शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् सुविधाले दिएको खुसी

बिहीबार, ०६ असोज २०७९, ०८ : ४८
बिहीबार, ०६ असोज २०७९

निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि रु सात हजार रकम १४ वर्षअघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उनलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । 
       
धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी छन् । घरमा आफैँले स्वीच थिचेर बत्ती बलेपछि उनको १४ वर्षपछि भए पनि विद्युत् सुविधा उपभोग गर्ने मनको तिर्सना मेटिएको छ । “बत्ती बाल्नका लागि सुरुमा नै पैसा बुझाइयो, तर काममा ढिलाइ हुँदा बत्ती कहिले आउँला भनेर धैर्य गरेर बसेको थिए, मेरो मनको इच्छा पूरा भयो”, उनले भने, “अहिले त गाउँका सबै घरमा बिजुली बल्दा रमाइलो देखिएको छ ।” 

रम्भा गाउँपालिका–३ अगाहाखोलाबाट ल्याइएको विद्युत् लाइन पूर्वखोला गाउँपालिका–१ सिलुवामा रहेको सव–स्टेशनबाट ल्याइएको विद्युत् लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थामार्फत वितरण भइरहेको छ । लामेदमार, गोडडाँडा, डेलखरक र मतियारडाँडाका ५२ घरधुरीमा अहिले विद्युत् सेवा पुगेको सामुदायिक विद्युतीकरण लामेदमार ट्रान्समिटर उपभोक्ता समितिका अध्यक्ष चित्रसिंह आलेले बताए । उहाँका अनुसार विद्युत् सेवा नपुगेका पोखरडहर र फोक्सीबासका २९ घर, खोर्मोकमा सात घरमा विद्युत् लाइन पुगिसकेको र केही घरमा वायरिङको काम बाँकी रहेकाले छिटो काम सम्पन्न गरी बिजुली बाल्ने तयारी भइरहेको छ । निस्दी–४ को मुढाबास, डुडीदमारामा विद्युत्को प्रक्रिया अगाडि बढाइएको छ । 
       
“निस्दीमा २०६६ सालदेखि विद्युतीकरणको काम अगाडि बढाइयो, उपभोक्ताले समितिलाई समयमा नै रकम नबुझाउने, ग्रामीण क्षेत्रमा भनेको समयमा सामान भित्र्याउन नसक्नुलगायत विविध कारणले विद्युत् विस्तारको काममा ढिलाइ हुन पुग्यो”, उनले भने ।

विद्युत् सुविधाले यहाँका स्थानीय उत्साहित छन् । पाल्पाकै विकट र दुर्गममा पर्ने सो गाउँका नागरिक विद्युत् अभावमा विभिन्न समस्यासँग जुध्दै जीवन व्यतीत गरिरहेका थिए । बिजुलीको सुविधाले विद्यालयमा पठनपाठनमा आधुनिक प्रविधिका सामग्रीको प्रयोग, घरमा खाना पकाउन, मोबाइल चार्ज तथा बालबालिकालाई पठनपाठनमा राहत पुगेको छ । 

सरकारले डिजेलको मूल्यवृद्धि गरेपछि यहाँका स्थानीयले कुटानीपिसानीमा महँगो शुल्क तिर्नुपर्दा मर्कामा परेको गुनासो छ । अब भने विद्युत् लाइनको सुविधाले धेरै राहत मिल्नेछ । डिजेलको भाउँ बढेसँगै गाउँमा सञ्चालित साना उद्योग धराशायी बन्दै गएका थिए । अब भने यहाँ साना उद्योग तथा व्यावसाय फस्टाउनेछन् । 
       
विशेष गरी यस क्षेत्रमा उत्पादन हुने सूर्यमुखी र तोरी प्रशोधनका लागि गाउँमा विद्युत् अभावमा यसअघि अरुणखोलामा जानुपर्ने स्थानीयलाई बाध्यता थियो । गाडीमा आवतजावत र प्रशोधन गर्ने ज्यालाले लागत नै उठाउन धौधौ हुन्थ्यो ।

सोलार बत्ती प्रयोग गर्दा बेला बेलामा ब्याट्री परिवर्तनमा खर्चिलो र आवश्यकताअनुसार प्रयोग गर्न नपाइनेजस्ता समस्या स्थानीयले खेपिरहेका थिए । अब बिजुलीको सुविधाले चौबिसै घण्टा ढुक्कले सुविधा उपभोग गर्न पाइने भएको छ ।
       
लामेदमार ट्रान्समिटरअन्तर्गत यहाँको लामेदमार, बेलखरक, गोठडाँडा, खोरमोक, रिपाहा, पोखरादहर र थोक्सिबास गाउँका करिब एक सय घरमा एकै पटक बत्ती बाल्ने योजना छ । केही टोलमा वायरिङको काम नसककिएकाले एकै चरणमा गाउँमा बत्ती बाल्न नपाए पनि छिट्टै बाँकी टोलमा बत्ती बाल्ने कार्यक्रम उपभोक्ता समितिको छ । निस्दीका केही गाउँमा चार  वर्ष अघिदेखि नै बिजुली पुगेको छ । बजारदेखि टाढा र ग्रामीण भेग रहेको हुँदा आवश्यक सामग्री समयमा नै गाउँमा लैजान नसक्दा काममा ढिलाइ भएको हो । कतिपय स्थानमा भने विद्युत् पोल पनि पुग्न नसकिएको अवस्था छ । 
       
निस्दी गाउँपालिकाका सात वडामध्ये १ र २ बाहेक अन्य सबैमा बिजुली बत्ती पु¥याउने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले लिएको  छ । संस्थामार्फत चरणबद्ध रुपमा विद्युतीकरणको काम अगाडि बढिरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप