मधेसवादी दल छाडेर एमालेमा गएका नेताहरु भन्छन्– नागरिकतामा राजनीतिकरण बढी भयो
मधेस केन्द्रित विभिन्न दल त्यागेर एमालेमा गएका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा चालेको कदमको विरोध गरेका छन् । एमालेले राष्ट्रपतिको कदमलाई समर्थन गरे पनि मधेसवादी दलबाट हालै एमालेमा सामेल भएका नेताहरुले भने विरोध जनाएका हुन् ।
जसपा नेपालका नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन् । उनले नागरिकता सम्बन्धी विधेयक पारित गराउनका लागि आफूहरुले समेत भूमिका निर्वाह गरेको स्मरण गराए । यद्यपि विधेयकमा केही त्रुटि रहेको र त्यसमा गम्भीर छलफलसमेत नगरी हतारमा पारित गरिएको उनको भनाइ छ । यस कारण पनि विधेयक असफल बनाउन सत्तारुढ गठबन्धनले नै भूमिका निर्वाह गरेको उनले बताए ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी नागरिकता विधेयक आयो भने एमालेले त्यसमा सहयोग गर्ने धारणा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुसँग राखेको भन्दै उनले पाँच दलीय गठबन्धनले संसदमा विधेयकमाथि छलफल नगराएको प्रति राष्ट्रपति भण्डारीको विमति रहेको तर्क गरे ।
जसपाबाट हालै एमालेमा प्रवेश गरेकी नेतृ अमृता अग्रहरीले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु गलत भएको बताइन् । उनले भनिन्, ‘लामो समयसम्म म नागरिकताका लागि आन्दोलन गरेको महिला हुँ, यसका लागि मैले संसदमा बोलेको छु, मिडियामा पनि आफ्नो धारणा राखेको छु, नागरिकताको विषयमा मेरो जे धारणा थियो, त्यो अहिले पनि कायम छ ।’
तर अहिले नागरिकता विधेयकलाई लिएर राजनीतिक दल तथा नेताहरुको बीच जुँगाको लडाइँ भइरहेको उनले बताइन् । उनले भनिन्, ‘यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत नागरिकता समस्याको समाधान गर्दा यही पाँच दलीय गठबन्धनका नेताहरुले विरोध गरेर त्यसलाई अगाडि बढ्न दिनुभएको थिएन, अहिले उहाँहरुले ल्याउनु भएको विधेयकलाई एमालेले अगाडि बढ्न दिएको छैन ।’
नागरिकता विधेयकको बारेमा संसदमा जसरी छलफल हुनुपर्ने थियो त्यसरी छलफल नभएको उनको भनाइ छ । पाँच दलीय गठबन्धनले आफ्नो तरिकाले विधेयक अगाडि बढाएको कारणले आज यो समस्या आएको उनले बताइन् । जन्मसिद्ध र अंगीकृत नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने र त्यसका लागि आफूले संघर्ष गर्दै आएको भन्दै उनले अगामी दिनमा पनि संघर्ष जारी रहने बताइन् ।
लोसपाबाट एमालेमा प्रवेश गरेका अजय गुप्ता पनि नागरिकताको विषयमा राजनीति भइरहेको बताउँछन् । पाँच दलीय गठबन्धनले प्रकृया पु¥याएर विधेयक नल्याएका कारण राष्ट्रपतिको असन्तुष्टि देखिएको भन्दै उनले हिजोका दिनमा एमालेले नागरिकता सम्बन्धी समस्या समाधान गर्न ल्याएको अध्यादेशलाई अहिलेका गठबन्धनले विरोध गरेको र गठबन्धन सरकारले ल्याएको विधेयकलाई एमालेले विरोध गरेको प्रस्ट पारे ।
सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ । जसपा छाडेर एमालेमा प्रवेश गरेका वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगी नागरिक विधेयकको सम्बन्धमा राष्ट्रपतिको कदम स्वागतयोग्य बताउँछन् ।
उनले भने, ‘राष्ट्रपति संविधानको संरक्षक हुनुहुन्छ, उहाँले पनि सबै अध्ययन गरेर नै यो कदम चाल्नु भएको होला । त्यसैले यो संविधान विपरीत होइन ।’ संविधानमा राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई फेरि संसदले पारित गरेर पठाएमा १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने उल्लेख भए पनि सो अवधिमा प्रमाणीकरण नगरेमा के हुन्छ भन्नेबारे केही उल्लेख नभएका कारण अहिले विवाद देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’