शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आयोगमा बुझाइएको बन्दसूचीले राप्रपामा असन्तुष्टि

बिहीबार, ०६ असोज २०७९, २३ : ०४
बिहीबार, ०६ असोज २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीले नेताहरुमा असन्तुष्टि बढेको छ । बन्दसूची तयार गर्ने क्रममा अध्यक्ष राजेन्द्र लिङ्देन हाबी भएको तथा उनले आफू निकटका लागि महत्व दिँदै सूची बढाएको भन्दै असन्तुष्टि बढेको हो । 

सोमबार बसेको राप्रपाको कार्यसम्पादन, पदाधिकारी र संसदीय समितिको संयुक्त बैठकले सबै क्लस्टर तयार गरेर बन्दसूची आयोगमा बुझाएको थियो । जनाधार भएका र पार्टीमा योगदान दिएकालाई प्राथमिकता दिएर बन्दसूची तयार गर्ने भनिएपनि त्यस्तो हुन नसकेको नेताहरुको भनाइ छ । 

निर्वाचनको मुखमा नेतृत्वले सन्तुलन मिलाउन नसक्दा समग्र पार्टीलाई असर पुग्नसक्ने भएकाले यसमा बैलैमा ध्यान पुर्याउनुपर्ने एक नेताले जानकारी दिए । उनले भने, ‘अध्यक्ष राजेन्द्र लिङदेनले समानुपातिक सूची पेश गर्दा एकलौटी गर्नुभएको छ । कार्यकर्ताको उचित मूल्यांकन नगरी जिल्ला तहमा र केन्द्रीय तहमा समेत अलोकप्रिय र आफ्ना वरिपरि घुम्नेलाई स्थान दिने काम गर्नुभएको छ ।’

राप्रपा स्रोतका अनुसार अवसरमा लागि पटक–पटक पार्टी फेर्दै हिँड्ने दिलविकासराज भण्डारीलाई समेत समानुपातिकमा सिफारिस गरिएको छ । उनको नाम यसअघि तल्ला कमिटीबाट सिफारिस नभएपनि सूचीमा राखिएको हो । 

यस्तै खस आर्य समूहको एक नम्बर सूचीमा को रहने भन्ने विवाद पनि उस्तै छ । खस आर्य समूहबाट डा.प्रकाशचन्द्र लोहनी रहने कि पशुपतिशमशेर राणा रहने भन्नेमा विवाद देखिएको हो । विगतमा लिङ्देनले प्रकाशचन्द्र लोहनीसँग एक नम्बरमा राखेर बन्दसूचीमा राख्ने सहमति गरेपनि अहिले राणालाई प्राथमिकता दिएको ती नेताको भनाइ छ ।

रोचक त के छ भने राणाले लिङ्देनलाई गत महाधिवेशनमा सघाएका थिएनन् । राणाले ‘आफू काँचो नेतृत्व’ को पक्षमा नरहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, लोहनीले भने नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भन्दै खुलेर सहयोग गरेका थिए । 

त्यतिबेला लिङ्देनले लोहनीलाई संसदमा लैजाने समझदारी गरेपनि अहिले आएर प्राथमिकता नदिएको लोहनी निकटका नेताहरुको दाबी छ । विगतमा कमल थापाले सहमति कार्यान्वयन नगर्दा पार्टीमा समस्या भएको स्मरण गर्दै राप्रपाका असन्तुष्ट नेताहरुले सो कुरा नभुल्न लिङ्देनलाई चेतावनी दिएका छन् । 

लोहनी निकट केन्द्रीय सदस्य जनकराज पाठकले समानुपातिकको बन्दसूचीबारे आफू नबोल्ने बताए । विगतमा लोहनीसँग लिङ्देनसँग सहमति भएकै हो त भन्ने प्रश्नमा उनले सहमतिबारे आफू अहिले नबोल्ने र सहमति कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको बताए । 

यसैबीच राप्रपाका महामन्त्री भुवन पाठकले समानुपातिकको बन्दसूचीका सन्दर्भमा अझै पनि फाइनल नभएको दाबी गर्दै त्यसका लागि बिहीबार कार्यसम्पादनको बैठक बोलाइएको बताए । बैठकले को समानुपातिक र को प्रत्यक्षतर्फ उठ्ने भन्नेबारेमा निर्णय हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप