शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निमार्णाधीन सडकको फुटपाथ भत्कियो

बिहीबार, ०६ असोज २०७९, १५ : ५९
बिहीबार, ०६ असोज २०७९

बुटवल उपमहानगरपालिका–९ मा पर्ने कालिका पथ सडक निर्माणाधीन अवस्थामै रहँदा सडकको छेउमा बनाइएको फुटपाथ (पेटी)को संरचना भने भत्किन थालेको छ ।इन्जिनियरिङ प्रक्रिया नै गलत भएको र फुटपाथमा कमसल फिलिङ गरिएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेपछि बुटवलको उपभोक्ता हित संरक्षण मञ्चले निर्माणाधीन सडकको अवलोकन गरेको थियो । अवलोकनका क्रममा फुटपाथका धेरै ठाउँमा फिलिङ गरिएको माटो भासिएर बाहिरी संरचनासमेत भत्किएको पाइएको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसीले बताए ।

गत २०७६ सालमा ठेक्का सम्झौता भइ निमार्णाधीन ३.६ किलोमिटरको यो सडकको ठेक्का भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालयले गरेको हो । १५ करोड ९१ लाख बजेटको यो ठेक्का विरुवा कालिगण्डकी जेभीले लिएको छ । यो सडकको फुटपाथ (पेटी) तथा नाली बनाउने काम भने एमकेएसके पर्वतीय जेभीले ४ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार यो सडक निर्माणको काम यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेछ ।

निर्माणको काम कमसल भएको गुनासो आएपछि सम्बन्धित निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइएको सडक पूर्वाधार विकास कार्यालयका योजना प्रमुख ललितबहादुर न्यौपानेले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले सडकको पेटी निर्माणमा कमजोरी देखिएको सूचना आएपछि त्यसको अध्ययन थालिएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप