शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको भागमा परे चुनाव लड्न तयार छु : रेखा शर्मा

‘महरा सर शंकर पोखरेलसँग डराएर समानुपातिकमा गएको भन्ने कुरा गलत हो’
बुधबार, ०५ असोज २०७९, १७ : ००
बुधबार, ०५ असोज २०७९

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा प्रतिनिधि सभा तर्फ समानुपातिक बसेका छन् । महरा समानुपातिकमा गएपछि  उनका निर्वाचन क्षेत्र दाङ २ बाट को उठ्ने चर्चा भन्ने विषयमा पार्टीमा चर्चा सुरु हुन थालेको छ । दाङ जिल्ला पार्टीले २ बाट महरा सहित स्थायी समिति सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस भएको छ । गठबन्धनबाट माओवादीको भागमा परेपछि मुख्य दाबेदार शर्मा र आचार्य नै हुन् । महराको क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी स्थायी समिति सदस्य शर्मासँग चुनावी तयारीका विषयमा रातोपाटीकर्मीले गरेको कुराकानीको सम्पादित अंश:

तपाई के अब महराको क्षेत्रमा चुनाव लड्न तयार हुनु भएको हो ?
गठबन्धनबाट औपचारिक रूपमा सिट टुङ्गिन बाँकी छ । सिट टुङ्गो लाग्यो र दाङ क्षेत्र नम्बर २ हाम्रो भागमा पर्‍यो भने पार्टीले उम्मेदवार बनायो भने मेरो प्रत्यक्षमा उम्मेदवार हुने छ  । पार्टीले समेत जिल्लाबाट मलाई सिफारिस गरिसकेको छ । त्यसैले प्रत्यक्ष चुनाव लड्न तयार छु । गठबन्धनको भागमा पर्नु पर्‍यो । पार्टीले टिकट दिनु पर्‍यो । म चुनाव लड्न तयार छु ।

कृष्णबहादुर महरा शंकर पोखरेलसँग चुनाव लड्न डराएर समानुपातिकमा गएको भन्ने छ । झन् तपाईंलाई गाह्रो हुँदैन ?
महरा सर शंकर पोखरेलसँग डराएर समानुपातिकमा गएको भन्ने कुरा सरासर गलत हो ।  महरा सर डराएको होइन । हाम्रो सांगठनिक आधार, राजनीतिक आधार गठबन्धनमा काँग्रेसको साथ सबै हेर्दा सोझो हिसाबले हाम्रो जित सुनिश्चित छ । गत वैशाख ३० गतेको स्थानीय चुनाव प्राविधिक कारणले हामी हार्यौँ । तर, १० हजार मत बदर भएको छ । हामी ५ हजार मतले हारेका छौ । अब हुने चुनावमा यसरी बदर हुँदैन । उम्मेदवारै नभएको पार्टीको चुनाव चिन्ह नै हुँदैन । यसो हेर्दा विगतको तुलनामा पार्टी र गठबन्धन एकताबद्ध छ । हामीले जित्ने आधार प्रशस्तै छन् ।

महरा सर शंकरसँग हार्छु भनेर डराए भन्ने विरोधीले गरेको प्रचार हो । विरोधीले प्रचार गरेको कुराको कुनै अर्थ छैन । महरा सरले प्रस्टसँग भन्नु भएको छ । आफूले हुर्काएका बढाएका अगाडि आइसकेपछि म यो पटक समानुपातिकमा जान्छु भन्नु भएको छ । सबैतिर साथीहरूको सुझाव पनि समानुपातिकमा जानुस् भन्ने आयो भन्ने छ भन्नु भएको छ । बोलेको के हो भन्ने कुरालाई ख्याल गर्नुपर्‍यो । महरा सरले हार्छु भनेर कहीँ कतै भन्नु भएको छैन । महरा सर चुनाव लडेको भए हार्नुहुन्थेन । जित्नु हुन्थ्यो । हामी प्रतिस्पर्धामा गए पनि चुनाव हार्दैनौ जित्छौ ।

पार्टीमा अरू प्रतिस्पर्धी हुनुहुन्छ कि हुनुहुन्न ?
जिल्ला पार्टीले तीन जनाको नाम सिफारिस गरेको हो । महरा सर समानुपातिकमा गएपछि दुई जना छौ । जसमा म र निर्मल आचार्य छौ । सिफारिस भएका अब दुई जना मात्रै छौ ।

एमाले महासचिव जस्तो नेतासँग प्रतिस्पर्धा गर्नुपर्‍यो भने तपाई जत्तिको नेतालाई चुनौतीपूर्ण नै हुन्छ होला है ?
जनयुद्ध हुनुभन्दा पहिले हिजोसम्म नेपाली समाज महिलाहरू केही पनि गर्न सक्दैनन् भन्ने थियो । तर, जनयुद्धले त्यसलाई क्रस गर्‍यो । जनयुद्धमा पुरुषले बन्दुक मात्रै बोके महिलाले बच्चा सहित बन्दुक बोकेर लडाइँका मोर्चामा सहभागी भए । त्यसलाई क्रस गरेर नेपाल प्रहरी नेपाल आर्मी लगायत हरेक फोर्समा सबै समुदायका महिला जाने स्थिति बन्यो । अर्को कुरा महिलाले देश चलाउन सक्दैनन् भन्ने थियो । माओवादी जनयुद्ध संस्थागत भएपछि व्यवस्थापिका, न्यायपालिका लगायत राज्यका उच्च निकायमा महिलाले नेतृत्व गर्ने अवसर पाए । महिलाले प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् भन्ने कुरा सानो कुरा भयो । हिजो बन्दुक बोकेर व्यवस्था परिवर्तन गर्न लडेका महिला चुनाव लड्न किन सक्दैनन् सक्छन् ? आम मतदाताले त्यो सबै कुरा राम्रोसँग बुझेका छन् । महिला नेतृत्वमा आएपछि अझ निष्ठाका साथ अझ इमानदारिताका साथ प्रतिवद्धताका साथ जिम्मेवारी पुरा गरेको बुझाई र अनुभव दुवै छ । पुरुष भन्दा महिला अझ समर्पित र निष्ठावान् भएर काम गर्छन् भन्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप