जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिँदै
नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ । जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्ब २ करोड रुपैयाँ (१५९.०१ करोड जापानी येन ) बाट १३२ केभी क्षमताका ५ वटा नयाँ सबस्टेसन निर्माण गरिनेछ । सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिनेछ ।
जापानको सहयोगमा काठमाडौं उपत्यकाको थापाथली, महाराजगञ्ज, राजदरबार तथा सिरुटार र पोखराको विरौटामा १३२/११ केभीका सबस्टेसन निर्माण गरिनेछन् । सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ । आयोजनाको कार्यान्वयनबाट काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।
आयोजना कार्यान्वयनका लागि बुधबार नेपाल सरकारका तर्फबाट अर्थ सचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरे । त्यसैगरी, ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे ।
आयोजनामार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करिब २ किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्वीचिङ स्टेसनमा ल्याइने छ । थापाथली स्वीचिङ स्टेसनलाई हटाएर त्यहाँ १३२/११ केभीको सबस्टेसन निर्माण गरिनेछ । सबस्टेसनको क्षमता ९० एमभिए रहनेछ ।
सबस्टेसनबाट विद्युत वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् । बालाजु सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई ९ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगञ्ज हुँदै राजदरबार ल्याइनेछ । महाराजगञ्ज र राजदरबारमा १३२/११ केभीका एक/एक सबस्टेसन निर्माण हुनेछन् ।
सबस्टेसनको क्षमता ६०/६० एमभिए रहने छ । यसैगरी, भक्तपुरको सिरुटारमा १३२/११ केभीको सबस्टेसन निर्माण निर्माण गरिने छ । सबस्टेसनको क्षमता ६० एमभिए रहनेछ । तीनवटै सबस्टेसनहरुबाट स्थानीय रुपमा विद्युत वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् ।
पोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२/११ केभी सबस्टेसनको निर्माण गरिने छ । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ । प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिनेछ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु