सर्वनाममा ‘समय : दुई युगको संवाद’ मञ्चन सुरु
कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘समय : दुई युगको संवाद’ मञ्चन सुरु भएको छ । सर्वनामकै १८ औं ब्याचका प्रशिक्षार्थी समूहको प्रस्तुति र निर्देशनमा तयार पारिएको नाटकको लेखन १८ औं ब्याचका प्रशिक्षार्थी सुजता पन्तले गरेकी हुन् ।
नाटकमा पुरानो युग र नयाँ युगबीचको संवादलाई देखाउन खोजिएको छ । नाटकको सुरुवातमा घडीको सुईको छकछक छकछक आवाज बजिरहन्छ र पृष्ठभूमिमा महिलाको आवाज आउँछ, ‘म समय हुँ, म तिम्रो भुत हुँ, म तिम्रो वर्तमान पनि हुँ र तिम्रो भविष्य पनि हुँ ।’ लामो हाँसो पश्चात् विश्वभर फैलिएको कोरोना महामारीको समयलाई प्रतीकात्मक रुपमा समेत नाटक मार्फत देखाउन खोजिएको छ ।
नाटकमा सन् २०२० र १९४० विचको संवाद देखाउन खोजिएको छ । यो संवादमा गान्धी, हिटलर, चार्ली र आइन्स्टाइन उपस्थित हुन्छन् र आ–आफ्नो तर्क प्रस्तुत गर्छन् । नयाँ युगमा भने एक टेलिभिजन कार्यक्रममा वैज्ञानिक, नेता, साधु र ज्योतिष बीचमा बहस चलिरहन्छ । यो युगको सबैभन्दा बलवान् समय हो । समयअनुसार र सोही समयमा घटेका घटना मार्फत नै हामीले सही र गलत ठम्याउँछौँ ।
यो नाटकले त्यही मियोलाई समाएर वर्तमानको महत्वलाई दर्साउने प्रयत्न गरेको छ । इतिहासका महान् पात्र र तिनले गरेका कामहरुबाट वर्तमानलाई चिहाउने प्रयत्न यो नाटकले गरेको छ । प्राय हामी भूत र भविष्यको चिन्तामा वर्तमानमा बाँच्न बिर्सिन्छौँ, वर्तमान राम्रो भयो भने भुत र भविष्य आफै उत्कृष्ट हुनसक्छ भन्ने नाटकको मूलसार हो ।
सर्वनामले रंगमञ्च र यसप्रति रुचि भएकाहरुलाई प्रशिक्षण दिदै आएको छ । सर्वनामका संस्थापक तथा निर्देशक अशेष मल्लले नेपाली रंगमञ्चमा कुनैपनि रंगकर्मी बन्न चाहेका कलाकारहरुलाई मञ्च अभावको कारण आफू बन्चित हुन नपरोस् भन्ने हेतुका कारण यो प्रशिक्षण निरन्तर चलाएको बताए । उनले नेपाली रंगमञ्चमा मौलिक कथा, लेखक र निर्देशक पनि जन्मिउन भन्ने आफ्नो चाहना रहेको बताउदै यो नाटक मार्फत नेपाली रंगमञ्चमा एउटा ईटा थपिएको जानकारी दिए ।
सर्वनामको तीन महिने बन्द प्रशिक्षण र करिब २ महिनाको तयारी पश्चात् निर्माण गरिएको नाटकमा अभिनय अमन श्रेष्ठ, अञ्जना गर्तौला, उत्सव पौडेल, गौरव केसी, तिलक भण्डारी, बसन्त बहादुर खड्का, भुवन सापकोटा, मिलन शाक्य, युवराज थापा मगर, राम दाहाल, सञ्जु तामाङ, सुजता पन्त र सुवास बस्यालको रहेको छ ।
नाटकमा संगीत परिचालन मनोज महर्जनले गरेका छन् भने संगीत संयोजन कृपेश घिमिरे र मोहन अभिलाषीको छ । बिहीवार बाहेक हरेक दिन साँझ ५ः१५ र शनिबार अतिरिक्त शो दिउँसो १ बजे प्रदर्शन हुने नाटक अगामी ८ गतेसम्म निरन्तर मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी