बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न माग

ब्याजदर वृद्धिको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण
बुधबार, ०५ असोज २०७९, २० : २८
बुधबार, ०५ असोज २०७९

बैंक वित्तीय संस्थाहरूद्वारा असोज एकदेखि लागु हुने गरी ब्याजदरमा भएको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस निर्णयले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुने बताउँदै महासंघले ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न माग गरेको हो । 

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, 'बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको छ । आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ ।' अर्थतन्त्र सङ्कुचित हुँदै जाँदा सरकारको राजस्व सङ्कलन समेत करिब २० प्रतिशतले न्यून भएको यस सङ्कटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था रहेको महासंघको भनाइ छ ।

'पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरुत्साहित हुनेछ । यस सन्दर्भमा विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय छ,' महासंघले भनेको छ, 'यसै पनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा सङ्कट आउन सक्ने आङ्कलन गर्न सकिन्छ। त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गर्दछ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप