बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निक्षेपभन्दा पनि सस्तो व्याजमा कर्जा दिँदै सरकारी बैंकहरु

बिहीबार, ०६ असोज २०७९, ०७ : ४३
बिहीबार, ०६ असोज २०७९

बढ्दो बैंक ब्याजदरका कारण यतिखेर वित्तीय क्षेत्र मात्र होइन मुलुकको समग्र अर्थतन्त्र नै प्रभावित छ । तरलता अभावलाई देखाउँदै बैंकहरुले निक्षेपमा नै १३.१३ प्रतिशतसम्म ब्याजदर अफर गरिसकेका छन् । 

असोज महिनाका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती बचत खातामा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहँदा कर्जाको ब्याजदर बढेर १७–१८ प्रतिशतसम्म पुगेको छ । तरलता अभावकाबीच कस्ट अफ फण्ड (निक्षेपको लागत) लाई देखाउँदै बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु-याएका छन् । 

तर, यस्तो जटिलताका बीच पनि केही बैंकहरुले भने निक्षेपको ब्याजदर भन्दा पनि सस्तोमा कर्जा लगानी गरिरहेका छन् । यस्तोमा सरकारको पनि लगानी रहेका तीन बैंक नै अग्रस्थानमा छन् । 

सरकारको पनि लगानी भएका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले अन्य निजी बैंकहरुको तुलनामा सस्तो दरमा कर्जा लगानी गरिरहेका छन् । यी बैंकहरुले अहिले पनि १० देखि १३ प्रतिशतको ब्याजदरमा नै कर्जा उपलब्ध गराइरहेका छन् । अझ कृषि विकास बैंकले त आफूले खरिद गर्ने (निक्षेपमा प्रदान गर्ने ब्याजदर) भन्दा पनि सस्तो दरमा कर्जा प्रवाह गरिरहेको छ ।

निक्षेपको भन्दा पनि सस्तो कर्जा कृषि विकास बैंकको 

सरकारको पनि लगानी रहेको कृषि विकास बैंकले अधिकतम १३.९ प्रतिशतको ब्याजदरमा नै कर्जा लगानी गर्ने भएको छ । असोज महिनाका लागि अन्य बैंकहरुले जस्तै निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याजदर अफर गरिसकेको कृषि विकास बैंकले कर्जातर्फ अधिकतम १३.९ प्रतिशत मात्र ब्याजदर लिने घोषणा गरेको हो । 

बैंकको आधार दर (बेस रेट) ८.९० प्रतिशत छ । सो दरमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याज तय गर्ने बैंकले जनाएको छ । यसो हुँदा कृषि विकास बैंकको कर्जाको अधिकतम व्याजदर १३.९ प्रतिशत हुन आउँछ ।

कृषि उत्पादन, पशु तथा मस्य पालन, युवा स्वरोजगार लगायत उत्पादनशील तथा औद्योगिक क्षेत्रमा जाने कर्जाका लागि बेस रेटमा अधिकतम २ देखि ३ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने जनाएको बैंकले व्यक्तिगत कर्जा, घर कर्जा, गाडी कर्जा जस्ता हायर पर्चेज कर्जाहरुमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने जनाएको छ । यो गर्दा बैंकको अधिकतम ब्याजदर १३.९ प्रतिशत पुग्ने देखिन्छ । तर, बैंकले निक्षेपमा नै १३.१३ प्रतिशतसम्म खर्च गर्नेछ । हाल कृषि विकास बैंकको बेस रेट ८.९० प्रतिशत र स्प्रेडर रेट ४.३२ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको कर्जाको अधिकतम व्याजदर १३.३६ प्रतिशत 

सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले आफूले खरिद गर्ने निक्षेपको ब्याजदर भन्दा पनि सस्तोमा कर्जा लगानी गर्ने जनाएको छ । अन्य बैंकले जस्तै असोज महिनाका लागि निक्षेपमा १३.१३ प्रतिशत (रेमिट्यान्स मुद्दती बचत खातामा) ब्याजदर प्रदान गरेको बैंकले कर्जामा अधिकतम १२.८६ प्रतिशत मात्र ब्याजदर लिने जनाएको हो । यद्यपि, चालु पुँजी कर्जा सम्बन्धि धितो कर्जामा भने बेस रेटमा ३.२५ प्रतिशतदेखि ५.५० प्रतिशतले प्रिमियम थपेर १३.३६ प्रतिशत लिन सक्ने बताएको छ । यसो गरेपनि बैंकको निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर करिब करिब समान हुनेछ । 

अन्य व्यवसायिक (एसएमईज्) खालका कर्जा, थोक तथा प्रत्यक्ष कर्जा, कृषि कर्जा लगायतमा विविध कर्जामा बैंकले बेस रेटमा २ देखि ५ प्रतिशत प्रिमियम चार्ज गर्ने जनाएको छ ।

नेपाल बैंकको कर्जाको व्याज १५.५ प्रतिशत

सरकारको पनि लगानी रहेको नेपाल बैंकले असोज महिनाका लागि न्यूनतम १०.९९ प्रतिशतदेखि अधिकतम १५.४९ प्रतिशतसम्मको ब्याजदरमा कर्जा लगानी गर्ने जनाएको छ । अन्य बैंकहरुले जस्तै मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती बचतमा १३.१३ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले कर्जा लगानीमा भने अधिकतम १५.४९ प्रतिशत ब्याजदर लिने भएको हो । बैंकले आफ्नो आधारदर (बेस रेट) मा १ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म प्रिमियम जोड्ने जनाएको छ । 

नेपाल बैंकको बेसरेट ९.९० प्रतिशत छ भने स्प्रेड रेट ४.०८ प्रतिशत रहेको छ । अन्य बैंकहरुले भने आफ्नो १० प्रतिशत हारहारीको बेस रेटमा ७.५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याज लिने जनाएका छन् । यसो हुँदा बैंकको ब्याजदर बढेर १७ देखि १८ प्रतिशत पुग्ने देखिन्छ । यसले नयाँ ऋण लिन चाहनेहरुका लागि मात्र नभएर पुरा ऋणीहरुलाई समेत समस्या परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप