गठबन्धनका घुँडा हेर्नुस् त ! गोरुको काँधजस्तो भएको छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अनाडी मान्छे बसेर राष्ट्रपतिको ‘मजाक’ गर्ने काम गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिको सुझावलाई संसद बाहिर अनाडीहरु बसेर मजाक बनाउँदै कुसंस्कार भित्र्याएको बताए ।
उनले संविधान, कानुन र मर्यादा समेत गठबन्धनले उल्लंघन गरेको भन्दै गठबन्धनसँग बहुमत नै नभएको टिप्पणी गरे । ‘जोडेको बहुमतको धाक लगाउने ?’, ओलीको प्रश्न छ । उनले यही कुसंस्कार र अलोकतान्त्रिक बाटोमा हिँडेको गठबन्धनले राष्ट्रपतिको अपमान गर्ने काम गरेर महानता ठानेको भन्दै मंसिर ४ को निर्वाचनले दण्डसजाय दिने विश्वास गरे । ‘गठबन्धनलाई जनताले पराजित गराएर छोड्ने छ’, ओलीको भनाइ छ ।
उनले गठबन्धनले सत्ता बाहेक अरु केही नसोचेको पनि बताए । ओलीले गठबन्धनको गन्तव्य नै नभएको भन्दै एमाले देशको, जनताको, संविधान र कानुनको भाषा बोल्ने र सुखी नेपाली सम्मृद्ध नेपाल गन्तव्य रहेको तर गठबन्धनले मसल, स्वार्थको भाषा बोल्ने आफ्नो स्वार्थको सुख बोल्ने गरेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रियताको पहरेदार र संवर्द्धक भएको भन्दै सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षक एमालेबाहेक अरु कुनै पार्टी नरहेको दावी गरे । ओलीले गठबन्धनका नेताहरु घुँडा टेक्ने बाहेक केही नगरेको बताए । भने, ‘गठबन्धनको गन्तव्य जसरी पनि घुँडा टेकेर भएपनि सत्ता प्राप्त गर्नु हो, यसो सुरुवाल तान्न लगाएर हेर्नुस् त कस्तो भएको छ घुँडा टेक्दा टेक्दा ? जोतेको गोरुको काँधजस्तो भएको छ ।’
ओलीले गठबन्धनमा रहेका पार्टीहरू गठबन्धनबाट निस्कन नसक्ने भन्दै कुवामा जसले हाल्यो उसले मात्रै निकाल्न सक्ने बताए । ‘आफै सक्नुहुन्न । अस्तित्व रक्षाको प्रयासमा हुनुहुन्छ । बाँच्न र ज्यान जोगाउन’, माओवादीको नाम लिँदै ओलीले भने, ‘माओवादी पार्टी भनेको पार्टी होइन केन्द्र भनेको छ उसले । माथि मात्रै छ । तल छैन ।’ ओलीले माओवादी केही समयमा ‘फेमेली क्लबमा परिणत हुने दावी गरे ।
नागरिकता प्रकरणमा ओलीले एमाले नागरिकलाई नागरिकता दिनुपर्छ भनेर कानुन बनाउने प्रयासमा लागेपनि अहिले गठबन्धनमा भएकाहरुले अघि बढ्न नदिएको आरोप लगाए । ‘नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ भनेर अध्यादेशका रुपमा ऐन जारी गर्यो । संसदमा जानै बाँकी थियो । तर यिनै गठबन्धनवालाले मुद्दा हाल्न लाएर अदालतले बदर गर्यो’, ओलीको भनाइ छ । उनले एमाले फुटाउन गठबन्धनले संसद छलेर अध्यादेश ल्याएको भन्दै आफुले संसद नछलेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा