बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पश्चिम नवलपरासीमा विनोद चौधरीलाई सकस

बुधबार, ०५ असोज २०७९, १६ : २१
बुधबार, ०५ असोज २०७९

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसमा विवाद हुँदा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका अर्बपति उद्योगी विनोद चौधरीले प्रतिनिधिसभा सदस्यको लागि टिकट पाउन सकस देखिएको छ ।  चौधरीले पूर्व नवलपरासीको क्षेत्र नं. १ र २ बाट चुनाव लड्ने चाहना राखेको भएपनि त्यहाँ सम्भव नभएपछि पार्टीले पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस गरेको थियो । उनको उम्मेदवारी सिफारिस पाँचौं नम्बरमा भएको छ । 

कांग्रेसबाट चौधरीसँगै यस क्षेत्रबाट विक्रम खनाल, देवकरण जयसवाल, कुलदीप आचार्य र उषा बाँस्तोलाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसमा असन्तुष्टि बढेपछि उनले टिकट पाउनेमा शंका उत्पनन भएको छ ।  पार्टीको केन्द्रीय सदस्य समेत रहेका चौधरी यसपल्ट प्रत्यक्ष चुनाव लड्ने तयारी गर्दै क्षेत्र खोज्ने शिलशिलामा नवलपरासी–१ लाई रोजेका थिए । तर उनको नाम आएपछि असन्तुष्ट कार्यकर्ताले पार्टीले सञ्चालन गरेको ‘जनतासँग कांग्रेस अभियान’ कार्यक्रममा समेत अवरोध गरेका थिए । पुराना नेताहरुलाई पाखा लगाउने गरी चौधरीको नाम अघि आएको भन्दै स्थानीय कांग्रेस कार्यकर्ताले असन्तुष्टि जनाएको त्रिवेणी सुस्ता गाउँपालिका कांग्रेस सभापति रविन्द्र जयसवालको भनाई छ । स्थानीयले आफ्नोपन खोजेको उनको बुझाई छ । 

कांग्रेसका केन्द्रीय नेताहरुको दवावमा चौधरीको नाम यहाँबाट सिफारिस गरिएको तर क्षेत्रीय समितिले नचाहेको एक नेताले बताए । कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले जनतासँग कांग्रेस कार्यक्रम लिएर क्षेत्रबाट वडामा जाने क्रममा कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै कार्यक्रममै सहभागी नभएको जानकारी दिए । 

विं.सं ०६४ सालमा एमालेबाट समानुपातिक सभासद भएका उनी ०७० सालमा साविक नवलपरासी २ बाट प्रत्यक्ष चुनाव लड्ने कोशिशमा थिए । तर एमालेले टिकट नदिएपछि उनी ०७४ सालमा कांग्रेस प्रवेश गरेर समानुपातिक सांसद बनेका थिए । यसपटक उनी प्रत्यक्ष चुनाव लड्न चाहेका छन् । 

पूर्वी नवलपरासी क्षेत्र नं. १ नेता शशांक कोइरालाको क्षेत्र भएको र २ मा नेता विष्णु कार्कीले नछोड्ने देखेपछि चौधरी पश्चिम नवलपरासीको १ बाट चुनाव लड्ने तयारी गरेका हुन् । उनको औधोगिक प्रतिष्ठान पनि पूर्वी नवलपरासीमै पर्दछ । 
पश्चिम नवलपरासी १ मा नेता देवेन्द्रराज कँडेल र बिक्रम खनाल बीचको लडाईले चौधरीलाई समस्या परेको नेताहरुले बताएका छन् । कंडेल र खनालको झगडाले उम्मेदवार सिफारिसमा समेत विलम्ब भएको थियो । पटकपटक कांग्रेसको बैठक स्थगित भएको थियो । गुटगत लडाकले यो क्षेत्रबाट चौधरीले टिकट पाउनै कठिन भएको र पाएपनि निर्वाचन जित्न सकस हुने कतिपयको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप