने नेताहरु बताउँछन् ।

यस्तै अर्का उपमहासचिव वर्षमान पुनको निवासमा पनि कार्यकर्ताको ओइरो लाग्ने गरेको छ । पुनका स्वकीय सचिव सन्तोष पुनले भने, ‘बिहान ६ बजे अघि नै नेताहरु निवास आइपुग्नुहुन्छ । कार्यदलको बैठक बाहेक अधिकांश समय दिनभरि नेता कार्यकर्ता भेटेर समय बित्छ ।’

पुनले प्रायः सबैलाई समय दिएरै भेट्ने गरेको र उनीहरुलाई कन्भिन्स गरेर पठाउने गरेको उनका स्वकीय सचिव सन्तोषको भनाइ छ ।

यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यालयमा नेता कार्यकर्तासँग भेटका लागि समय मिलाउने गरेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । ‘चुनावको मिति घोषणा भएपछि स्वाभाविक रुपमा नेता भेट्न आउनेको संख्या बढ्ने नै भयो,’ श्रेष्ठले भने, ‘बिहानै निवास आउनेलाई निवासमै भेट्नु हुन्छ । नभए उहाँले प्रायः नेता–कार्यकर्तालाई पार्टी कार्यालयमा भेट्नु हुन्छ ।’

उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव मातृका यादव, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल लगायत शीर्ष नेताहरुको निवासमा पनि चुनावको मिति घोषणा भएपछि कार्यकर्ताको आगमन बढ्न थालेको छ ।

महासचिव गुरुङ पार्टीकै काममा व्यस्त 

यता पार्टी महासचिव देव गुरुङ प्राय: कार्यदल र पार्टीकै काममा व्यस्त हुने गरेका छन् । सत्ता गठबन्धनको कार्यदल र पार्टीका विभिन्न जिम्मेवारीमा भएकाले नेता कार्यकर्ताले कमै भेट्न पाउने गरेको गुरुङको सचिवालयका एक सदस्यले बताए । 

‘पार्टी महासचिव भइसकेपछि प्राय पार्टी र कार्यदलकै बैठकमा व्यस्त हुनुहुन्छ । पार्टीका नेता कार्यकर्तालाई कमै भेट्न पाउनुहुन्छ’ ती सदस्यले भने,‘कार्यदल र पार्टीको काम नभएका बेला पार्टी कार्यलयमा नेता कार्यकर्ता भेट्नु हुन्छ ।’ 

गुरुङ महासचिव भइसकेपछि पछिल्लो समय नेताहरु भेट्न आउनेको संख्या भने बढेको ती नेताको भनाइ छ । उनको पार्टीमा गुट नभएकाले पनि टिकटका लागि कमै नेता कार्यकर्ता भेट्न आउने गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप