शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिबाट सन्यास लिँदै श्रीवास्तव !

बिहीबार, ०६ असोज २०७९, १८ : १८
बिहीबार, ०६ असोज २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता विमल श्रीवास्तवले राजनीतिबाट नै सन्यास लिने मनस्थिति बनाएका छन् । उनी पार्टी छाडेर एमालेमा जान लागेको चर्चा हुँदै आएको थियो । 

लोसपाका कार्यकारिणी सदस्य समेत रहेका श्रीवास्तवले अब कुनै पनि दलमा रहेर सक्रिय राजनीति नगर्ने बताए । ‘म एमालेमा होइन, कुनै पनि पार्टीमा नरहने निर्णयमा पुगेको छु’, उनले भने । उनले अगाडि भने, ‘म ५५ वर्षदेखि लगातार राजनीतिमा छु, एक पटक वडा अध्यक्ष, चार पटक मेयर, दुई दुई पटक सांसद, एकपटक मन्त्री भइसकेको अब राजनीतिमा अरु केही गर्ने इच्छा छैन । त्यही भएर छाड्न लागेको हुँ ।’

७३ वर्षीय श्रीवास्तवको ९ वर्षअघि किड्नी ट्रान्सप्लान्ट भएको थियो । त्यही भएर आफूले ज्यादा दौडधूप तथा तनाव लिन नचाहेको उनको भनाइ छ ।  फुर्सदको समयमा सामाजिक कार्य गर्ने नभए घरमै आराम गर्ने बताए । स्वतन्त्र विद्यार्थी मण्डल संगठनबाट राजनीति सुरु गरेका नेता श्रीवास्ताव पंचायतकालमा एकपटक वडाध्यक्ष र तीनपटक मेयर तथा बहुदल आएपछि राप्रपाबाट एकपटक मेयर गरी चारपटक मेयर भएका थिए । २०४६ पछि राप्रपामा सक्रिय श्रीवास्तव गणतन्त्र आएपछि महन्थ ठाकुर नेतृत्वको तमलोपामा गए । 

तमलोपाबाट संविधानसभा सदस्यमा चुनाव जितेका उनी २०७४ को स्थानीय चुनावमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका थिए । 
तर उनी मेयरमा चुनाव हारेका थिए । तत्कालिन संघीय समाजवादी फोरमबाट विजय सरावगीले चुनाव जितेका थिए । त्यसपछि उनी २०७४ मै जसपाबाट पर्सा–२ मा प्रतिनिधिसभा चुनाव लडेका थिए । उनी निर्वाचनमा विजयी भएका थिए । 

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा १८ दिनका लागि मन्त्री समेत बनेका श्रीवास्तव हाल लोसपामा छन् । उनी लोसपा छाडेर एमालेमा जान लागेको चर्चा केन्द्रदेखि जिल्लासम्म रहेको छ । तर त्यसबारे प्रतिक्रिया लिँदा उनले आफू राजनीतिबाट नै सन्यास लिन लागेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप