मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘नागरिकता विधेयकमा वर्तमान परिस्थिति आउनुमा राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार’

बुधबार, ०५ असोज २०७९, १८ : ०४
बुधबार, ०५ असोज २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकमा वर्तमान परिस्थिति आउनुमा राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार रहेको ठहर गरेको छ ।

‘राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नहुनुका कारण उठेको संवैधानिक प्रश्नको निर्क्योल न्यायालयले गर्नेनै भएतापनि वर्तमान परिस्थिति आउनुमा राजनीतिक दलहरूको अकर्मण्यता र राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार रहेको स्पष्ट छ’, पार्टी प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सो पार्टीले ‘गैरसंवैधानिक’ कदम चालिनु पर्ने परिस्थितिको दोष राष्ट्रपतिले मात्र नभई संसदले र राजनीतिक दलहरुले पनि बोक्नुपर्ने बताएको छ । ‘विधेयक राष्ट्रहितमा थिएन । तर ५ वर्षसम्म नागरिकता जस्तो विषयमा मौन रहेर अन्तिम समयमा जुन किसिमको हतारो गरियो, त्यो शंकास्पद रहेको छ’, विज्ञप्तिमा भनिएको छ । 

 विधेयकलाई चुनावी एजेन्डाको रूपमा प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास भएको स्वतन्त्र पार्टीको जिकिर छ । ‘नागरिकता विधेयकका लागि संसदीय समितिमा भएका छलफलहरूलाई अर्थहीन बनाएर जसरी विधेयक उत्पति गरियो, त्यहाँबाट गल्तीको सुरुवात भएको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि सत्तापक्षको  बलमिच्याइँ तथा विपक्षी दलबाट राजनीतिक अभिष्ट पूरा गर्न गरिएका धुर्त्याइँले गल्ती थप जटिल भएको हो ।’

नागरिकता संशोधन विधेयकमा भएको अहंकार र बलमिच्याइँको कारणले गर्दा पाउनु पर्ने नागरिकले समेत नागरिकता नपाउने अवस्था बन्नु दुःखद भएको सो पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप